भर्खरै :

संसद् पाखुराको प्रतिस्पर्धा गर्ने बक्सिङ रिङ होइन

मङ्गलबार प्रतिनिधिसभामा सभामुखले बैठक ‘सुरु नै गर्न नपाउँदै’ प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सांसदहरू रोस्ट्रम घेर्न दौडे । लगत्तै सभामुखले स्वास्थ्य – शिक्षासम्बन्धी विवादास्पद विधेयकमाथि छलफल अघि बढाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोस्ट्रममा बोलाए । सत्तापक्षीय दलका नेताहरूको घेरामा शिक्षामन्त्री रोस्ट्रमतिर अघि बढे । तर, उनलाई कुनै पनि हालतमा रोस्ट्रममा उक्लिन नदिन घेराबन्दी गरिरहेका काङ्ग्रेसका सांसदहरू मन्त्रीलाई ठेलमठेल गरिरहेका थिए । केही सांसदहरू सभामुखको जबरजस्तीप्रति आक्रोश पोखिरहेका थिए । मर्यादापालकहरूलाई दुई पक्षबीचको घम्साघम्सी रोक्न हम्मेहम्मे परेको थियो । संसद्भित्रको यस्तो दृश्य सञ्चारका विभिन्न माध्यममा देश विदेशका नेपालीले हेरिरहेका थिए । संसद्भित्रको यस्तो दृश्य संसारभरका नेपालीको निम्ति लज्जाको विषय बन्यो । यस्तो अशोभनीय दृश्य देख्नुपर्दा देशमा लोकतन्त्र र गणतन्त्र स्थापनाको लागि लडेका कैयौँ योद्धाको मन लाजले नुहेको हुनुपर्दछ ।
बेलायतलाई युरोपेली युनियनबाट अलग्ग गर्ने वा सदस्यता कायम राख्ने विषयमा बेलायती संसद्मा महिनौँ बहस र छलफल भयो । सबै वक्ताहरूले बेजोड वाक्पटुताका साथ आफ्ना तर्क प्रस्तुत गर्थे । उनका समर्थकहरू तालीले स्वागत गर्ने र विपक्षी विचारहरूले हल्ला गरेर विमति जाहेर गर्थे । तर, त्यहाँ एउटा अनुशासन र मर्यादा देखिन्थ्यो । सभामुखले कुनै पक्षधरता लिएको आभास गर्ने ठाउँ थिएन । प्रधानमन्त्री थेरेसा मेमाथि चर्को आलोचना र व्यङ्ग्य हुन्थ्यो । तर, मे आफैं पनि संयमित भएर आफूमाथिको प्रहारको प्रतिवाद गर्थिन् । तथ्य र प्रमाणसहितको तर्क नै त्यहाँका छलफलको आधार थियो ।
तर, बेलायती प्रजातन्त्रलाई आदर्श मानेको नेपालको संसदीय परम्परा भने अप्रजातान्त्रिक र अमर्यादित भइरहेको मङ्गलबारको घटनाले उजागर गरेको छ । तर्कभन्दा मुढेबलको भरपर्दा जुनसुकै देशमा पनि प्रजातन्त्र असफल हुनुको अर्को विकल्प छैन । संसद्मा बलको मिचाइ नै सकार हुने भए त्यहाँ कुस्तीबाज र मुक्केबाजहरूलाई तैनाथ गर्नु उपयुक्त हो ।
संसद् मुढेबल होइन, बौद्धिकता र तर्कवितर्कले चल्ने प्राज्ञिक थलो हो । सत्तापक्षको सत्ता उन्मादलाई नियन्त्रण गर्न र सरकारले अघि ल्याएका विधेयकका अपूर्ण र फरक आयामबारे चर्चा गर्न नै संसद्मा प्रतिपक्षको व्यवस्था गरिएको हो । सत्तापक्षबाट निरङ्कुश शासन लाद्नसक्ने अनुभव र सम्भावनाकै कारण प्रतिपक्षको भूमिकालाई प्रजातन्त्रमा उँचो राखिएको हो । तर, नेपालको संसद्मा सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध विगतदेखि नै तर्क र बौद्धिकताको आधारमा भन्दा सङ्ख्या र मुढेबलको आधारमा हुँदै आएको छ । सभामुख बनेका व्यक्तिले राजनीतिक तटस्थताको भूमिका निभाउन सकेको छैन । संसद्लाई मनग्य बहस र बौद्धिक छलफलको थलोभन्दा पनि बहुमतको आधारमा विपक्षीको मत र विचारलाई पेल्ने बक्सिङ रिङ बनाइरहेको छ । सभामुख आफैं पनि सत्तापक्षको कार्यकर्ताजस्तो सङ्कीर्ण भूमिकामा छन् ।
२०४६ सालको जनआन्दोलनपछि स्थापित बहुदलीय व्यवस्थामा राजनीतिक दलबाट भएका अपरिपक्व गल्ती कमजोरीकै कारण लामो समयसम्म देशले द्वन्द्व सामनामात्र गर्नुपरेन । बरु दरबारभित्र थन्काइसकेको राजा र राजदरबारले समेत टाउको उठाउने मौका पाए । विदेशी शक्तिका सामु देश कमजोर बन्यो । विगतका यस्ता कमजोरीबाट न प्रतिपक्ष न सत्तापक्षले नै पाठ सिकेको देखिन्छ । बहस र छलफलको अभावमा सत्तापक्षको बलमिचाइ जति ठीक होइन, प्रतिपक्षले पनि सत्तापक्षसँगको लेनदेनकै लागि मात्र यस्ता खालका काम गरेको भए त्यो झन् ठूलो गल्ती हुनेछ । आफ्ना दुई नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामबाट स्थापित अस्पताललाई सरकारी अस्पताल बनाउने लेनदेनमै काङ्ग्रेसको विरोध सीमित हो भने प्रमुख प्रतिपक्षको त्यो अर्को ठूलो गल्ती मानिनेछ ।
संसद्लाई पाखुराको प्रतिस्पर्धा होइन, विचार र सिद्धान्तको बहस गर्ने थलो बनाउनु नै देशको लोकतन्त्र र भविष्यका लागि फलदायी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *