भर्खरै :

पुँजीवादमा कामदार वर्गको हित मृगतृष्णामात्र

एसडी राजचल
माक्र्सवादी सिद्धान्तअनुसार सामन्तवादी व्यवस्थाको पतन वा हारपश्चात्को राज्य व्यवस्था पुँजीपति वर्गको हातमा जान्छ र पुँजीपति वर्गले सञ्चालन गर्ने शासन व्यवस्था नै पुँजीवादी शासन व्यवस्था हो । पुँजीपति वर्गले सञ्चालन गर्ने हुनाले यस राज्य व्यवस्थामा पुँजीपति वर्ग झन्झन् धनी हुन्छन् भने कामदार अर्थात् सर्वहारा वर्ग झन्झन् गरिब हुन्छन् । सिद्धान्ततः सामन्तवादविरुद्ध धनी र गरिब वा पुँजीपति र सर्वहारा वर्ग एकजुट भई सङ्घर्ष गर्छन् र सङ्घर्ष विजयमा परिणत भएपछि पुँजीपति वर्ग र सर्वहारा वर्गबीच वर्गभेद रहन गई पुँजीपति वर्गले सर्वहारा वर्गलाई शोषण गर्न थाल्छन् । यस हिसाबले सामन्तवादमा पुँजीपति र सर्वहारा वर्ग दुवै शासित हुन्छन्, सामन्त वर्ग शोषक हुन्छ भने पुँजीवादी क्रान्तिद्वारा स्थापित पुँजीवादी शासन व्यवस्थामा पुँजीपति वर्ग शोषक हुन्छन् र सर्वहारा वर्ग शासितमा रुपान्तरण हुन्छन् । यसरी शासित वर्ग अर्थात् सर्वहारा वर्ग सामन्तवाद र पुँजीवाद दुवै व्यवस्थामा शासित हुन्छन् । तिनीहरूको मुक्ति समाजवादी क्रान्तिले मात्र तय गर्दछ ।
साम्यवादी व्यवस्थामा समाज पुग्ने बेलासम्ममा शोषण बाँकी रहँदैन किनकि त्यो समाज वर्गविहीन समाज बन्छ र दबाउनुपर्ने कुनै वर्ग नहुने हुनाले राज्यको स्वरुप पनि नष्ट हुन्छ । त्यो वर्गविहीन समाजमा सबै मानिस आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक दृष्टिकोणले बराबर हुन्छन् । महिला र पुरुषबीच कुनै भेदभाव रहँदैन । माक्र्सवादले यस्तै भन्छ ।
समाज विकासको वैज्ञानिक अवधारणालाई आत्मसात गर्दा समाजवादी व्यवस्था पुँजीवाद र साम्यवादबीचको व्यवस्था हो भन्ने बुझ्न सकिन्छ । त्यसमा मानिसले मानिसमाथि गरिने शोषण विस्तारै कम हुँदै जान्छ । यसलाई सङ्क्रमणकालीन समाजको रुपमा बुझ्न सकिन्छ । पुँजीवादी व्यवस्थामा कामदार वर्गको हितमा ऐन, कानुनहरू नबन्ने र सर्वहारा वर्गको पक्षमा हुने आमूल परिवर्तन पुँजीपति वर्गले गर्नै नचाहने भएकोले कामदार वर्ग नै राजनीतिक र सैद्धान्तिक रुपले सचेत हुनु अनिवार्य हुन्छ । सचेत कामदार वर्गसँग पुँजीपतिविरुद्ध सशस्त्र क्रान्ति गरेर विजय हासिल गर्नैपर्ने बाध्यता रहन्छ । यसलाई समाजवादी क्रान्ति भनिन्छ । समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भएपछि कामदार वर्गको हितमा कानुन बनाइन्छ ।
पुँजीवादी व्यवस्थामा समाजवादी विशेषताअनुसार काम अगाडि नबढ्ने निश्चित भएको हुँदा समाजवादी विचार आत्मसात गर्नेहरू अविचलित रुपमा क्रान्तिको परिस्थिति तयार गर्ने कठिन बाटोमा अग्रसर भएका हुन्छन् । यसबाहेक अरु कुनै विकल्प पनि रहँदैन । क्रान्तिको लागि क्रान्तिकारी पार्टी आवश्यक हुन्छ भनेझैं वैज्ञानिक समाजवादी व्यवस्थाको लागि पनि क्रान्तिकारी पार्टी चाहिन्छ । समाजवादी पार्टी नामले होइन, व्यवहार र कार्यक्रमले पुष्टि गर्ने कुरा हो । कम्युनिष्ट पार्टीबिना वैज्ञानिक समाजवादको बाटोको गन्तव्य कहिल्यै निश्चित हुँदैन । पुँजीवादी क्रान्तिबाट समाजवादी क्रान्तिको बाटो तय गर्नका लागि हरेक कम्युनिष्ट पार्टीको नेतृत्वका लागि माक्र्सवादको गहन अध्ययन अनिवार्य विषय हो । जसरी कम्पासबिना एउटा जहाजले उचित गन्तव्य नलिने निश्चित छ अर्थात् कम्पासविनाको जहाज दिशाहीन हुन्छ, त्यसैगरी माक्र्सवादको गहन अध्ययन र माक्र्सवादी सिद्धान्तप्रति दृढ अडान भएको राजनीतिक दलको नेतृत्वमा मात्र समाजवादी क्रान्ति सम्भव हुन्छ ।
पुँजीवादी शासन व्यवस्था केवल थोरै वा सीमित पुँजीपति वर्गको हितमा र तिनीहरूकै प्रयासमा अगाडि बढ्ने हुँदा यस व्यवस्थामा जुनसुकै दलको सरकार बने पनि त्यसले कामदार वर्गको हित गर्नसक्दैन र गर्दैन । सरकारमा बसेर कुनै दलले केही सुधार गर्नसक्ला र गर्ला तर त्यो आमूल परिवर्तनको उद्देश्यले नभई सत्ता लम्ब्याउने हेतुले हुन्छ । आजसम्मका सरकारहरूले बहुमत जनताको पक्षमा कानुन बनाई लागू गर्न नसक्नुमा पुँजीवादी व्यवस्थाको कारण हो । शासन व्यवस्थामा जतिसुकै ‘मै हुँ’ भन्नेहरू पनि सैद्धान्तिक विचलनकै कारण वा संशोधनवादी नीतिकै कारण असफल हुन्छन् । तसर्थ हरेक कम्युनिष्ट दलको निम्ति माक्र्सवाद, लेनिनवाद र माओविचारधाराको अध्ययन र व्यवहारिक अनुसरणको खाँचो छ । बिनासैद्धान्तिक ज्ञानको यात्राले आन्दोलन दुर्घटनामा पर्ने यथार्थलाई बुझ्न नसक्नु दलको अक्षमता हो ।
पुँजीवादी समाज ‘मै खाऊँ, मै लाऊँ, सुखसयल वा मोज म गरुँ’ भन्ने भावना हाबी हुने गर्दछ । व्यक्तिवादी समाज पुँजीवादी समाज व्यवस्थाकै छायाँ हो । व्यक्तिवाद वा पुँजीवादले मानिस मानिसबीचको प्रेम, भ्रातृत्व, स्नेह आदिलाई कहिल्यै प्राथमिकतामा राख्दैन, बरु यसले व्यक्तिवादी संस्कृतिलाई बढावा दिन्छ । स्वार्थी, भ्रष्ट, कठोर र अमानवीय प्रवृत्ति व्यक्तिवादी संस्कृतिका उपज हुन् । तसर्थ पुँजीवाद बहुमत जनताको अहितमा छ । सामाजिक भावनाको विरुद्ध छ । सर्वहारा वर्गविरुद्ध शोषणमा आधारित छ । देशमा जहिलेसम्म पुँजीवादी व्यवस्था रहन्छ तबसम्म समाजवादी क्रान्तिको आवश्यकता रहिरहन्छ । सामूहिक भावना र हितको पक्षमा समाजमा परिवर्तन गर्नु नै कम्युनिष्ट पार्टीको उद्देश्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *