भर्खरै :

निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन, १० माघ (रासस) : चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्कबाहेकको देशका रहेका छन् । गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार १२३ पर्यटकले निकुञ्ज घुमेका थिए । घिमिरेका अनुसार चालु आवमा शुरु छ महीनामा रु १५ करोड एक लाख १५ हजार ७८३ राजश्व सङ्कलन भएको छ । गत आव भरमा रु २३ करोड ७३ लाख ६३ हजार ९६३ राजश्व सङ्कलन भएको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पर्यटक बढेसँगै राजश्व पनि बढेको बताउनुभयो । भूकम्प र नाकाबन्दीपछि ओरालो लागेको पर्यटकको सङ्ख्या बढ्दै गएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले नारायणगढ मुग्लिन सडक खण्ड राम्रो भएसँगै पर्यटकको आगमन उत्साहजनक देखिएको बताउनुभयो । यस आर्थिक वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको भन्दै उहाँले पर्यटकीय गन्तव्य थप गर्ने विषयमा सरोकारवालाहरू लागि रहेको बताउनुभयो । निकुञ्जमा दुर्लभ एक सिंगे गैँडा, पाटेबाघ, गोही जस्ता जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।
यसैबीच निकुञ्जले सौराहामा सङ्कलन हुने राजश्व सोही ठाउँमा रहेको कृषि विकास बैंकको सौराहा शाखामा सङ्कलन शुरु गरेको छ । प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार कुल सङ्कलन हुने राजश्वमध्ये ८० प्रतिशत सौराहामा सङ्कलन हुँदैआएको छ । राजश्व सङ्कलन वाणिज्य बैंक भरतपुरमा गरिँदै आएकोमा राष्ट्र बैंक, वन मन्त्रालय, निकुञ्ज विभाग लगायतको अनुमतिपछि बुधबारदेखि कृषि विकास बैंकको सौराहा शाखामा सङ्कलन थालिएको उहाँले बताउनुभयो ।
सौराहामा माघ २८ बाट फुड फेस्टिबल हुने
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाले यही माघ २८ गतेबाट सौराहा खाना महोत्सव (फुड फेस्टिबल)को आयोजना गर्ने भएको छ । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष गरिने फुड फेस्टिबलको यो १३ औं संस्करण हो ।
रेवानका अध्यक्ष गोकर्ण गिरीका अनुसार रत्ननगर नगरपालिका–७ को सिस्वार खेलमैदानमा फेस्टिबल आयोजना गर्न लागिएको हो । सो अवसरमा विभिन्न खानाका परिकारसँगै राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । सोही अवसरमा भलिबल, पर्यटक दौड, वेटर रेससँगै बच्चाहरूका खेल आयोजना गरिने भएको छ ।
गिरीका अनुसार फरक क्षमता भएका बच्चाहरूलाई खाना खुवाउने कार्यक्रमसमेत गरिँदै छ । पर्यटकहरूको आगमन कम हुने समयमा पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सौराहामा वार्षिक दुई लाख हाराहारी पर्यटक आउने गर्दछन् । एक सय दश होटल रहेको सौराहामा करीब ६० रेष्टुरेन्ट छन् । फेस्टिबल फागुन ३ गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *