भर्खरै :

सभामुखको पक्षपाती व्यवहार

बिहीबार प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हेर्दै थिएँ । सभामुख कृष्णबहादुर महराको प्रस्तुति निकै अभद्र लाग्यो । दुईतिहाइ बहुमतको उन्माद सरकारलाई मात्र होइन, सभामुखमा पनि चढेको महसुस भयो । प्रस्ट शब्दमा विरोध गर्दै सदन चल्न नदिन प्रतिपक्षी काङ्ग्रेसका सांसदहरू उठ्दा उनले सरकारको प्रवक्ता जस्तो गरी ‘सरकारको कामले आफ्ना माग पूरा भएको खुशीमा उभिनुभएको हो कि’, ‘लामो समय उभिंदा थकान महसुस हुन्छ माननीयज्यू बस्नुस्’ जस्ता ठट्यौली कुरा गर्नु अपमानजनक जस्तो लाग्यो । सभामुखलाई पनि प्रधानमन्त्री ओलीलाई जस्तो हाँसो गर्ने रहर चलेको हो कि ? नत्र गम्भीर विषयलाई हाँसोमा उडाउन खोज्नु अपमानजनक हो । उनले प्रतिपक्षका सबै माग सरकारले पूरा गरिसकेको हुनाले बस्न आग्रह गरिरहेका थिए । सरकारको कुरा सभामुखले भन्ने हो वा मन्त्रीले भन्ने ? के सभामुख सरकारको प्रवक्ता हो ? माग पूरा भएको नभएको दाबी वा प्रतिवाद सभामुखबाट भएको पटक्कै सुहाएन ।
प्रजातान्त्रिक बन्दोबस्तका आफ्नै सुन्दर पक्ष भएर पनि त्यसका खेलाडीहरूका कारण विकृति आउने गर्दछ । सभामुखले प्रजातन्त्रको अभ्यासमा यसप्रकारको पक्षधरताले प्रजातन्त्रलाई कुरुप बनाउनेछ ।
बिहीबारको बैठकमा दुई जना सांसदहरूले बोल्न समय मागेका थिए । तर, सभामुखले फेरि पनि दम्भपूर्वक समय दिन मानेनन् । सभामुख कुनै पनि दलभन्दा माथि रहेर व्यवहार गर्नुपर्छ । राजनीतिक दलको सीमित घेराभन्दा माथि सभामुख बस्नुपर्छ, राख्नुपर्छ, बस्न जान्नुपर्छ ।
यस्ता गल्ती हिजो नेपाली काङ्ग्रेस आबद्ध नेता सभामुख हुँदा पनि भएका थिए । त्यत्तिबेला पनि सभामुखको भूमिकाबारे आलोचना भएको थियो । आज पनि स्थितिमा कुनै परिवर्तन नआउने शासन व्यवस्थामा पात्र मात्र बद्लिएको तर शासकको मनस्थितिमा कुनै परिवर्तन नआएको देखिंदैछ ।
– कृष्णहरि सिम्खडा, धादिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *