भर्खरै :

काउली सडकमा फालेर विरोध

काभ्रे, ७ माघ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसानले इँटाभट्टा उद्योगबाट निस्केको धुवाँ धुलोले आफूले उत्पादन गरेको तरकारीमा क्षति पुगेको भन्दै सोमबार धुलिखेलस्थित अरनिको र बीपी राजमार्गको दोबाटोमा काउली फालेर विरोध गरेका छन् ।
किसानले स्थानीय सरकार र प्रशासनले आफूहरूले इँटाभट्टाको विषयमा पहिलादेखि नै उठाउँदै आएको मागको सुनुवाइ नगरेको भन्दै काउली सडकमा फालेर विरोध गरेका हुन् । ‘‘हामीले उत्पादन गरेको तरकारी बजारमा बिक्री गर्न पाइरहेका छैनौँ ।’’ किसान केशवप्रसाद ढकालले भन्नुभयो ।
कृषि पेशालाई सुनिश्चित गर्न स्थानीय सरकार र प्रशासनको ध्यान जाओस् भनेर विरोधमा उत्रन बाध्य भएका कृष्णकहरूले बताएका छन् । उत्पादित काउली काठमाडौँस्थित कालिमाटी तरकारी बजारमा बिक्रीका लागि लगेकोमा कालो भएको भन्दै फिर्ता आएपछि आन्दोलित हुनुपरेको किसानको भनाइ छ । आइतबार सो स्थानमा कोइला र माटो ढुवानी गरेका गाडीलाई रोक लगाएपछि विवाद भएको हो ।
आफूहरूमाथि हातपात गरेको भन्दै भट्टा सञ्चालकविरूद्ध किसानले आज जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । किसानले सुवर्णेश्वर इँटा उद्योगका सञ्चालक रामगोपाल श्रेष्ठ, हरिकुमार श्रेष्ठ, श्रवण न्यौपाने, सुशील श्रेष्ठ, राजाराम श्रेष्ठ र रूपक दनुवारलाई कारबाहीको माग गर्दै किटानी जोहरी दिएका हुन् ।
पाँचखाल–७ का वडाध्यक्ष पुष्कर ढकालले इँटा व्यवसायीले स्थानीय किसानलाई कुटपिट गरेको भनेर शान्तिसुरक्षाका लागि माग गरेपछि आफूले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी पाँचखाल र इलाका प्रहरी कार्यालयलगायतका कार्यालयमा शान्ति सुरक्षाका लागि जानकारी गराएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितले दिएको जाहेरीका आधारमा दोषीलाई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *