भर्खरै :

पत्रपत्रिका क्रान्तिका झण्डा हुन्

सुरेन्द्रराज गोसाई, प्रदेशसभा सदस्य
हाम्रा प्रकाशन देखेर जनविरोधीहरू बारम्बार झस्किन्छन् । कारण, हाम्रो प्रकाशनले आमूल परिवर्तनको पक्ष लिन्छ, सच्चाइको वकालत गर्छ, गलत विचार तथा कार्यको विरोध गर्छ र अवसरवादीहरूलाई उदाङ्ग्याउँछ । मूलधारका भनिएका पत्रपत्रिकाले विभिन्न शक्तिराष्ट्रको निर्देशनमा तिनीहरूकै हितमा काम गरिरहेको र विदेशी दूतावासको स्वार्थअनुकूल चलिरहेकैले जनताको आफ्नै पत्रिका आवश्यक भएको हो । पुँजीपति र दलाल पुँजीपति वर्गले जनताको आवाज प्रतिध्वनित गर्न सक्दैनन् र गर्नदिँदैनन् पनि । तसर्थ मजदुर र किसानहरूको आफ्नै पत्रिका नभई हुँदैन । हामीले पत्रपत्रिका चलाउँदा जनताका शत्रुहरूलाई असह्य हुनु अनौठो होइन र तिनीहरू हामीप्रति आक्रामक हुनु पनि अस्वाभाविक होइन । यो वर्गसङ्घर्षको सिलसिला पनि हो ।
राजनीतिक क्षेत्रमा जसरी हामी सत्ताइतर अर्थात् प्रतिपक्षीय राजनीति गरिराखेको छौँ, त्यसरी नै सञ्चार जगत र पत्रकारिता क्षेत्रमा पनि प्रखर प्रतिपक्षको कर्तव्य पूरा गरिरहेका छौँ । यो कठिन तर गौरवशाली बाटो हो । यसैलाई जनताको पत्रकारिता भनिन्छ । हाम्रा पत्रपत्रिकाले जनताको पत्रकारिताको उत्कृष्ट नमुना प्रस्तुत गरिरहेको प्रस्ट छ ।
शक्तिको पूजा, सत्ताको तावेदारी, व्यापारिक घरानियाँहरूको भक्ति तथा लेनदेन, अन्तर्राष्ट्रिय शक्ति केन्द्रको पक्षधरता, भारतीय एकाधिकार पुँजी र बहुराष्ट्रिय कम्पनीहरूको दलालीलाई नै राजनीति र पत्रकारिता हो भन्ने मान्यता अगाडि सारिइँदै गरेको प्ररिप्रेक्ष्यमा हामीले आफ्नै ख्ट्टामा उभिएर देश र जनतालाई सही सन्देश तथा विचार प्रवाह गरी सेवा पु¥याउनुलाई आफ्नो धर्म ठान्यौँ । हामीले तल्लो वर्गको हितलाई पहिलो प्राथमिकतामा राख्यौँ । शासक वर्गसामु झुकेर होइन, बरू प्रतिवाद गर्दै र तिनीहरूका दमन, थिचोमिचो, ज्यादती र निरङ्कुशताविरूद्ध चर्को ढङ्गमा विरोध गरेर देशको पक्षमा हामीले बोलिरहेका छौँ । हाम्रो सङ्घर्ष पाँच दसकदेखि चालू छ ।
हामी निरन्तर बहुराष्ट्रिय कम्पनी, साम्राज्यवादीहरूका ज्यावलहरूविरूद्ध सम्झौताहीन सङ्घर्ष गर्दैछौँ । त्यसमा हामी विनामोलाहिजा लागिरहेका छौँ ।
नेपाली पत्रकारिता जगतमा हाम्रा प्रकाशनहरूले दसकौँदेखि भारतीय एकाधिकार पुँजी, संरा अमेरिकी साम्राज्यवाद, पश्चिमा साम्राज्यवाद र भारतीय विस्तारवादविरूद्ध बोल्दै आइरहेका छन् । दृष्टिकोणमा स्पष्टता र निर्भिकता हाम्रो परिचय बनिसकेको छ । आजसम्म आइपुग्दा हामी एक उपनिवेशवादविरोधी, साम्राज्यवादविरोधी, युद्धविरोधी, स्वतन्त्रता एवम् स्वाधीनताप्रेमीहरूको असल तथा भरपर्दो मित्र बनिसकेका छौँ । (हाम्रा पत्रपत्रिका, हाम्रा प्रकाशनमार्फत हामी विश्वका कामदार वर्ग र शान्तिकामी जनतासँग मित्रता) बढाउँदैछौँ र साम्राज्यवादविरोधी जनतासँग ऐक्यबद्धताको हात फैलाइरहेका छौँ ।
नेमकिपाले देश र जनताको पक्षमा निःस्वार्थरूपमा गर्दै आइरहेका सङ्घर्षबारे हाम्रा पत्रपत्रिकाले प्रचार र नेपाली जनतालाई सुसूचित गर्दै आइरहेका छन् । हाम्रो पार्टीले सदन र सडकमा गरेको सङ्घर्ष र जनभावनाको अभिव्यक्तिबारे हामी हाम्रा प्रकाशनमार्फत जनतालाई अवगत गराउँदै छौँ । प्रतिक्रियावादीहरूले हाम्रा आवाजमाथि बन्देज लगाउनु, धारिलो चक्कू चलाउनु, बङ्ग्याउनु कुनै अस्वाभाविकता होइन । पुँजीपति वर्गले प्रगतिशील विचार, कामदार वर्गीय भावना र आमूल परिवर्तनको आवाजलाई आफ्ना सञ्चारगृहमा प्रवेश नगराउनु, ‘ब्रोडशिट’मा बन्देज लगाउनु, काँचको पर्दामा प्रतिबन्ध लगाउनु आश्चर्य होइन । तिनीहरूले आफ्नो तागतले भ्याएसम्म हामीलाई र हाम्रो विचारलाई मौनतामा मार्ने जमर्को गर्नेछन् ।
तर महत्वपूर्ण कुरा, हामीले हाम्रा प्रकाशन बलियो बनाउन, प्रभावकारी बनाउन, फैलाउन हामी कति इमानदार छौँ, कति प्रतिबद्ध छौँ ? हामी कति सक्रिय छौँ ? यी प्रश्नको जवाफ शब्दमा होइन व्यवहारमा दिन आवश्यक छ ।
हाम्रा पत्रपत्रिका हाम्रा झण्डा हुन्, क्रान्तिका झण्डा हुन् । ती झण्डा उँचो पार्नु हरेक जनताका सेवक, सचेत नागरिक तथा पार्टीका कार्यकर्ताहरूको कर्तव्य हो । पत्रपत्रिका प्रकाशन, लेखन, वितरणलगायतका कार्यमा समर्पित भएर लाग्नु स्वयम् आमूल परिवर्तनको महत्वपूर्ण हिस्सा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *