भर्खरै :

समाजवादी सपनामाथि साम्राज्यवादी हस्तक्षेप

एस. डी. राजचल
साम्राज्यवादी देश संरा अमेरिका अन्य सार्वभौम र स्वतन्त्र देशहरूमा आफ्नो उपनिवेश लाद्न चाहन्छ । यसको लागि ऊ युद्धकोे आह्वान गर्न पनि तयार हुने गरेको छ । संसारका प्रजातन्त्रवादी र स्वतन्त्रतापे्रमी जनताको समर्थन पाउन उसले युद्धको विरोधमा प्रचार गर्ने गरेको भए तापनि व्यवहारमा अमेरिकी शासकहरू युद्धको पक्षमा छन् । उसले वामपन्थी र सार्वभौमसत्ता सम्पन्न मुलुकहरूमाथि अनेक हस्तक्षेपकारी गतिविधि गरिरहेबाट यही कुराको पुष्टि हुन्छ । कुनै देशमा आन्तरिक द्वन्द्व भएन वा अशान्ति मचेन भने त्यो अमेरिकालाई दुःखद् समाचार बन्ने गरेको छ । विश्वका स्वतन्त्रताप्रेमी र न्यायप्रेमी जनता तानाशाही र दक्षिणपन्थी सरकारहरूविरुद्ध सङ्घर्ष गरिरहन्छन् । तिनीहरू सदा साम्राज्यवादको फासीवादी सरकारको विरोधमा गतिविधि गरिरहन्छन् । तर, अमेरिकी शासकहरू प्रजातन्त्र र स्वतन्त्रताको नाममा अन्य देशहरूमाथि युद्ध लाद्न वा अशान्ति मच्चाउन सदैव तयार भइरहेका हुन्छन् ।
आजको एक्काइसौँ शताब्दीको विश्वमा संयुक्त राज्य अमेरिकाले पुँजीवाद र पँुजीवादी देशहरूका पहरेदारी गरिरहेको छ । आफ्नो पहलमा उसले ल्याटिन अमेरिका र दक्षिण अमेरिकाका मुलुकहरूमा दक्षिणपन्थी सरकार स्थापनासमेत गरिसकेको छ । यसरी वामपन्थी सरकारहरूको विरोधबाट दक्षिणपन्थी सरकारहरू भएका देशहरूमा ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, क्यानाडा, अष्ट्रेलिया आदि छन् । ती दक्षिणपन्थी वा प्रतिक्रियावादी सरकारहरू अमेरिकी सरकारको पक्षमा एकमत देखिएका छन् । अमेरिका आफ्नो देशको पँुजीवादलाई मलजल दिन समाजवादको लागि लड्ने आफ्नै देशका जनताविरुद्धसमेत लाठी र गोली बर्सान्छ र वामपन्थी नेतृत्व भएका देशहरूमा पँुजीवादी सरकार स्थापनाको लागि अनावश्यक हस्तक्षेप गर्दै आएको छ ।
कुनै बेला ब्राजिल, अर्जेन्टिनालगायत देशहरूमा वामपन्थी नेतृत्वको सरकार थियो । ती देशहरूमा शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुका साथै रोजगारीको सुनिश्चितता थियो । जनता र नेताबीचको दुरी अत्यन्त कम थियो । सरकार जनताका माग र आवश्यकताप्रति सचेत थियो । यस्तै कारण विरोधीहरूका आवाज क्रमिक रुपमा कमजोर हुँदै गइरहेको थियो । जनता शान्तिपूर्वक जीवनयापन गर्दै थिए ।
तर, मुखले शान्ति र प्रगतिको कुरा गर्ने अनि व्यवहारमा अशान्ति र युद्धलाई आमन्त्रण गर्ने अमेरिकी साम्राज्यवादले ‘शान्त तलाउमा सानो ढुङ्गा हान्दा आउने तरङ्ग’ झैँ तत्तत् देशहरूमा अनेक किसिमका द्वन्द्व मच्चाउने प्रपञ्चहरू तयार ग¥यो । त्यसको लागि कुनै कसर बाँकी राख्न दिइएन । ती देशका राजनीतिक विपक्षीलाई विभिन्न लोभलालचमा वामपन्थी सरकारको विरोधमा प्रदर्शन गर्न दिनेजस्ता हस्तक्षेपकारी क्रियाकलाप अमेरिकाले ग¥यो ।
लिबिया, इराकजस्ता थुप्रै अरब देशहरूमा युद्ध, गृहयुद्ध, अशान्ति मच्चाउन प्रमुख भूमिका खेल्दै आएको अमेरिका यतिखेर अर्को अरब मुलुक र विशेषतः दक्षिण अमेरिकी देश भेनेजुयलामा आर्थिक सङ्कट निम्त्याएर अर्को लिबिया र इराक बनाउने योजना बुनिरहेको छ । तर उसको यो योजना विगतमा झैँ सफल हुने छैन । भेनेजुयलालाई आज रुस, चीन, टर्की, क्युवा, बोलिभिया, उरुग्वे, मेक्सिको, इरान र प्रजग कोरियालगायतका देशहरूको समर्थन प्राप्त छ । अझ विशेषगरी भेनेजुयलाकै सेना र व्यापक जनताले भेनेजुयलाका वर्तमान संवैधानिक राष्ट्रपति निकोलस माडुरोको समर्थनमा विशाल प्रदर्शनहरू गरिरहेबाट अमेरिकी साम्राज्यवादको सपना पूरा हुनेछैन ।
आर्थिक विषमता र राजनीतिक अन्योलका बीच सन् १९९९ मा ह्युगो चाभेज सत्तामा पुगेपछि भेनेजुयलाको स्थितिमा ठूलो परिवर्तन आएको थियो । १४ वर्ष शासन सत्तामा रहँदा उनले देशलाई एउटा बलियो आर्थिक शक्तिमात्र बनाएनन्, समाजवादको झण्डालाई उँचो पार्दै लगे । अमेरिकी साम्राज्यवादको कडा शब्दमा प्रतिकार गरेर संसारका मुक्तिकामी जनताको मन जित्न सफल चाभेजको सन् २०१३ मा निधन भयो । उनको निधनपश्चात् आफ्नो कठपुतली सरकार गठनको सपना देखिरहेको अमेरिकी साम्राज्यवाद सफल हुन सकेन किनभने निकोलास माडुरोले चाभेजको उत्तराधिकारीको रुपमा देशमा काम गर्ने र पँुजीवादको प्रचार गर्न नदिने गरे । साथै आप्mनो तेलको भण्डार भेनेजुयाली जनताको हित अनुकूल प्रयोग गर्दै गए । यही विचार र क्रियाकलाप पँुजीवादी मुलुक अमेरिकाको लागि असह्य भयो । उनले अनेक चलखेल गरिरहे, हस्तक्षेप गरिरहे । संरा अमेरिका माडुरोको सत्ताविरुद्ध निरन्तर लागिरहे ।
यस्तै एउटा प्रयास हालै भेनेजुयलामा दोहोरिएको छ । समाजवादको सपना देखेको दक्षिण अमेरिकी मुुलुक भेनेजुयलामा आर्थिक सङ्कट देखापरेको छ । वस्तुतः यो सङ्कट माडुरोको सरकारविरुद्ध अमेरिकाले सिर्जना गरिएको सङ्कट हो । अमेरिकी साम्राज्यवादको कठपुतली हुन नचाहेको कारण माडुरोको सत्तालाई कमजोर पारी कठपुतली सरकार स्थापना गर्ने र ऊर्जा, खानीमाथि एकाधिकार जमाउने उसको चाहना थियो । यसो गर्न पाएको खण्डमा उसले तेल, सुनलगायत बहुमूल्य पदार्थहरू आफ्नै चाहना र इच्छामा प्रयोग गर्ने र मुनरो सिद्धान्तअनुसार ल्याटिन अमेरिकालाई आफ्नो आँगन बनाइरहने हो । यही उद्देश्य पूरा गर्न अमेरिकाले भेनेजुयलाका विपक्षी पार्टीहरूलाई हातमा लिनुका साथै संसद्का विपक्षी दलका दक्षिणपन्थी नेता हुँवा गुइएदोलाई अघि सारेको हो ।
अमेरिकाको सङ्गीतको तालमा आप्mनो प्रस्तुति गर्ने दक्षिणपन्थी नेताहरू भेनेजुयलामा अवैधानिक सत्ता परिवर्तनको पक्षमा उभिएका छन् । नेता गुइएदोलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरी माडुरोलाई पूर्वराष्ट्रपति घोषणा गर्नुले दक्षिण्पन्थीहरूको योजना के हो भन्ने अर्थ लगाउन कठिन छैन । उनको यो घोषणा संविधानसम्मत छैैन । तिनीहरू भेनेजुयलाको सङ्कट समाधान गर्न राष्ट्रपतिको आलोचना वा विरोध गरिरहेका छैनन् । गुइएडोले अमेरिका र उनका पिछलग्गू देशहरूको भरमा सत्ता विप्लवको प्रयास गरेको भए तापनि माडुरो एक्लै नभएको कुरा दिन प्रतिदिन उनको पक्षमा आएको राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थनको समाचार देखाएको छ । बोलिभारियाली समाजवादप्रति संसारभरका जनताले ऐक्यबद्धता व्यक्त गरेका छन् ।
विकासोन्मुख र सार्वभौम मुलुक भेनेजुयलामा पँुजीवादी अमेरिका र दक्षिणपन्थीहरू मिलेर जुन सङ्कट निम्त्याइँदै छ त्यस्तो सङ्कट सार्वभौम मुलुक नेपालमा पनि नआउला भन्न सकिन्न । पँुजीवादी देशहरूले आफ्नो मुलुकलाई जोगाउन पनि अन्य मुलुकमा अशान्ति र अस्थिरता निम्त्याउन हरदम प्रयास गरिरहेका हुन्छन् । आज नेपालले पनि सार्वभौमसत्ता सम्पन्न मुलुकमा भएको बाहिरी हस्तक्षेपको नेपालले विरोध गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *