भर्खरै :

“जनआन्दोलनको क्रममा श्रमिक साप्ताहिक मजदुर दैनिकको भूमिका महत्वपूर्ण थियो”

सुनिल प्रजापति, प्रमुख भक्तपुर नपा
‘श्रमिक’ साप्ताहिकको २६ औँ र ‘मजदुर’ दैनिकको २१ औँ तथा ‘अनलाइन मजदुर’को तेस्रो वर्ष प्रवेशको अवसरमा देश र जनतामा समर्पित विचारप्रधान पत्रिकाका सम्पादकमण्डल र प्रकाशक मित्रहरूलाई बधाई एवं निरन्तर प्रकाशनको लागि हार्दिक शुभकामना ।
‘श्रमिक’ र ‘मजदुर’ पत्रिका नेपाल मजदुर किसान पार्टीको विचार र धारणा जनताबीच पु¥याउने सशक्त माध्यम हुन् । ‘श्रमिक’ ले कम्युनिष्टविरोधी संशोधनवाद र पुँजीवादी विचारको विरोधमा लेखहरू छापेर जनतालाई सचेत पार्दै आएको हो । साम्राज्यवाद, उपनिवेशवाद र नवउदारवादको विरोधमा चर्को आवाज उठाउने पत्रिकाहरू हुन् श्रमिक र मजदुर । तत्कालीन एमाले र माओवादीका नेताहरू ‘श्रमिक’ को नामदेखि नै तर्सिन्छन् । हरेक अङ्कमा उनीहरूले जनतालाई कम्युनिष्टका नाउँमा ढाँटेका कुराहरूको चिरफार गरिएकै हुन्छन् अर्थात् उनीहरू कम्युनिष्ट होइनन्, पुँजीवादी हुन् भन्ने सप्रमाण लेखिएका हुन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेमकिपाको दृष्टिकोण स्पष्ट पार्दै आएको ‘श्रमिक’ आस्थाको पत्रिका हो ।
कतिपय ‘कम्युनिष्ट’ नेताहरूले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिका निरन्तर प्रकाशित भइरहेकोमा आश्चर्य प्रकट गर्छन् । “श्रमिक’ अझै चलिरहेको छ ? खोइ हामीलाई त गा¥हो भएको छ । तपाईँहरूले कसरी निरन्तरता दिनुभयो ?” विशेषगरी राजमोका नेताहरू हामीसँग यस्तै भन्नुहुन्थ्यो । उहाँहरूले ‘हाँक’ साप्ताहिक सञ्चालन गर्दाको दुःख र पीडा सुनाउनुहुन्थ्यो । हामीलाई थाहा छ, पत्रिका सञ्चालन सजिलो काम होइन । त्यसमा पनि निरन्तर पुँजीवादी सरकारको विरोधमा लेखिरहनु र समाजवादी विचारको प्रचार प्रसार गरिरहनु झन् गा¥हो काम हो । पत्रिका निरन्तर प्रकाशित भइरहेको छ । त्यही खुसीको कुरा हो ।
प्रतिगमनविरोधी आन्दोलनमा ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाले सरकारविरोधी क्रान्तिकारी पर्चाको काम ग¥यो । हरेक दिन ‘मजदुर’मा प्रकाशित समाचारहरूले नेमकिपाको मात्रै होइन आन्दोलनरत अन्य पार्टीका नेता कार्यकर्ताहरूलाई समेत आन्दोलनलाई अगाडि बढाउन उत्प्रेरित गरिरहन्थे । हाम्रा कार्यकर्ताहरू देख्नेबित्तिकै ‘श्रमिक’ र ‘मजदुर’ बारे सोध्ने गर्थे । आन्दोलनको नेतृत्व तहमा समेत ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाले छुट्टै छाप छोडेका थिए । आन्दोलनमा भएका गल्ती, कमजोरी औँल्याउनु, आन्दोलनलाई अगाडि बढाउन मार्गनिर्देशन गरिररहने हुँदा संयुक्त आन्दोलनको क्रममा हुने सर्वदलीय बैठकहरूमा ‘श्रमिक’ पत्रिकाको चर्चा चल्थ्यो । कतिपय समयमा बैठक सुरु हुनुअघि ‘श्रमिक’ को सम्पादकीय र आन्दोलनसम्बन्धी छापिएका लेखहरूसमेत पढ्ने गरिन्थ्यो ।
प्रतिगमनविरोधी आन्दोलनको क्रममा संसद पुनःस्थापनाको माग सबभन्दा पहिले नेमकिपाले ग¥यो । त्यसको पक्ष र विपक्षमा बहस छलफल प्रारम्भ भयो । ‘श्रमिक’ मा छापिएका का. रोहितका विचारहरूबाट त्यो बहसको प्रारम्भ भएको हो । पछि नेका केन्द्रीय समितिले नै संसद पुनःस्थापनाको माग गर्दै संयुक्त आन्दोलन गर्ने निर्णय ग¥यो । नेमकिपाले उठाएको संसद् पुनःस्थापनाको माग आन्दोलनकारी दलहरूको साझा माग बन्यो । त्यसबेला वर्तमान प्रधानमन्त्री केपी ओलीले संसद् पुनःस्थापना गर्नु भनेको मरेको मान्छे व्युँताउनु जस्तै हो भनेका थिए अर्थात असम्भव बताएका थिए । जनआन्दोलनको बलले संसद् पुनःस्थापना भयो । एमालेले संसद् पुनःस्थापना हुनु केही घण्टा अघिमात्रै त्यस मागलाई समर्थन गरेर निर्णय गरेको थियो । नेमकिपाले विभिन्न अन्तर्राष्ट्रिय घटनाहरूको उदाहरण दिँदै औचित्यता पुष्टि ग¥यो र आन्दोलनलाई सफलतासम्म पु¥यायो । आन्दोलनलाई संसद पुनःस्थापनासम्म पु¥याउन ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले महत्वपूर्ण भूमिका खेल्यो । नेपालको पत्रकारिताको इतिहासले त्यसलाई बिर्सने छैन ।
२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण शक्ति हातमा लिए । सञ्चारमाध्यमहरू प्रतिबन्धित भए । ‘श्रमिक’ र ‘मजदुर’ कार्यालयमा तालाबन्दी भयो । तर हाम्रो विचार भने रोकिएन । ‘जनसमाचार’ दैनिक प्रकाशित हुनथाल्यो । त्यसले ‘मजदुर’ दैनिकको काम ग¥यो । साथीहरूले प्रतिगामीहरूको आँखा छल्दै बडो सचेत भएर पत्रिका प्रकाशित गर्नुभयो र नेमकिपाको विचारलाई निरन्तर जनताबीच पु¥याइरहनु भयो । त्यतिबेला प्रतिक्रियावादीहरू निकै तिर्मिराएका थिए । सञ्चारको शक्ति आन्दोलनको बेला वा विचार प्रतिबन्धित समयमा थाहा हुनेरहेछ । एउटै पत्रिका धेरै जनताले पढ्ने, पत्रिकामा छापिएकै सूचनाको आधारमा आन्दोलनमा सहभागी हुने र प्रतिक्रियावादीहरूको दमनको विरोधमा अगाडि बढ्ने भइरहन्थ्यो ।
सन् १९१७ को बोल्शेभिक क्रान्तिपछि का. स्तालिनले भन्नुभएको थियो –‘‘सन् १९१२ को प्राब्दा (सत्य) बोल्सेविकवादको विजयको आधारशिला थियो ।’’ हो, प्राब्दा ५ मई १९१२ मा पहिलो पटक प्रकाशित भयो । त्यसमा जोशिला क्रान्तिकारी भाषणहरू छापिन्थे । तत्कालीन सरकारको सेन्सरपछि मात्रै छाप्नुपथ्र्यो । प्राब्दा कैयौँपटक छाप्न प्रतिबन्ध भयो । सरकारले प्रतिबन्ध ल्याउनेबित्तिकै अर्को नाउँबाट पत्रिका प्रकाशित गरिहाल्थे, बोल्शेविकहरूले । ‘सत्यको लागि’ (जा प्राब्दा), ‘सत्यको बाटो’ (पुन प्राब्दु) जस्ता विभिन्न नाउँका पत्रिका प्रकाशित गरेर मजदुरहरूबीच बोल्सेविकहरूको विचार पु¥याइरहन्थे ।
जसरी हामी ‘श्रमिक’ र ‘मजदुर’ लाई आफ्नो पत्रिका ठान्थ्यौँ त्यसरी नै सोभियत सङ्घका मजदुरहरू प्राब्दालाई आफ्नै पत्रिका ठान्थे । प्राब्दाप्रति उनीहरूको धेरै विश्वास थियो । त्यसमा दिएको एउटै सूचनाको भरमा पनि लाखौँ मजदुरहरू सडकमा आउने वातावरण बन्थ्यो ।
‘मजदुर’ र ‘श्रमिक’ लाई कामदार वर्गका जनताको अझ बढी विश्वासिलो र भरपर्दो बनाउँदै लानुपर्ने आवश्यकता छ । प्रकाशनको बेला विभिन्न खालका समस्याहरू आइरहन्छन् । मजदुर–किसान साथीहरूले ऋतुकालीन चन्दा मासिक सहयोग दिएर ती पत्रिकाहरूलाई जोगाइराखेका छन् । हामी सबैले विभिन्न रुपबाट सहयोग गरेर यसको निरन्तरतामा जोड देऔँ । नेमकिपा केन्द्रीय समितिले ‘एक सदस्य एक श्रमिक’ नीति लागू गरेको थियो । अहिले पनि त्यसरी नै सदस्यता अभियान चलाउनुपर्ने आवश्यकता देखिएको छ । आशा छ, साथीहरूले यसबारे पनि ध्यान दिनुहुनेछ ।
नयाँ पुस्ताका साथीहरूमा ‘श्रमिक’ र ‘मजदुर’ अध्ययनमा कमी आएको हो कि भन्ने चिन्ता पनि छ । विभिन्न बजारिया पत्रिकाहरूको प्रभावमा परेर हामै्र साथीहरूका छोराछोरीहरूले समेत नपढेको कुराहरू आइरहेका छन् । यसबारे गम्भीरतापूर्वक सोचौँ । नयाँ पुस्ता कतातिर जाँदैछ, ध्यान देऔँ ।
वितरण प्रणालीमा सुधारको आवश्यकता छ । हामी पुग्न नसकेका ठाउँहरू पर्वत, बाजुरालगायतमा ‘श्रमिक’ साप्ताहिकले नेमकिपाको कार्यकर्ताको काम गरिरहेको छ । ती जिल्लाहरूमा केही वर्ष पहिलेदेखि ‘श्रमिक’ नियमित गइरहेको छ । त्यहाँका साथीहरूले बरोबर फोन गरेर ‘श्रमिक’ बारे भन्नुहुन्छ ।
त्यसमा छापिएका लेखहरूको बारेमा टीकाटिप्पणी गर्नुहुन्छ । यस अर्थमा ‘श्रमिक’ स्वयम् नेमकिपाको राजनैतिक कार्यकर्ताको रुपमा कार्यरत छ ।
श्रमिक र मजदुर नेमकिपाको झण्डा हो । त्यस झण्डालाई अझ उँचो बनाउनु हामी सबैको कर्तव्य हो । ‘श्रमिक’ र ‘मजदुर’ लाई अझ व्यापक प्रचार प्रसार गरौँ ! नियमित प्रकाशनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौँ । यही भावनाका साथ पुनः
पत्रिकाका सम्पादक र प्रकाशक मण्डललाई हार्दिक बधाई र शुभकामना दिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *