भर्खरै :

स्वाभिमानी हृदयचन्द्र

सप्रदचन्द्रसिंह प्रधान
उहाँको मृत्यु हुँदा म सानै भएकोले त्यतिबेलाको कुरा पछि–पछिमात्र महसुस गर्न र थाहा पाउन सक्यौँ, हिजोआज नेपालमा समाचार पत्रिका एउटा राम्रो व्यवसायको रुपमा स्थापित भइसकेको कुरा हामीले महसुस गरेका छौँ । तर, यसको थालनीको कष्टकर समय २००७ सालको क्रान्तिपछिको लगत्तै (२००७ साल फागुन ४ गते) उहाँले ‘जागरण साप्ताहिक’ पत्रिका निकाल्नुभयो । मैले थाहा पाएअनुसार उक्त पत्रिका नै नेपालको निजीस्तरबाट पहिलोपटक समाचार पत्रिकाको जन्म भएको अथवा ऐतिहासिक दिन नै हो भनिन्छ । त्यसताका त्यस पत्रिकाले सत्तामा बसेकाहरूको गल्ती, कमी–कमजोरीलाई कोट्याउने, समीक्षा र विश्लेषण गर्ने र जनताका सही आवाजलाई टेवा दिई निष्पक्षरूपमा पत्रिका सञ्चालन गर्नुहुन्थ्यो । पत्रिकाको ख्याती र चर्चाले गर्दा एक दिन श्री ५ त्रिभुवनबाट उहाँलाई बोलाइबक्स्यो । त्यस पत्रिकाको त्रिभुवनले पनि खुब तारिफ गर्नुभयो र कुरै कुरामा बुबा दमको रोगी र टी.बी. भएको थाहा पाएर ‘पैसाको बन्दोबस्त गरी दिन्छु, राम्रो ठाउँमा बस्नको लागि घरसहितको कम्पाउण्ड भएको मन लागेको ठाउँ खोज्न’ हुकुम भयो । तर, त्यस कुरालाई उहाँले अस्वीकार गर्नुभयो र बरु राजासँग एउटा ‘जागरण’ साप्ताहिकको सम्पादकको हैसियतले अन्तर्वार्ता लिएर आउनुभयो । सायद नेपाली सम्पादकले राजासँग लिएको अन्तर्वार्ता त्यो नै पहिलो होला नेपालमा ।
त्यस्तै त्यसताका भारतीय राजदूत महामहिम श्री भगवान सहायले पनि निकै मन पराउनुहुन्थ्यो उहाँलाई । विशेषतः उहाँ साहित्यप्रेमी हुनुहुन्थ्यो र उहाँको विशेष जोडले गर्दा बुबालाई २०१४ सालमा भोपालमा उपचार गर्न पठाइयो । साढे दुई वर्ष भोपालमा बसी रोगलाई केही कम गरी फर्कनुभयो । तर, उहाँ पूर्णतः ठीक भइसक्नुभएको थिएन । डाक्टरहरूले त अझ केही समय त्यहीँ बस्न निकै जोड गर्नुभएको थियो । तर, उहाँलाई धेरै समयसम्म विदेशमा बस्न मन लागेनछ क्यारे, अनि उहाँ नेपालमै फर्किनुभयो । फर्किने बेला डाक्टरहरूले सल्लाह गरेर एउटा दैनिक नियम र यसरी र यस्तो अवस्थामा बस्नुभयो भनी सल्लाह दिनुभयो । उहाँलाई नियमबद्ध तरिकाले दैनिक जीवनचर्यासमेत लेखेर दिइएको थियो ।
भगवान सहायको विशेष जोडले पठाइएको हुनाले डाक्टरहरूले भगवान सहायलाई पनि उक्त दैनिक नियमको आवश्यकतालाई विशेष जोड दिनुपर्ने कुरा अस्पतालबाट सूचना पठाइएको रहेछ । बुबा भोपालबाट नेपाल फर्कनुभयो । भगवान सहायले बुबाको अवस्था राम्ररी थाहा पाउनुभएकोले, डाक्टरको सल्लाहअनुसार उहाँको लागि बस्न, थापाथालीमा राम्रो बगँैचा भएको घर किनिदिने प्रस्ताव राख्नुभयो । त्यस प्रस्तावको बुवाबाट स्वीकृति लिनलाई धेरै कोशिस गर्नुभयो र तीन–तीन पटकसम्म प्रस्ताव राख्नुभयो । तर, बुबाले यस कुराको मञ्जुरी दिन कदापि मान्नु भएन र यस कुरालाई नबढाउन उल्टै अनुरोध गर्नुभयो । बुबाको यस किसिमको अस्वीकृतिले गर्दा भगवान सहायले बुबालाई ‘केही त गर्न दिनुस्’ भन्ने अनुरोध गरेपछि, बुबाले भोपाल अस्पतालमा बस्दाखेरि नै एउटा हिन्दीमा ‘ऐसा मैं सोचता हुँ’ भन्ने किताब लेख्नु भएको रहेछ, त्यही छापिदिनुुस् भनी भन्नु भएछ । धेरै कुरा दिन चाहेकोलाई त्यति सानो कुरा के थियो र ! तुरुन्तै प्रेसको कामको जिम्मा लिएर त्यसलाई प्रकाशित गर्ने चाँजो मिलाउनुभयो र केही समयपछि उहाँको कार्यकाल सकेर भगवान सहाय भारत फर्किनुभयो । त्यसको केहीपछि नै बुबाको पनि निधन भयो र उहाँले त्यो हिन्दी किताब आफूले हेर्न पाउनुभएन । अरु पुस्तक उहाँको मृत्युपछि मात्र प्रकाशित हुनपुग्यो ।
भोपालबाट फर्किएको ६ महिनामै हृदयचन्द्रको मृत्यु भएको खबर सुनेर भोपालका डाक्टरहरूलाई पनि धेरै नै दुःख लागेछ र दुइजना डाक्टरहरू त नेपाल आई, घरमा नै आउनुभयो । गल्लीभित्र आउँदा नाक थुनेर आएको सम्झना आउँछ । के सोचेर गयो होला, थाहा छैन । घरभित्र समेत नआइकन नै तलबाट नै आमालाई भेटेर फर्कनुभयो ।
नैतिक मूल्य र मान्यताको–हासोन्मुख आजको अवस्था देख्दा आज यस पंक्ति लेख्दै जाँदा त्यो गम्भीर अवस्थाको मलाई सम्झना आइरहेको छ, उहाँले जुनसुकै अवस्थामा पनि आफूलाई नैतिकताबाट कहिल्यै पनि झुकाउनु भएन । त्यो नझुक्ने पहाडको नाम हो हृदयचन्द्रसिंह प्रधान । त्यस्ता महापुरुषको छोरा हुन पाएकोमा म आफूलाई नै गौरव ठान्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *