– नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना छ । झण्डै आधा शताब्दीको नेमकिपाको यात्राबाट सिक्नुपर्ने मुलभूत निष्कर्ष के के हुन् ?
शुभकामनाको निम्ति ‘मजदुर’ परिवार र सबै पाठक एवम् शुभेच्छुकहरूलाई धन्यवाद छ ।
कुनै पनि राजनैतिक सङ्घ–संस्था वा सङ्गठनमा जानुभन्दा पहिले त्यस संस्थाको पृष्ठभूमि र लिखित कार्यक्रम र उद्देश्यबारे जानकारी लिनु अति आवश्यक हुन्छ ।
नेपालमा पुष्पलालजीहरूले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । २००७ सालपछि भारतीय एकाधिकार पुँजीले नेपालको कम्युनिष्ट पार्टीको भारतमाथि पर्ने प्रभावलाई बुझेर नेपालमा कम्युनिष्ट आन्दोलनलाई बढ्न नदिन र कम्युनिष्ट आन्दोलनतिर आकर्षित जनतालाई समेत भ्रममा पार्न २००८ सालतिरै ‘प्रगतिशील कम्युनिष्ट पार्टी’ को नामबाट जनकपुरमा पर्चा छरियो । पर्चा छरेको अभियोगमा प्रहरीले एक भारतीयलाई पक्राउ गरी काठमाडौँ पठायो र ऊ भद्रगोल जेलमा थुनियो । केही महिनापछि ती व्यक्तिलाई भारतीय दूतावासले ‘आफ्नो मानिस’ भनी छुटाएर लग्यो ।
नेपालमात्र होइन, कुनै पनि देशमा एक राजनैतिक पार्टी वा कम्युनिष्ट पार्टी स्थापनाको समाचारले (नेपालजस्तो पछि परेको देशहरूमा) शासक वर्ग र सरकारका अनेक सम्बन्धित संस्थाहरू सचेत हुनु स्वाभाविक थियो । त्यो सङ्गठनबाट आउने वर्गीय र राजनैतिक आँचलाई रोक्न त्यस सङ्गठनबारे बुझ्न त्यसभित्र आफ्नो मानिस पठाउने वा त्यसको विरोधमा अर्काे सङ्गठन (काउन्टर अर्गनाइजेसन) को बन्दोबस्त गर्नु स्वाभाविक राजनैतिक सङ्घर्ष हो ।
नेपाल सरकारले त्यसबारे सचेत भएर त्यसको जवाफमा आफ्नो गतिविधि गरेजस्तै खुला सीमा भएको हुँदा भारत सरकारले नेपालका हरेक राजनैतिक गतिविधिबाट आफ्नो स्वार्थमा तत्कालीन र दीर्घकालीन हितमाथि के कस्तो प्रभाव पार्ने हो, सोच्ने गर्छ । सोअनुसार आफ्नो पक्षमा देखिने÷नदेखिने र अनेका–अनेक गतिविधि गर्नु पनि स्वाभाविक छ । प्रसङ्गवस भनी हालूँ–नेपालका एक भूतपूर्व प्रधानमन्त्रीका एक जना सहकर्मी २५–३० वर्षपछि प्रहरीको गुप्तचर भनी थाहा पाए । यस्ता कार्यकर्ता विद्यार्थीकालमा कति जिल्ला–जिल्लाका प्रहरी कार्यालयमा सहयोगी हुन्छन् । यस कार्यमा भाषा–जाति र एउटै राष्ट्रियताले साथ दिनु पनि त्यत्तिकै स्वाभाविक छ ।
युवाहरू जसरी भावुक हुनाको कारण राम्रो सिद्धान्तमा आस्थापूर्वक लाग्छन्, त्यसको उल्टो उमेरदार मानिसहरू भावनाबाट भन्दा व्यक्तिगत स्वार्थ, जातीय एवम् पछिको स्वार्थ, पैसा र पदको लोभमा सरकारको पछि लाग्छन् । भावना र सिद्धान्तबाट प्रभावित भएर कुनै पार्टीमा लागेको व्यक्ति व्यवहारबाट त्यस पार्टीले निश्चित भावना र सिद्धान्तप्रति घात गरेको थाहा पाएपछि पार्टी छोडेर सिद्धान्तनिष्ठ पार्टी खोज्न थालिहाल्छन् । तर, सरकारले परिस्थितिलाई आङ्कलन गरी तुरुन्तै ‘सिद्धान्तनिष्ठ पार्टी’ भनी अर्काे पार्टीको प्रचार गरी हाल्छन् ।
कति इमानदार कार्यकर्ताहरूलाई शासक दलहरू कलेज र विश्वविद्यालयमा भात खुवाएर वा पैसा दिएर बानी बिगारिसकेपछि, “सिद्धान्त भन्ने देखाउने दाँत हो, मुख्य उद्देश्य सरकारमा जाने हो, सरकारमा नगई पार्टी ठूलो हुँदैन र काम पाइँदैन” भन्दै कार्यकर्ता भाँड्ने, विचलित पार्ने र बिगार्ने काम गर्छन् । परिवारमा राजनैतिक पृष्ठभूमि नभएका युवा, गरिब परिवार र अलि हक्की स्वभावका युवाहरूलाई शासक ‘कम्युनिष्ट’ दलहरूले बाटो बिराउन दिएका धेरै उदाहरणहरू छन् । कति विद्यार्थी नेताहरू अहिले मन्त्री भएर अरब अरबको भ्रष्टाचार काण्डमा फसेका छन् ।
नेमकिपाका कार्यकर्ताहरूलाई भाँड्ने र विचलित पार्ने व्यक्तिहरू कर्णाली र भेरी अञ्चलबाट धेरै मन्त्री र ठेकेदार भएका छन् । यस्ता उदाहरणहरू अन्य अञ्चल र जिल्लाहरूमा पनि छन् । सैद्धान्तिक स्तर नउठिसकेका युवाहरू बिग्रन्छन् । पढे–लेखेका, कुनै बेला चर्चित नेता शैलेन्द्रकुमार उपाध्यायजस्ता बुद्धिजीवीहरूसमेत सरकारको पक्षमा गएका थिए र पार्टीको कारबाहीमा परेका थिए ।
सामान्यतया कम्युनिष्ट सिद्धान्त बुझेका र कामदार वर्गको सेवा गर्ने भावनाबाट प्रेरित व्यक्तिहरू पछिसम्म रहेका देखिन्छन् भने पार्टीभित्र सबैसँग चिनापर्ची गरी आफ्नो घर खर्च चलाउन पैचो लिएर फिर्ता नदिने, सङ्गठनको अध्यक्ष र सचिवको पदमा आई जिल्लाका सरकारी कार्यालयहरूबाट फाइदा लिने, आफ्ना छोराछोरीलाई छात्रवृत्ति वा जागिरमा लगाउने, ठेकेदार र अन्य आर्थिक गतिविधिबाट फाइदा उठाउने र संसद्मा पुग्नेहरू, मन्त्री बन्नेहरू पनि कम छैनन् ।
सिद्धान्तच्युत र विश्वासघातबाट हुर्केका व्यक्तिहरूलाई नै शासक दलहरूले सांसद र मन्त्री बनाएपछि तिनीहरूबाट के राम्रो आशा गर्नु ? विचारणीय विषय हो । हाकाहाकी लुटेर खाने, ठग र गुण्डालाई समेत जात–भाषा र राष्ट्रियताको नाममा सांसद र मन्त्री बनाउने नेताहरूले पनि त्यस्ता कमजोरीबाट फाइदा उठाएकै हुनुपर्छ भनी अड्कल गर्नु गा¥हो छैन ।
सत्य के हो भने आधा शताब्दीभन्दा बढी समय राजनैतिक क्षेत्रका अनेक घटनाहरूलाई सम्झँदा यस्तो निष्कर्ष निकाल्न सकिन्छ –
समाजमा रहेका अनेक राम्रा र नराम्रा प्रभाव चोक र सडकको धुलो, धुँवा र गन्ध जसरी आफ्नो कोठाभित्र पनि पस्ने गर्छ, समाजका राम्रा र नराम्रा पक्षहरू राजनैतिक दलहरूमा पस्नु स्वाभाविक हो । तर, समाजमा राम्रा मानिसहरू बढी छन् र खराब मानिसहरू कम, खराब मानिसहरू आफ्नो पाप र अपराधबारे लुकाउन वा प्रायश्चित गर्न पनि बढी प्रचार गर्छन् र भित्र ड्युटीमा पठाइएका व्यक्तिहरू थाहा नभएको जस्तो बस्नु पनि स्वाभाविक हो । समाज सबै शुद्ध, राम्रो, जानकारी भएको भइदिए शोषक वर्गले कसरी सचेत जनतामाथि शोषण र शासन गर्नसक्नेछन् ? त्यसकारण यी सबै दृश्यहरू वर्गसङ्घर्षकै दृश्य हुन् । समाजमा वर्ग र वर्गसङ्घर्ष भएसम्म राज्य सत्ता रहिरहन्छ । राज्य सत्ता भएसम्म यस्ता छलछाम, कपट र कुटील कामहरू शोषक र शासक वर्गले गरिरहन्छन् ।
– पुष्पलाल श्रेष्ठ नेतृत्वको कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । वैचारिक असहमतिले अलग पार्टी स्थापना गर्नुभयो । फरक पार्टी स्थापनाको कुरा पुष्पलालसँग भएको थियो कि थिएन ? नेमकिसं (हालको नेमकिपा) स्थापनापश्चात् उहाँबाट कस्तो प्रक्रिया पाउनुभएको थियो ?
फरक मत त केन्द्रीय समिति र मोबाइल व्युरो (माथिल्लो समिति) मा पनि राखिएको थियो । केन्द्रीय समितिको बैठककै छलफलमा आफ्नो फरक मत लेखेर दिन भनिएको हुँदा ‘नेपाल कम्युनिष्ट आन्दोलनमा खोटा विचारहरूको खण्डन’ तथा ‘रुसी संशोधनवाद सामाजिक– साम्राज्यवादमा पतन’ पुस्तकहरू छापेरै दिइएको थियो ।
छलफलमा पुष्पलालजी गम्भीर हुनुहुन्थ्यो । तर, समितिका केही सदस्यहरू उग्र विरोधी थिए र केही मौन थिए, तिनीहरूमध्ये केही झापा समूहका ‘एकता समिति’ र ‘मुक्ति मोर्चा’ मार्फत एमालेमा पुगे ।

– नेमकिसं स्थापनापछि पनि पुष्पलाल र उहाँ नेतृत्वको पार्टीसँग कस्तो सम्बन्ध रह्यो ? पुष्पलालसँगको अन्तिम भेट कहिले कुन सन्दर्भमा भएको सम्झनुहुन्छ ?

नेमकिपा घोषणा गरिसकेपछि पनि पुष्पलालजी भेट्न आउनुहुन्थ्यो र सा¥है निराश देखिनुहुन्थ्यो । केही व्यक्ति म केन्द्रीय समिति पुग्नुलाई ‘काठमाडौँको गल्लीबाट टिपिएको’ सम्झन्थे । केन्द्रीय समितिमा विश्वासै गर्न नसकिने व्यक्तिहरूसमेत भएको हुँदा एकपटक पुष्पलालजीलाई भनेको थिएँ–‘तपार्इँ तिनीहरूबाट मुक्त हुन सक्नुहुन्न ।” यसकारण पुष्पलालजी आफू सम्भवत ः एक्लो सम्झनुहुन्थ्यो । राजनीतिमा एक पाइला चिप्लेपछि सच्याउन गा¥हो हुँदोरहेछ । पुष्पलाललाई भारतले पहिले नै ‘गुरिल्ला नेता’ वा पहिलो ‘माओवादी’ वा जेठो ‘प्रचण्ड’ बनाउन चाहन्थ्यो । ‘ब्लिज’ साप्ताहिकले पी. एलसँग लिएको एक अन्तर्वार्ताले त्यही सङ्केत दिन्थ्यो ।
पछि डा.भी.एन. सिंहबाट पुष्पलालजीको स्वास्थ्य गम्भीर भएको थाहा पाएँ । तर, दिल्ली लाने दिनमात्रै रेलमा उहाँसँग भेट भयो । परिस्थितिवस केही दिनपछि डा.भी.एन. सिंहकै घरमा बिहान १० बजेतिर बीसीसीको उर्दु समाचारमा उहाँको ‘इन्तकाल’ को समाचार सुनें ।
ितत्कालीन परिस्थितिमा नेमकिसं स्थापना नभएको भए नेपालको कम्युनिष्ट आन्दोलनमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
त्यसबेला नेमकिपा स्थापना नभएको भए हामीसमेत एमालेमा स्वतः विलय हुँदै जाने थियौँ । त्यसको परिणाम नेपाल कम्युनिष्ट आन्दोलनमा संशोधनवादको विरोधमा आजको जस्तो सशक्त विरोध वा उदाङ्ग्याउने अवसर हुने थिएन । नेपालको कम्युनिष्ट आन्दोलन २०–३० वर्ष सा¥है कलङ्कित हुने थियो । तर, जनताको चेतनाको स्तरले एक सशक्त माक्र्सवादी – लेनिनवादी पार्टी बन्ने नै थियो !
िपार्टी अलग नबनाई एउटै पार्टी रहिरहेको भए के भिन्नता हुने अनुमान गर्नुहुन्छ ?
नेमकिपाका राम्रा कार्यकर्ताहरू ‘जिउँदै मर्न’ तयार थिएनन् र पार्टी त बन्ने नै थियो, परिणाम आजकै हुन्थ्यो । माथि भनिएझैं केही समय अन्योल व्याप्त हुन्थ्यो । समयमै किन सङ्घर्ष गरेनौ भन्ने खालका अनेक प्रश्नहरू हामीतिर तेर्सिने थियो ।

– पञ्चायतको लामो अवधि पुष्पलालले भारत प्रवासमै बिताउनुभयो । तपाईले पनि एक दसक प्रवासमै बिताउनुभयो । त्यो अवधि देशमै बसेर सङ्घर्षलाई अगाडि बढाउनुभएको भए कम्युनिष्ट आन्दोलनलाई अहिलेका विसृङ्खलताबाट जोगाउन सकिन्थ्यो कि ? प्रवास जीवनले त पुष्पलाल नेतृत्वको पार्टीलाई बेफाइदा नै गरेको देखियो नि, होइन र ?
पुष्पलालजीको भारत बसाइ डा. माझीहरूको विरोधमा सङ्घर्ष गर्ने उद्देश्यले भएको देखिन्छ । त्यसबाट पञ्चायतको विरोध गर्ने हकमा नेपाली काङ्ग्रेस एक्लो भएन । नत्र नेपाली काङ्ग्रेसका बहुमत सांसदहरूसमेत ‘संसद्को विघटन’ वा राजा र पञ्चायतको पक्षमा गइसकेका थिए । डा. माझीहरू राजा महेन्द्रलाई ‘सिंहानोक’ बनाउन चाहन्थे । भारत यसको विपक्षमा थियो ।
भारतको कम्युनिष्ट आन्दोलन पनि तीन टुक्रामा विभाजित भइसकेको थियो – संशोधनवादी भाकपा, भाकपा (माक्र्सवादी) र भाकपा (नक्सलाइट र अन्य समूहहरू) ।
भारत नेपाललाई पनि नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीमार्फत ‘दोस्रो बङ्गलादेश’ बनाउन चाहन्थ्यो । बङ्गलादेशको आन्दोलनमा भारतीय सैनिक हस्तक्षेपपछि मुजिबुर रहमानहरू सत्तामा पुगे । तर त्यहाँका कम्युनिष्टहरू मोहमद तोवा आदि कता बिलाए, थाहै भएन । नेमकिपा त्यस योजनाको विरोधमा थियो ।

– नेमकिसं स्थापना गर्दाको अवधि र आजको परिस्थितिसम्म आउँदा पार्टी अध्यक्षको नाताले तपाइँको प्राथमिकता र जोडमा कति भिन्नता आएको पाउनुहुन्छ ? त्यत्तिबेला तपाइँ विशेषतः कुन पक्षमा जोड दिने गर्नुहुन्थ्यो र अहिलेको तपाइँको जोड केमा हुने गरेको छ ? किन ?

त्यसबेला भूमिगतकाल भएको हुँदा गुप्तरुपले काम गर्दा सङ्गठनको विस्तार र सैद्धान्तिक स्तर विकास गर्नमा समान रूपले जोड दिइन्थ्यो ।
खुला परिस्थतिले नेमकिपाको सङ्गठन कहाँ, कति र को–को हुन् भनी थाहा पाएपछि प्रतिगामी र संशोधनवादीहरूलाई हाम्रो सङ्गठन भाँड्न सजिलो बनायो ।
यसकारण अहिले हाम्रो प्राथमिकता सैद्धान्तिक स्तर विकास गर्नमा लागेको छ । सैद्धान्तिक स्तरको विकास नगरी सङ्गठनमात्र विस्तार गर्दा संशोधनवादीहरूको हितमा हुने व्यवहारमा देखियो ।

– नेमकिसं स्थापनादेखि आजसम्म आउँदा धेरै नेता कार्यकर्ता कारबाहीमा परे । कतिले छोडेर गए । कतिले धोखा दिए । आफूले मिहिनेत गरेर बनाएका कार्यकर्ताको यस्तो अवस्थाले तपाईलाई कस्तो अनुभूति हुन्छ ?

पहिले नेपालमा सबै ठाउँमा अस्पताल नपुग्दा र औषधि विज्ञान तुलनात्मकरुपले अगडि नबढेको बेला धेरै–धेरै केटाकेटी मर्थे । डिप्ठेरियाजस्ता रोगको कारण एउटै रोगबाट एउटै आमाका २–३ केटाकेटी मरेको थाहा छ । आमाहरूले मनमनै ‘मेरो बच्चा मर्ने नै हो क्यारे’ भन्ने जस्तो मनमा लिन्थे ।
उपचारको विकासले आमाहरूलाई हिजोको दुःख भोग्नुपरेन । छोरा–छोरीले हेरचाह र मायामा पनि सुधार देखियो ।
त्यस्तै सैद्धान्तिक ज्ञान र राजनैतिक संस्कृतिले सा¥है कमजोर मानिसहरूमात्रै सिद्धान्तप्रति विश्वासघाती हुने अनुमान गर्छु । सङ्ख्याको हिसाबले विश्वासघातीहरू कम र इमानदारीपूर्वक पार्टी, देश र जनतालाई माया गर्ने कार्यकर्ताहरू धेरै बढी छन् ।

– ४५ वर्षको पार्टी जीवनमा तपाइँले मूलतः कस्तो कस्तो प्रवृत्तिका कार्यकर्तासँग काम गर्नुभयो ? तपाइँ विशेषतः कस्ता कार्यकर्तालाई सम्झिरहनुहुन्छ ?
४५ वर्षको पार्टी निर्माण र राजनैतिक यात्रामा सरल मजदुर र किसानहरूसँग बढी घनिष्ठता बढ्यो । फाइदा लिन र पार्टीबाट सिकेर आफ्नो हितमा प्रयोग गर्ने अनि व्यक्तिगत महत्वाकाङ्क्षी र विश्वासघात गर्नेहरू जनताको आँखामा पनि घृणित भएको देखेँ ।

किर्णाली अञ्चलमा कम्युनिष्ट आन्दोलनबारे प्रचारै नपुगेको अवस्थामा नेमकिपाले प्रतिकूल परिस्थितिबीच सङ्गठन बिस्तार गरेको थियो । यस्तो सङ्गठन विस्तारको सुरुवात संयोगमात्र थियो वा त्यो योजनाबद्ध कार्यक्रम थियो ?

योजनाबद्ध थियो र त्यस ठाउँबाट पश्चिमी पहाडका धेरै जिल्लाका जनताको सेवा गर्ने उद्देश्य थियो । पार्टी खुला भएपछि राजनैतिक सङ्घर्षको रुपमै परिवर्तन भयो ।

– फर्केर हेर्दा, आन्दोलन र सङ्घर्षको समयमा नेमकिपा प्रकाशमा आउने तर अरु बेला भने कतै छेउमा बसेको जस्तो देख्नेहरू पनि छन् । पञ्चायतविरोधी सङ्घर्षदेखि प्रतिगमनविरोधी आन्दोलन, भारतीय नाकाबन्दीविरोधी आन्दोलनसम्म यस्तै देखिन्छ । के यो पर्यवेक्षणमा सत्यता छ ?
यसमा सत्यता छ । हाम्रो देश विभिन्न जातजाति, भाषाभाषी र राष्ट्रियतामा विभाजित छ । केही जाति र भाषाहरू सत्तामा छन् र निश्चित जाति र भाषा–भाषीहरूको प्रचारमाध्यम र अरु क्षेत्रमा व्यापक प्रभाव छ । यसकारण नेमकिपा वडाराष्ट्र अहङ्कारवादबाट पीडित छ । भारतमा अब्दुल कलाम आजाद एक सा¥है चर्चित, प्रशंसित र निष्कलङ्कित नेता थिए । तर, चर्चा उनको योगदानअनुसार उनको दृष्टिकोणबारे चर्चा नभएको बारे जानकारहरू भन्ने गर्छन् । त्यस्तै भारतीय कम्युनिष्ट आन्दोलनमा रणदिवे अन्य केही नेताहरूबारे पनि उचित मूल्याङ्कन नभएकोले चर्चा हुने गर्छ ।

– नेपाल र विश्व राजनीतिको आजको परिस्थितिमा नेमकिपाको भूमिका र जिम्मेवार कस्तो हुनेछ ?
हिन्द–प्रशान्त क्षेत्रीय सैनिक गठबन्धनको विरोधमा सङ्घर्ष आवश्यक छ । नेपाल जसरी स्वतन्त्र, सार्वभौम र तटस्थ एवम् असंलग्न थियो, आज पनि त्यही नीतिमा लाग्नु देश र जनताको हितमा छ । त्यसको अर्थ हो पञ्चशीलको परराष्ट्र नीतिले नेपाल र छिमेकीहरूलाई समेत शान्तिपूर्वक एवम् मित्रवत् रहने अवसर प्रदान गर्नेमा दुईमत नहोला । नेमकिपा पञ्चशील र असंलग्नताबारे अझ पनि जोड दिन चाहन्छ ।

– पार्टी स्थापनाको सन्दर्भमा अन्त्यमा भन्नुपर्ने केही कुरा छन् कि ?
आजसम्म निरन्तर देश र जनताको हितमा आ–आफ्नो क्षेत्रमा लागिरहने कार्यकर्ता साथीहरू, समर्थक र हितैषी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु । आगामी वर्षमा हुने पार्टीको हरेक गतिविधि पहिलेभन्दा अझ बढी उत्साह र जोशका साथ देश र जनताको सेवामा ‘निःस्वार्थ रुपले’ लाग्न आह्वान पनि गर्न चाहन्छु । हाम्रो सातौँ महाधिवेशन नजिकै छ र संशोधनवादको विरोधमा हाम्रो सङ्घर्ष अझ सशक्त ढङ्गले अगाडि बढ्नेछ । सबैलाई क्रान्तिकारी सलाम !
– २०७५ माघ ८