भर्खरै :

साम्राज्यवादी अमेरिकाको सर्वत्र विरोध आवश्यक

देश देश भिडाएर, लडाएर हतियारको व्यापार गर्ने, प्रगतिशील, वामपन्थी र कम्युनिष्ट भनेपछि पटक्कै सहन नसक्ने र आफ्नो विचारभन्दा भिन्न विचारका देशका शासकहरूलाई दुःख दिने काम संयुक्त राज्य अमेरिकाले गरिरहेको छ । प्रजग कोरिया, क्युवाजस्ता देशहरूमा दसकौँदेखि नाकाबन्दी गरेर अमेरिकाले सन्तोषको सास फेरिरहेको छ । साम्राज्यवादी अमेरिका भेनेजुयलामा पनि रक्तपातपूर्ण युद्ध चाहन्छ । त्यस्तै युद्ध निम्त्याउन नै अमेरिका र उसका पिछलग्गू देशहरूले भेनेजुयलामा स्वघोषित राष्ट्रपतिप्रति समर्थन गरे । त्यतिले नपुगेर निर्वाचित राष्ट्रपतिलाई सरकार छोड्न चेतावनी दिन पनि अमेरिकी राष्ट्रपति अघि सरे ।
भेनेजुयलामा परेको शक्ति राष्ट्रहरूको दबाबबारे अन्य देशले बोल्न पाउँदैन भन्ने कुरा होइन । संसार अमेरिका, फ्रान्स, स्पेन, बेलायतजस्ता साम्राज्यवादी देशहरूको मात्र होइन । उनीहरूले गरेका, भनेका सबै निर्णय र विचार अरु मुलुकका शासकहरूले मान्नुपर्छ भन्ने होइन । भेनेजुयलाबारे नेपालले विज्ञप्ति÷वक्तव्य निकाल्दा अमेरिकी दूतावासले आपत्ति जनाउनुपर्ने होइन, राजदूतसँग स्पष्टीकरण लिनुपर्ने होइन । सरकारले शुक्रबार बोलाएको कूटनीतिक नियोगका प्रतिनिधिहरूसँगको छलफलमा अमेरिकी राजदूत उपस्थिति नहुँदैमा नेपाल सरकारले वक्तव्य फेर्नुपर्ने होइन, वक्तव्य फेरेर अमेरिकी साम्राज्यवादको पुच्छर समाएर कुद्नुपर्ने होइन । स्वघोषित राष्ट्रपतिको समर्थन कुनै देशले गर्नुहुँदैन । स्वघोषित राष्ट्रपतिलाई समर्थन गर्ने देशका शासकहरू कहिल्यै प्रजातन्त्रवादी हुँदैनन् । प्रजातन्त्र र स्वतन्त्रता भनेको शक्ति राष्ट्रको पछि आँखा चिम्लेर अघि बढ्नु होइन, उनीहरूको विचारलाई समर्थन गर्नु होइन ।
भेनेजुयलाको आन्तरिक मामिलामा संयुक्त राज्य अमेरिका र उसका पिछलग्गू देशहरूले गरेको हस्तक्षेप कुनै पनि स्वतन्त्र र सार्वभौम देशको लागि स्वीकार्य छैन । संयुक्त राज्य अमेरिका र उसका पिछलग्गू देशहरूले गरेको स्वघोषित राष्ट्रपतिको नेपाल सरकारले कडा शब्दमा आपत्ति जनाउनुपर्छ । शान्तिको जप गरेर विश्वमा आतङ्क मच्चाउने, देश देश लडाएर हतियार बेचेर नाफा कुम्ल्याउने साम्राज्यवादी संयुक्त राज्य अमेरिकाको संसारका सबै देशका शासकहरूले एकै स्वरमा विरोध गर्नुपर्छ, भेनेजुयलामाथि परेको दबाब फिर्ता लिन लगाउन एकजुट हुनुपर्छ । अमेरिकाले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेर प्रजातन्त्रको ठाडो उल्लङ्घन गरेको छ । अन्य देशमा सेना तैनाथ गरेर आतङ्कित पारिरहेको छ । अमेरिका शक्तिको मातमा चढेर किन विश्वमा नाङ्गो हस्तक्षेप गर्दैछ ? कुनै पनि स्वतन्त्र र सार्वभौम देशले ठूला देशको छत्रछायाँमा रहेर, दास भएर शासन चलाउँदैन ।
–गौरव प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *