भर्खरै :

मुक्ति र परिवर्तन काममा कि कुरामा ?

–मेरिना शाक्य
देशमा धेरै सरकार बने पनि नेपाली जनताले चाहेको परिवर्तन हुनसकेको छैन । सरकारको नेतृत्व गर्ने बेला सरकारले आश्वासनको पोको बाँडथ्यो तर ती आश्वासनको पोको सपनामात्र हुन्थ्यो, अहिलेसम्म भइरहेको यही हो । ओली नेतृत्वको सरकारले पनि विकास युद्धसरि अघि बढ्ने बतायो । वर्तमान सरकारले मात्रै नेपाली जनताको मुक्ति गर्ने र आर्थिक परिवर्तन हुने बतायो । सत्तासीन दलका नेता र मन्त्रीहरूले खोकिरहने विकास र परिवर्तनको कुरा गरेर देखाउने कहिले ? सरकारले यो गर्ने र त्यो गर्ने भनी खोक्नुभन्दा गरेर देखाए पो जनताले विश्वास गर्ने ? कम्युनिष्ट भनिने एमाले र माओवादीले यसअघि पटक–पटक सरकारको नेतृत्व गरेकै हुन् । तर, प्रगति भयो के ? जनताले के राहत पाए ?
भ्रष्टाचार र अनियमिततामा मन्त्रीदेखि नेतासम्म फसिरहेको खबरले समाचारपत्रहरू भरिएका छन् । ठूलठूला अपराधीहरू कारबाहीमा नपरेको खबरहरू सञ्चारमाध्यममा आउन छोडेको छैन । नेपाली भूमि विदेशी शक्ति राष्ट्रहरूको परेड खेल्ने ठाउँ बनिरहेको छ । नेपाल सरकार विदेशी शक्ति राष्ट्रहरूको दबाबमा काम गर्न बाध्य छ । नेपाल सरकार साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतको कठपुतली बनिरहेको छ । भारतनिर्भर देशले नेपाली जनताको इच्छा कसरी पूरा गर्ला ? कसरी आर्थिक परिवर्तन गर्ला ? सरकारको ध्यान देशलाई आत्मनिर्भर बनाउनेतर्फ गएकै छैन । के देशको परिवर्तन सत्तासीन दलका नेता र मन्त्रीले खोकेरमात्र हुने हो ?
सत्तासीन दलका नेताहरूको ध्यान देशको राजस्वमा रजाइँ गर्ने, नेता र कार्यकर्ता पोस्नेतर्फ केन्द्रित देखिएको छ । अब सरकार विकासमा केन्द्रित भने तापनि सरकारले विकासको पूर्वाधार तयार गर्न सकेको छैन । देशको बजेट खर्च गर्नुमात्र विकास होइन । भएको बजेट खर्च त कुनै पनि सरकारले गर्छ । मुख्य सवाल सरकारले कुन वर्गको सेवा गरिरहेको छ भन्नु हो । बहुमत जनताको सेवा नगर्ने सरकार सच्चा कम्युनिष्ट हुँदैन । ओलीको वर्तमान सरकारले जनताको मुक्ति गर्ने र आर्थिक परिवर्तन गर्ने जनाएको छ । मुक्ति र परिवर्तनको कुरा सुन्दा सुन्दा कानै खाइसकेको छ । सरकार आफ्नो गल्ती छोप्न कहिले पार्टी एकतामा लाग्दा त कहिले नीति निर्माणमा लाग्दा विकासमा ध्यान नदिएको बताउँछ । पार्टी एकता र नीति निर्माणमा लागेर विकास कार्यमा कसरी अवरोध हुन्छ ? यो त आफ्नो गल्ती छोप्ने प्रपञ्चमात्र हो । सरकारले एउटा गल्ती छोप्न अर्को भूल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *