न्यूयोर्क, ५ माघ (एएफपी) । चीन–संरा अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ ।
संरा अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एसियाली शेयर बजार बिहीबार निकै बलियो देखिएका आर्थिक सूचकाङ्कले देखाएका छन् । चीन र संरा अमेरिकाबीच केही दिन पहिले भएको व्यापार वार्ताले क्रमशः विवाद सहज बन्दै गएको सन्देशसँगै विश्व शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो ।
प्रमुख सूचकाङ्कमा एक प्रतिशत वा त्योभन्दा बढीका दरले लगातार चार दिनसम्म नाफा देखिएको वालस्ट्रिटले शुक्रबार बताएको छ । अमेरिकी स्टक बजार (डाउ) मा डिसेम्बर २४ पछि १३ प्रतिशतको वृद्धि देखिएको छ ।
अनलाइन बजारका विश्वहस्ती व्यापारीहरूको सङ्गठन (आइजी) का वरिष्ठ बजार विश्लेषक जोसुआ माहोनीले भने, ‘विश्व शेयर बजारमा यस साता आशा गरिएजस्तै व्यापक सुधारका सङ्केत देखिएका छन् । यो चीन–अमेरिकाबीचको व्यापार विवादमा महत्वपूर्ण ‘ब्रेकथु्र’ हुने सम्भावनाले आएको सुधार हो ।’
‘व्यापार सम्झौताका सम्बन्धमा देखिएको आशा नै बजार सुधारका लागि निर्धारक आधार हो,’ एलबीबीडब्लुका कार्ल हेलिङले बताए ।
हेलिङले भने, ‘त्यहाँ एक प्रकारको कालो धुवाँका सङ्केत देखिएका थिए । जहाँ धुवाँ हुन्छ त्यहाँ आगो पनि हुनु स्वभाविक हो । तर पछिल्ला दिनमा बजारमा सकारात्मक सन्देश फैलिएको छ र यसले शेयर बजारलाई थप ओरालो लाग्नबाट बचाएको छ । तत्काल केही सुधारका सङ्केत देखिएका छन् । यो सबैका लागि खुसीको कुरा हो ।’
‘ट्रम्पले अर्थतन्त्र कमजोर बन्दै गएको र अमेरिका बन्दको अवस्थालाई महशुस गरेजस्तो देखिएको छ । उनले यसमा आफ्नो जीतलाई पुष्टि गर्न केही गर्ने देखिएको छ ।’
तर केही विश्लेषकहरूले व्यापार विवाद साम्य भइहाल्नेमा संशय व्यक्त गरेका छन् । उनीहरूले अझै धेरै विषय सहमतिदेखि धेरै टाढा रहेको बताएका छन् ।
मुद्रा बजारसम्बन्धमा बेलायती मुद्रा कमजोर देखिएको छ । बेलायतले बिनासम्झौता यूरोपेली सङ्घबाट बाहिरिने हल्लाले बेलायती मुद्रा केही कमजोर देखिएको हो ।
बेलायती प्रधानमन्त्री टरिजा मेले गरेको बृहत् ब्रेक्जिट योजनालाई सांसदहरूले विफल पारेका छन् तर प्रधानमन्त्रीले सोमबारसम्म अन्तरपार्टी छलफलका लागि नै दोस्रो योजना ल्याउने बताइएको छ । यदि उक्त योजनाले काम नगरेमा मार्चमा हुने भनिएको बेलायतको बहिर्गमन पछि धकेलिने छ र यसले प्रधानमन्त्रीलाई अर्को सम्झौता गर्नका लागि समय दिनेछ वा अर्को जनमतसङ्ग्रहको बाटो तय गर्नेछ ।
चीन–अमेरिकाबीचको व्यापार वार्ताको सकारात्मक सन्देश र तेल निर्यात राष्ट्रहरूले गरेको तेलको उत्पादनमा कटौतीले कच्चा इन्धनको मूल्यमा वृद्धि देखिएको छ ।