भर्खरै :

प्रदेशहरू बेथितिका नयाँ जन्मदाता !

सुरेन्द्रराज गोसाई
हामी गर्वका साथ भन्छौँ, यो भक्तपुर नगरीको ऐतिहासिक, सांस्कृतिक, राजनीतिक तथा शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान छ र बेजोड योगदान छ ।
जति सम्पदा, सांस्कृतिक धरोहर, कला, संस्कृतिले यो तेजिलो छ, जनपक्षीय राजनीतिक आन्दोलनमा खेलिरहेको अग्रणी भूमिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा यसले प्रतिष्ठा कमाइरहेको सर्वविदित्तै छ । यो विषयले हाम्रो आत्मगौरव चुलिएको छ ।
यो सन्दरतामा अझ सौन्दर्य कसरी घोल्ने ? यसलाई थप चमकदार कसरी बनाउने र हरेक कोणबाट यो हिसी परेको जीवन्त नगरी बनाएर सहरी सभ्यता एवं मानव सभ्यतामा एउटा नमुनाको रुपमा के–कसरी बचाइराख्ने ? हाम्रो सोच, चिन्तन र उद्देश्य यही हुन आवश्यक छ । हरेक सचेत नगरवासीको यही नै कर्तव्य हो ।
एउटा सुन्दर नगरी निर्माण गर्न भौतिक, प्राकृतिक, सांस्कृतिक एवं मानवीय पक्ष सुन्दर हुन आवश्यक हुन्छ । यी पक्षमध्ये कुन पक्षमा हाम्रा के–कति कमजोरी छन्, त्यतातर्फ हाम्रो विशेष ध्यान जान आवश्यक छ । भएका सबल पक्षको संरक्षण तथा प्रवलीकरण गर्दै जान सके र खोट–खराबी क्रमशः निमिट्यान्न पार्दै गए सहरको सुगन्ध मर्नेछैन । सम्पूर्ण नगरवासीमा सौन्दर्य चेतको विकास अबको हाम्रो प्रयास हुनुपर्छ । सौन्दर्यप्रतिको उदासिनताले कुरुपतालाई आमन्त्रण गर्दछ । जसले निराशा फैलाउँछ अनि समग्र जीवन र जगत धमिलो बन्छ ।
तर, सबैले याद गरौँ, कस्मेटिक उपचारबाट वास्तविक सौन्दर्य प्राप्ति सम्भव हुँदैन । नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उच्च संवेदनशीलता, भित्री मनदेखिको दृढ इच्छा शक्ति र लयबद्ध कार्यशैलीबाट मात्र एउटा सहर बेजोड तथा दिगो सौन्दर्ययुक्त बन्न पाउँछ । निर्विवाद छ, सौन्दर्य–चेत नेतृत्वकारी वर्गमा पहिला विकास हुन आवश्यक छ ।
हाम्रा पिता–पुर्खाले हामीलाई र विश्वलाई नै आफ्नो पौरखका प्रमाण, फराकिलो मनका यथेष्ट उदाहरण, ज्ञान तथा सीपको दर्पण छोडेर गए । कुनै सौभाग्य भन्ने चिज छ भने सायद यही नै हो । हामी त्यो सौभाग्य लिएर जन्मियौँ र हुर्कंदै छौँ । अब प्रश्न उठ्छ, यी सम्पूर्णको निरन्तरताप्रति हामी कति होशियारी अपनाउन सक्छौँ र कति बुद्धिमानी देखाउन सक्छौँ ?
समय आधुनिकतातर्फ अग्रसर छ तर आधुनिकता र विकासको अर्थ इतिहासको बङ्ग्याइ हुनु हुँदैन, सौन्दर्यको हत्या हुनु हुँदैन र पुरानो युगको अन्त्य हुनु हुँदैन । ऐतिहासिकताको जगमा सौन्दर्यले भरिपूर्ण आधुनिकताको निर्माण हाम्रो प्रयास हुन आवश्यक छ ।
हो, आधुनिक सुन्दर सहरले शिशुहरूको उचित स्याहार–सुसार खोज्छ, आमाहरूप्रति उच्च सम्मान खोज्छ । ज्येष्ठ नागरिकको निम्ति फलदायी तथा आनन्ददायी जीवन माग्छ । शिशुशालामा लोभलाग्दो ढङ्गमा उज्याला–चम्किला आँखा र मुस्कानसहितको अनुहारका शिशुहरू हुर्किरहेका, बालोद्यानमा सुरम्य वातावरणमा, आवश्यक पोषणसहित सुरक्षित ढङ्गमा हुर्किरहेको चित्रले सहरलाई सुन्दर बनाउँछ । नाचिरहेका, गीत–सङ्गीतमा झुमिरहेका र खेलमा मग्न केटाकेटीले सहरलाई सुन्दर बाटिकाको रुप प्रदान गर्छ । रङ्गीविरङ्गी पुस्तक, आधुनिक उपकरणमा अभ्यस्त हुन थालेका बालबालिकाले सहरलाई उज्यालो बनाउँछ र चारैतिर आशा, उत्साह सञ्चार गर्छ । श्रमशक्तिमा परिणत आमाहरू र समाज निर्माणमा जुटिरहेका महिलाहरूका परिश्रमी हातहरूले समाजको भविष्य चम्किलो हुँदै गइरहेको सङ्केत गर्छ । परिपक्वता र उत्तराद्र्धतर्पm उन्मुख जीवनले आप्mनो अनुभवद्वारा समाजलाई मार्गनिर्देश गर्दै गरेको र समाजले ती ज्येष्ठ सदस्यहरूलाई सुविस्ता र आदर एवं सम्मान दिइरहेको दृश्यले नगरलाई सभ्य र सु–संस्कृतको उपमा मिल्छ । त्यस्ता दृश्यबाट सहर सौन्दर्यले जगमगाउँछ ।
पुस्तकालय, प्रयोगशाला तथा खेलमैदान भएका पाठशाला जहाँ स्वास्थ्य सेवा, विद्यालय खाजा, नाचगान, खेल प्रशिक्षणजस्ता गतिविधि हुन्छन्, त्यस्ता पाठशाला एउटा सुन्दर नगरीका अनिवार्य आवश्यकता हुन् । विद्यालय जहाँ शिक्षकहरू पढाउँछन् र पढ्छन्, विद्यालय जहाँ विद्यार्थीहरू पढ्छन्, सिक्छन् र प्राप्त ज्ञान, सीप तथा क्षमता व्यवहारमा लागू गर्छन्, ती विद्यालय सुसंस्कृत, सभ्य, शान्त नगरीका आधारशीला हुन् । विषयवस्तुबारे जानकार, सिर्जनशील, प्रविधि तथा विज्ञानको क्षेत्रमा सुपरिचित, जिज्ञासु नयाँ पिँढी हुर्र्काई तिनलाई कर्तव्यपरायण र सामाजिक चेतले युक्त बनाउने ज्ञानका यी निकेतनले नगरलाई उज्ज्वल भविष्य दिनेछ ।
यसरी आफैमा सुन्दर नगरी ख्वप नगरपालिकालाई अझ सुन्दर बनाउन केही तत्काल सम्भव शैक्षिक आयाम थप्न या अझ व्यवस्थित ढङ्गमा शैक्षिक कदम अगाडि बढाउन सके युग सुहाउँदो नयाँ पुस्ता तयार हुँदै जानेछ । साथै, नाचगान, बाजागाजा, कला–संस्कृतिले जीवन्त नगरीलाई साहित्यिक थलो, विचार–मन्थनको केन्द्र र चिन्तन तथा राजनीतिक बहसको महत्वपूर्ण स्थानमा बदल्दै लान सके र नगरवासीलाई त्यतातर्फ उत्साहित बनाउन सके हाम्रो नगरीले थप सौन्दर्यको मुकुट पहिरिन पाउनेछ भन्दा अतियुक्ति नहोला ।
यसरी आज सौन्दर्य, सुन्दर नगरी तथा नमुना नगरी निर्माण सुसंस्कृत नगरको तयारी र सिर्जनशीलताका निम्ति हाम्रा पाइला अग्रसर भइरहँदा स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने प्रदेशले भने उत्साह थप्न सकिराखेको छैन । यो आजको विडम्बना हो ।
हाम्रा प्रदेशहरू बेथितिका नयाँ जन्मदाता बन्दैछन् । प्रदेश मन्त्रीहरू दम्भी देखिए । प्रदेश मन्त्रीहरू उद्दण्ड बनिरहेको व्यापक चर्चा छ । सचेत जनता ती गतिविधिबाट चिन्तितमात्र होइनन्, आक्रोशित छन् । प्रदेश नं ३ बाट सुरु भएको मन्त्री–मन्त्रीबीचको कुटाकुट अन्य प्रदेशतिर सर्दैछ । प्रदेश नं २ मा मन्त्रीद्वारा कर्मचारी कुटिएको समाचार सबैको चासोको विषय बन्यो । प्रश्न उठ्दैछ, हामी कस्ता अभद्र, अशिष्टहरूद्वारा शासित भइरहेका छौँ ? कसरी त्यस्ता ‘जङ्गली’ हरू निर्वाचित हुन सके ? यो व्यवस्थाको दोष हो या शासक दलहरूको ? यसको निम्ति जनता स्वय्म कति जिम्मेवार छन् ? हाम्रो सङ्घीयता कतातिर जाँदैछ, कतातिर लगिइँदैछ ?
प्रदेशहरू भ्रष्टाचार, अनियमितता र लुटको नयाँ अखडा बनिरहेका छन् । एक वर्षको अनुभवले यही भन्छ । प्रदेश मन्त्रीहरूको अन्यायपूर्ण व्यवहार तथा अनुचित दबाब खेप्न नसकेर र तिनीहरूको स्वार्थमा आधारित निर्देशन पालना गर्न नसकेर कर्मचारीहरू सरुवा मागिरहेका र कर्मचारीहरूको असहयोगको कारण काम हुन नसकेको विरोधाभासपूर्ण भनाइ बाहिर आइरहेका छन् । सङ्घीयता कसले किन विफल बनाउँदै छ ? शासक दलहरू किन मौन छन् ? भित्र र बाहिरका शक्तिकेन्द्रहरूसामु ती किन यति धेरै निरीह छन् आज ?
प्रदेश र प्रदेश सरकारहरूले सकारात्मक भूमिका निर्वाह गर्न नसकिरहेको बेला र गतिहीनतामा अल्झिराख्दा सबल स्थानीय तहले जनतालाई उत्साहित बनाउनुपर्ने र उदाहरण प्रस्तुत गर्नुपर्ने आजको आवश्यकता हो ।
यस अर्थमा भक्तपुर नगरपालिकालाई शुभकामना तथा बधाई दिन चाहन्छु । नमुना कार्य गर्दै अगाडि बढ्न सफलता मिलोस्, शुभकामना । अल्मलिरहेकालाई बाटो देखाउँदै, अप्ठ्यारोमा परेकालाई उपाय दिँदै र धेरै–धेरैलाई प्रेरणा दिँदै अगाडि बढ्न सकोस्, हार्दिक शुभकामना भक्तपुर नगरपालिकालाई ।
(प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाको चौथो नगरसभाको उद्घाटन समारोह (पुस ३० गते) मा व्यक्त विचारको सारसङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *