भर्खरै :

इन्डोनेसियामा बाढी पहिरोबाट ५९ को मृत्यु

माकासार, इन्डोनेसिया, ११ माघ  – इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।
इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा परेको भीषण वर्षापछि आएको बाढी पहिरोको कारण हजारौँ व्यक्ति विस्थापित र घरवारविहीन भएका छन् ।
बाढी पहिरोका कारण अझै २५ जनाभन्दा बढी मानिस बेपत्ता रहेका छन् । यस प्रकारको भीषण प्रकोप आफूले कहिल्यै नदेखेको सुलावेसी द्वीपका प्रकोप नियन्त्रण विभाग प्रमुखले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।
इन्डोनेसियाको दक्षिणी भागमा पर्ने ११ ओटा जिल्लाका केही नदी समेत पहिरोले थुनिएका कारण गाउँतर्फ सोझिएको पानीले हजारौैँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।
प्रकोप नियन्त्रण निकाय प्रमुखले सुलावेसी द्वीपको गोवा जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको बताउनुभयो । यस जिल्लामा मात्र ४४ जनाको मृत्यु भएको छ ।
बिहीबार साँझसम्म यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३० पुगेको थियो । वेपत्ता व्यक्तिहरुको शब भेटिएको र थप केही व्यक्तिको मृत्युपछि शुक्रबार बिहानसम्म यो संख्या ५९ पुगेको बताइएको छ । साथै दर्जनौँ व्यक्ति घाइते भएका र उनीहरुको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
प्रकोपका कारण विस्थापित भएका करिब ३ हजार ४०० व्यक्तिलाई विद्यालय, मस्जिद र टेन्टहरुमा राखिएको छ ।
यस बाढीका कारण आवासीय र सरकारी भवनहरु, विद्यालय र पुल क्षतिग्रस्त भएको बताइएको छ । गतवर्ष इन्डोनेसियको सुमात्रा द्वीपमा आएको बाढी पहिरो कारण कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।
इन्डोनेसियामा बाढी, पहिरो र ज्वालामुखी विस्फोट जस्ता प्राकृतिक प्रकोपले बारम्बार सताउने गरेको छ । गत डिसेम्बरमा आएको ज्वालामुखीका कारण ४०० भन्दा बढीको मृत्यु भएको थियो । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *