भर्खरै :

स्ववियु निर्वाचन र भविष्यको पुस्ता

त्रिभुवन विश्वविद्यालयले आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मिति आगामी फागुन १४ गते हुने चर्चा छ । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँगै विश्वविद्यालयका पदाधिकारी, प्रमुख मानिएका केही विद्यार्थी सङ्गठनका प्रतिनिधि बोलाएर आफ्नै निवासमा स्ववियु निर्वाचनबारे बैठक गरेको समाचार पनि प्रकाशमा आयो । प्रधानमन्त्री र त्रिविले विश्वविद्यालयमा क्रियाशील अन्य विद्यार्थी सङ्गठनलाई कुनै पनि छलफलमा भागसमेत लिन नदिई सत्ताको भागवण्डा गरिरहेका दलहरूबीच सहमति गरी निर्वाचन गर्न खोज्नु अप्रजातान्त्रिक सोचको परिणाम हो । त्रिविमा अखिल र नेविसङ्घबाहेक अरू विचारका विद्यार्थी सङ्गठन नदेख्नु पञ्चायतकालीन मानसिकताकै निरन्तरता हो ।
स्ववियु निर्वाचनको चर्चासँगै विद्यार्थी आन्दोलनभित्र मौलाएका विकृतिबारे छलफल पनि चुलिएको छ । विद्यार्थी नेताहरू ठेक्कापट्टा, सिफारिस, भ्रष्टाचारमा लाग्दा देशमा मौलाएका राजनीतिक विकृतिको प्रतिबिम्ब विद्यार्थी राजनीतिमा पनि परिरहेको देखिन्छ । देशका अन्य निर्वाचनमा शासक दलले पैसा र भोजभतेरको छेलोखेलो गरेजस्तै स्ववियु निर्वाचनमा पनि शासक दलका विद्यार्थी सङ्गठन त्यसरी पैसाको भरमा चुनाव लड्ने गरेका छन् । विचार र सिद्धान्तको प्रतिस्पर्धाभन्दा पनि जसले पैसा र मुढेबलको व्यापक परिचालन गर्नसक्छ, त्यही विद्यार्थी सङ्गठनले चुनाव जित्ने अवस्था छ । त्यसकारण क्याम्पसका चुनावमा कक्षामा नियमित आउने विद्यार्थीहरूको तुलनामा शासक दलका विद्यार्थी सङ्गठनका नेताको आवरणमा ठेकेदार र व्यापारी नै बढी सक्रिय हुने गरेका छन् । विद्यार्थीहरूको निर्वाचनमा देशको शिक्षा प्रणालीमा व्यापक सुधार, सैद्धान्तिक र राजनीतिक विषयको भद्र बहस कमैमात्र हुने गरेको पाउँछौँ । बरू निर्वाचन मूलतः पाखुराको प्रतिस्पर्धा हुने गरेको छ ।
विद्यार्थीलाई आफूले अङ्गालेको राजनीतिक विचारबारे जानकारी दिने, क्याम्पस र समग्र शिक्षा क्षेत्रमा परिवर्तनको लागि आफ्ना एजेण्डा प्रचार गर्नेभन्दा पनि साम, दाम, दण्ड र भेदमार्फत चुनाव जित्ने खोटो चिन्तनका कारण विद्यार्थी राजनीति दिनानुदिन बदनाम बन्दै गएको छ । फलतः विद्यार्थी सङ्गठन र राजनीतिप्रति नै सर्वसाधारण विद्यार्थीको सोच नकारात्मक बन्दै गएको छ ।
नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थी आन्दोलन र सङ्गठनको सुरूदेखि नै महŒवपूर्ण भूमिका रहँदै आएको छ । विद्यार्थी आन्दोलन वैचारिक र राजनीतिक आन्दोलनको रुपमा अघि बढ्दा विद्यार्थी आन्दोलनले देशमा सकारात्मक परिवर्तनको निम्ति योगदान गरेको सत्य हो । तर, विद्यार्थी आन्दोलन पुँजीवादी विकृतिकै केन्द्र बन्दै गएको अवस्थामा विद्यार्थी आन्दोलनले राजनीतिक र सामाजिक परिवर्तनमा नकारात्मक भूमिका खेलिरहेको पनि उत्तिकै सत्य हो ।
विद्यार्थी आन्दोलनको उज्यालो भविष्यको सुन्दर राजनीतिको सम्भावना हो । आजको विद्यार्थी आन्दोलन वैचारिक र राजनीतिक बहसको दबु बनेको अवस्थामा भविष्यको राजनीति पनि त्यही हिसाबले वैचारिक र स्तरीय बन्ने हो । तर, शासक दलसम्बद्ध विद्यार्थी सङ्गठनका हिजोआजका गतिविधि हेर्दा तिनीहरू अझै पनि विकृतिको नालीबाट माथि उक्लिन सकेका छैनन् । उनीहरूले शब्दतः जतिसुकै मीठा कुरा गरे पनि अन्ततः आफ्नो विकृतिपूर्ण रुपमा स्ववियु निर्वाचनमा देखाउने गरेका छन् ।
स्ववियु निर्वाचन आफैं पनि प्रजातान्त्रिक अधिकार र आन्दोलनको उपलब्धि हो । आफूले जित्ने सुनिश्चित भएपछि मात्र निर्वाचन गर्ने सोच सामन्ती सोचकै सिलसिला हो । तर, स्ववियु निर्वाचनको नाममा देखिने विकृति रोकथाम गर्न त्रिवि र विद्यार्थी सङ्गठनमात्र होइन, स्वयम् शासक दलका नेताहरूले पनि चिन्तन गर्न जरुरी छ । आफ्नो भविष्यको पुस्ता कस्तो बनाउने भन्ने विषयमा उनीहरूले चिन्तन नगर्ने हो भने उनीहरूले फेरि पनि जनता र देशलाई धोखा दिएको प्रमाणित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *