भर्खरै :

नेपालको सन्दर्भमा विवाहको बदलिंदो स्वरुप र प्रेम विवाह

सुरेश बखुन्छे
मानव सभ्यताको विकासक्रममा परापूर्व कालदेखि नै मानिस सामूहिक रुपमा बस्दै आएको र सँगै मिलेर बस्ने, खाने तथा सिकार गर्नेजस्ता कार्य गर्नुका अतिरिक्त सँगसँगै जीविकोपार्जन गर्दै आएका छन् । यसैकारण पनि मानव समाजको विकासक्रममा विवाहले पनि आफ्नै महत्व बोकेको छ । तर, मानव समाजको विकासको इतिहास पल्टाउने हो भने सुरुमा विवाहले सामाजिक मान्यता पाएको देखिंदैन ।
समाजका विभिन्न संस्थाहरूमध्ये विवाहलाई महत्वपूर्ण सामाजिक संस्थाको रुपमा लिइन्छ । विवाहका सम्बन्धमा विभिन्न लेखक तथा विद्वानहरूले आ–आफ्नो तरिकाले परिभाषा गरेका छन् । जसमध्ये हर्टन तथा हन्ट (सन् १९७६) ले विवाहलाई एउटा सामाजिक मान्यता प्राप्त संस्थाका रुपमा परिभाषित गर्दै विवाहबाटै परिवारको सिर्जना हुने कुरा व्यक्त गरेका छन् । त्यस्तै समाजशास्त्रको विश्वकोशमा व्यक्त गरेअनुसार विवाह भनेको लोग्ने र स्वास्नीबीचको यौन सम्बन्ध र बालबच्चा पाउन सामाजिक रुपले स्वीकृति प्राप्त संस्था हो । विवाहका विभिन्न स्वरुपमध्ये एकलगामी, बहुपत्नी, बहुपति आदि प्रकृतिका हुन्छन् । त्यस्ता विवाह सांस्कृतिक परिवेशमा निर्भर रहन्छ । त्यस्तै अर्को परिभाषाअनुसार विवाहलाई समाजले स्वीकृत गरेको आर्थिक तथा यौनजन्य संस्था मानिएको छ, जुन संस्थाभित्र रहेर लोग्ने र स्वास्नीले आफ्नो अधिकार क्षेत्रअन्तर्गत रहेर विभिन्न कार्य गर्नसक्दछन् ।
यी माथिका परिभाषाका आधारमा विवाह एउटा सामाजिक र सांस्कृतिक मान्यता प्राप्त संस्था हो भन्न सकिन्छ, जहाँ लोग्ने र स्वास्नीको आ–आफ्नै भूमिका रहन्छ । विवाहका पनि आ–आफ्नै मूल्य र मान्यता छन् । देश, काल र परिवेशअनुसार यसको परिभाषा र अभ्यासमा भिन्नता आएको भए तापनि विवाहले नयाँ नाता सम्बन्ध स्थापित गर्ने, वंशवृद्धि गर्ने, अन्तरसम्बन्ध र अन्तरक्रियाको काम गर्ने, परिवारमा भूमिका र उत्तरदायित्व निर्वाह गर्नेजस्ता कार्य गर्ने गरेको पाइन्छ ।
विवाहको इतिहास
विवाहको उत्पत्ति कहिलेदेखि भयो भनेर किटान गर्न नसकिए तापनि यसको उद्विकासको बारेमा विभिन्न समाजशास्त्री तथा मानवशास्त्रीहरूले आ–आफ्नो धारणा अगाडि सारेका छन् । जसमध्ये मानवशास्त्री लुइस हेनरी मोर्गानको धारणालाई बढी आधिकारिक रुपमा लिने गरिन्छ । उनका अनुसार सुरुमा विवाहले कुनै स्थायित्व प्राप्त नगरेको र महिलासँग विनारोकतोक यौन सम्बन्ध राख्नुका अतिरिक्त अनियन्त्रित यौन सम्बन्धसमेत हुनेगर्दथ्यो । सुरुमा विवाहरूपी कुनै संस्था थिएन । कुनै पनि महिला वा पुरुषले कुनै महिला वा पुरुषसँग स्वतन्त्र रुपमा यौन सम्बन्ध राख्नसक्थे । समयको विकासक्रसँगै सुरुमा मातृसत्तात्मक विवाह पद्धतिको ठाउँमा पितृसत्तात्मक विवाहले स्थान पायो । बढीजसो सन्तान वा वंश आमाबाट चिनिन्थे भन्दै मोर्गानले आफ्नो कृति एन्सिन्ट सोसाइटी (सन् १८७७) मा व्यक्त गरेका छन् । मोर्गानका अनुसार विवाहको विकास (१) रक्त सम्बन्धमा आधारित विवाह, (२) समूह विवाह, (३) अस्थायी प्रकृतिको विवाह, (४) पितृप्रधान विवाह र (५) एकलगामी विवाह गरी विकसित भएको पाइन्छ ।
यसरी विवाहको विकास हुँदै जाने क्रममा औद्योगिक क्रान्ति र त्योसँगै विकास भएको पुँजीवादी व्यवस्थाका कारण युरोपमा प्रेम विवाहको चलनले तिव्रता पाएको देखिन्छ । ए.जे. म्याकफरलन (सन् १९८६) का अनुसार फ्रान्समा भएको बुर्जुवाहरूको राज्य क्रान्ति, बेलायतको औद्यागिक क्रान्तिसँगै २४ घण्टामा आराम गर्ने र मनोरञ्जन गर्ने समय मिल्यो । यही समय आफ्ना मनका कुराहरू पोख्न पाए र परिणामस्वरुप प्रेम विवाहको विकास हुनपुग्यो । उनी केटा र केटीबीच मायाप्रेमयुक्त विवाह आधुनिक औद्योगिक समाजको विशेषता भएको बताउँछन् । दास समाजमा प्रेमको बारेमा सोच्ने समय त्यति नभएकोले यो समाजमा प्रेम विवाहको बारेमा खासै रुची नहुनु स्वाभाविकै देखिन्छ भने सामन्तवादमा आएर बाबुआमा वा आपूmभन्दा ठूलाले भनेको केटा वा केटीसँग विवाह गर्नुपर्ने मान्यता थियो । नेपालको सन्दर्भमा पनि यस्तै चलन रहेको देखिन्छ ।
नेपालमा विवाहको परिपाटी र परिवर्तित स्वरुप
नेपालका विभिन्न धर्म, सम्प्रदाय तथा जातजातिको विवाह संस्कार वा प्रचलन फरक–फरक रहेको पाइन्छ । जसमध्ये सङ्ख्याका आधारमा एकल विवाह, बहुपत्नी विवाह, बहुपति विवाह, समूह विवाह रहेका छन् भने सामाजिक नियम र प्रचलनका आधारमा सजातीय विवाह, विजातीय विवाह, नातागत विवाह आदि देखिन्छन् । त्यस्तै आधुनिक विवाहअन्तर्गत प्रेम विवाह, अदालती विवाह पनि प्रचलनमा छन् भने समलिङ्गी विवाहले मान्यता पाउन सकेको छैैन । यस्ता विभिन्न प्रचलन वा अभ्यास रहेको भए तापनि नेपालको कानुनले एकल विवाहलाई बढी मान्यता दिएको छ भने बढी प्रचलनमा मागी विवाह रहेको देखिन्छ ।
नेपालमा बढीजसो हिन्दू धर्मावलम्बी छन् । परम्परागत हिन्दू समाजमा बालविवाहलाई पनि समाजले स्वीकारेको अवस्था थियो तर यसमा परिवर्तन भएको छ । यसका अतिरिक्त कुनै समयमा जातका आधारमा पनि विवाह गर्ने चलन थियो । जात नमिल्नेसँग विवाह गरेको खण्डमा जातच्युत हुनुपर्ने, ल्याइते राखे पनि भात नचल्ने आदि प्रचलन थियो (मुलुकी ऐन १९१०) । तर, यसमा पनि परिवर्तन भएको देखिन्छ ।
यसका अतिरिक्त हिन्दू समाजबाहेक अन्य समुदाय र जनजातिहरूको विवाहको पनि आफ्नै परिपाटी छन् । तामाङ, मगरलगायतका समुदायको मामाचेला–फुपूmचेली विवाह होस् वा शेर्पा समुदायको बहुपति विवाह नै किन नहोस् वा नेवार समुदायको विवाह संस्कार नै किन नहोस्, पुरानो मूल्यमान्यतामा परिवर्तन आउन थालेको छ । यस्तै विवाहको परिवर्तित स्वरुपका बारेमा पाल्पाको मगर समुदाय रहेको जुनी गाउँमा प्रेमपत्र आदान–प्रदान गर्ने र पछि विवाह गर्ने चलन चल्न थालेको छ भनी लौरा एम. अहर्न (सन् २००१) ले आफ्नो शोधपत्रमा उल्लेख गरेका छन् । अर्का मनवशास्त्री मार्क लिच्टी (सन् २००२) ले काठमाडौंका मध्यम वर्गका युवायुवतीहरू प्रेमलाई फेसनको रुपमा लिने र ब्वाई फ्रेन्ड वा गर्ल फ्रेन्ड नभए बेइज्जत हुनेजस्ता प्रवृत्तिको विकास हुन थालेको कुरा लेखेका छन् ।
यसर्थ जसरी मानव समाज र संस्कृति परिवर्तनशील छ, त्यसरी नै सामाजिक संस्थाको रुपमा विवाह पनि आपैm परिवर्तनशील संस्था हो भन्न सकिन्छ । यस आलेखमा विशेषतः नेपाली समाजमा प्रचलनमा रहेका विभिन्न विवाहहरूमध्ये वर्तमानमा देखा परेको प्रेम विवाहलाई केन्द्रमा राखेर चर्चा गर्न खोजिएको छ ।
नेपालको सन्दर्भमा प्रेम विवाह
प्रेम विवाहको विकास पुँजीवाद र औद्योगिक क्रान्तिपश्चात् भएको माथि नै चर्चा भइसकेको छ । नेपालको सन्दर्भमा पनि पुँजीवादकै कारण प्रेम विवाहले तिव्रता पाउँदै गएको देखिन्छ (मिश्र २०६७) । यद्यपि सुरुमा केटाकेटीले एकअर्कालाई पहिले नै चुन्ने वा प्रेम गर्ने र पछि लमी राखेर केटी माग्न पठाउने चलनको विकास हुँदै आएको देखिन्छ । पुरानो संरचना ठ्याक्कै तोड्न नसकेको देखिए तापनि विस्तारै यसमा पनि परिवर्तन आई प्रेम विवाहतर्पm नेपाली समाज अगाडि बढ्दै गएको देखिन्छ ।
समाजशास्त्री चैतन्य मिश्र (२०६७) का अनुसार मागी विवाह भनेको सामन्तवादी समाजको उपज हो । यसप्रकारको विवाहमा नाताकुटुम्ब, धनसम्पत्ति, समान हैसियत आदिका आधारमा आमाबाबुले बुहारी वा ज्वाइँ खोजेर विवाह गरिदिन्छ । यसमा केटा वा केटीको भन्दा पनि आमाबाबुको निर्णय अन्तिम हुन्छ । सामन्तवादमा पुख्र्यौली सम्पत्तिको महत्व धेरै रहन्छ । सम्पत्तिबाट आपूmलाई अलग गर्ला कि भन्ने डरले पनि बाबुआमाको निर्णयलाई सन्तानले मान्नुपर्ने करजस्तै हुन्थ्यो । अझ युरोपमा यस्तो मागी विवाहको प्रचलन रहेको मिश्र व्यक्त गर्छन् ।
प्रेम विवाह पुँजीवादी संस्कृतिको विकाससँगै विकसित भएको स्वरुप हो । पुँजीवादका सांस्कृतिक पक्षहरूमा स्वतन्त्रता तथा व्यक्तिवादी चरित्रको विकास हुन्छ । कामको खोजीमा विभिन्न ठाउँका केटा र केटी वा अन्य मानिसहरू एकै ठाउँमा वा सहरमा आइपुग्छन् । त्यहीं केटा र केटीको चिनापर्ची हुन्छ । उनीहरू घर परिवारको चौघेराबाट अलग रहने, आफ्नो आवश्यकता पूर्ति गर्नुपर्ने, सहयोग आदानप्रदान गर्नुपर्ने जस्ता व्यवहारका कारण केटाकेटी एकअर्काप्रति आकर्षित हुन्छन् र विवाह गर्छन् । यसर्थ प्रेमविवाह पुँजीवादी सामाजिक तथा सांस्कृतिक संरचनाको देन हो ।
निष्कर्षः झट्ट हेर्दा विवाह नितान्त निजी कुराजस्तो देखिन्छ । यथार्थतः समाज र संस्कृतिसँग जोडिएको हुन्छ । जसरी सामाजिक मान्यता प्राप्त गर्न मान्छेले विभिन्न कार्य गर्दछन्, त्यसरी नै विवाहलाई वैधानिकता दिन भोज खुवाउने वा अन्य संस्कार गर्ने गरिन्छ । यहाँसम्म कि पहिले उपाध्याय केटाले उपाध्याय केटीसँग नै बिहे गरेको तर जन्ती नलगेको अवस्थामा तिनबाट जन्मेको सन्तानले पूजापाठ गर्दा दान दक्षिणा लिन नपाउने नियम रहेको थियो भने विजातीय विवाह गर्दा जात भर्ने आदि चलन रहेबाट पनि विवाह नितान्त व्यक्तिगत नभई सामाजिक हो भन्न सकिन्छ ।
सुरुमा कुनै स्थायी संस्था नभएको विवाह मानव समाज र सभ्यताको विकाससँगै स्थायी भएको देखिन्छ ।
उत्पादन सम्बन्धमा आएको परिवर्तनसँगै विवाहले पनि विभिन्न स्वरुप प्राप्त गरेको देखिन्छ । यहाँसम्म आइपुग्दा जुन प्रेम विवाहको चर्चा छ, त्यो पनि उत्पादन सम्बन्ध र उत्पादनका साधनमा आएको परिवर्तनसँगै विकास भएको हो भन्न सकिन्छ । पुँजीवादी अर्थ–संरचनाकै कारण प्रेम विवाहले पनि मान्यता पाउन थालेको स्पष्ट हुन्छ । यहाँसम्म कि पुँजीवादकै कारण ‘सेरोगेसी’ विवाहले समेत प्रश्रय पाउन थालेको देखिन्छ । हुन त पुँजीवादी समाजमा प्रेम वा विवाहलाई पनि पैसा वा विलासी वस्तुसँग सट्टाबाजी गर्ने चलन रहेको देखिन्छ । सायद यही भएर पनि कम्युनिष्ट घोषणापत्रमा स्पष्टसँग भनिएको छ, पुँजीपतिहरू आफ्नो नाफाका लागि आफ्ना स्वास्नी, छोराछोरीसमेत बेच्छन् । यस्तै प्रवृत्ति दक्षिण एसिया र नेपालमा मौलाउन थालेको देखिन्छ ।
उत्पादनको स्वरुपमा आउने परिवर्तनसँगै सामाजिक मूल्य र मान्यतामा पनि परिवर्तन हुने जुन माक्र्सवादी मान्यता छ, त्यसकै आधारमा हेर्ने हो भने पनि प्रेम विवाह आपैm पनि उत्पादनको स्वरुप र सम्बन्धमा आएको परिवर्तनकै कारण विकास भएको हो भन्न सकिन्छ ।
(लेखक समाजशास्त्रका शिक्षक हुुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *