सोमबार फेब्रुअरी ४ । संसारभर जनचेतनामूलक र प्रचारात्मक गतिविधि गरी विश्व क्यान्सर दिवस मनाइयो । यो वर्षको मूल नारा रह्यो, ‘आई एम एण्ड आई विल ।’ अर्थात् ‘म छु र म गर्छु ।’ सन् २००८ मा जारी भएको विश्व क्यान्सर घोषणापत्रको लक्ष्य हासिल गर्न हरेक वर्षको फेब्रुअरी ४ को दिन अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण सङ्घको आह्वानमा क्यान्सर दिवस मनाइने थालेको हो ।
सन् २०१६ मा सार्वजनिक एक तथ्याड्ढअनुसार नेपालमा हरेक वर्ष झण्डै तीस हजार क्यान्सर रोगी पहिचान हुने गरेका छन् । तीमध्ये दस हजार रोगीमात्र उपचारको लागि अस्पताल पुग्ने गरेका छन् । बीस हजार रोगी उपचारको लागि अस्पताल नै पुग्ने गरेका छैनन् । क्यान्सर रोगका बिरामीमध्ये ४५ प्रतिशत पुरुष र ५५ प्रतिशत महिला हुने गरेका छन् । नेपालमा विशेषतः फोक्सो, स्तन, पाठेघर र पेटको क्यान्सर बढी हुने गरेको तथ्याड्ढले देखाएको छ ।
पछिल्लो समय क्यान्सरका रोगी अत्याधिक बढ्नुको मूल कारणमध्ये खानेकुरामा अखाद्य वस्तुको मिसावट पनि हो । तेल, फलफूल, तरकारी, मरमसला, दूध, मिठाई आदिमा हुने अखाद्यवस्तुको मिसावटका कारण मानिसमा क्यान्सर लाग्ने सम्भावना बढ्दो छ । धूमपान र मद्यपान पनि क्यान्सरको मूल कारण हो । सहरी क्षेत्रको प्रदूषण पनि क्यान्सरको कारण भइरहेको छ । व्यस्त र एकलकाँटे जीवनपद्धतिका कारण पनि मानिस क्यान्सरको शिकार भइरहेका छन् । निजी अस्पतालले नाफाको लागि आवश्यकताभन्दा बढी अनावश्यक औषधि खुवाउँदा पनि कतिपय मानिस क्यान्सर भएर अनाहकमा जीवन गुमाइरहेका छन् ।
जनताको स्वास्थ्य राज्यको दायित्व हो । संविधानले समाजवादउन्मुख राज्यको परिकल्पना गरेको अवस्थामा नेपाली जनताको स्वास्थ्यको ख्याल गर्ने जिम्मा राज्यको हो । तर, विडम्बना आज जनताको स्वास्थ्य नाफा कमाउने माध्यम बनिरहेको छ । सरकारले सुविधासम्पन्न र धेरै बिरामीको उपचार गर्नसक्ने अस्पतालको व्यवस्था गर्न सकेको छैन । सरकारले अस्पताल स्थापना गर्न नसक्दा निजी क्षेत्रले फाइदा उठाइरहेका छन् । क्यान्सर रोगको उपचार महङ्गो हुने भएकाले आर्थिकरूपमा विपन्न परिवारको कोही सदस्यलाई क्यान्सर हुनु भनेको भएको थोरै सम्पति रित्याउनुका साथै परिवारको विजोग पनि हुने गरेको छ । सरकारले विपन्न जनताका नाममा तोकेको सुविधा पनि भरपर्दो र सुलभ नहुँदा सरकारी प्रतिवेदनमै मात्र बढी सीमित देखिएको छ ।
सरकारले क्यान्सरको उपचारको लागि पूर्वाधार निर्माण गर्न पुग्दो ध्यान नदिएको मात्र होइन, क्यान्सर हुनै नदिन आवश्यक काम पनि गर्न सकेको छैन । खानेकुरामा मिसावट, प्रदूषण नियन्त्रण, धूमपान र मद्यपानमा नियन्त्रण, जीवनपद्धतिमा परिवर्तन आदिमा सरकारले ध्यानै दिएको छैन । तरकारी र फलफूलमा अत्याधिक विषादिको प्रयोग र आवश्यकताभन्दा बढी औषधिको प्रयोगमा सरकारले रोकथाम गर्ने बन्दोबस्त गर्न जरुरी छ । बढ्दो क्यान्सर रोगीसँगै उपचारको लागि क्यान्सर उपचारका अस्पताल स्थापना गर्नुपर्छ । भएका सरकारी र सामुदायिक अस्पतालको विस्तार र स्तरोन्नतिमा ध्यान दिनुपर्छ ।
काठमाडांै उपत्यकामा क्यान्सरका धेरै रोगी उपचारका लागि आउने गरेको भक्तपुर क्यान्सर अस्पताल नेपाल अर्बुद्ध रोग निवारण संस्थाअन्तर्गत सञ्चालनमा छ । तर, त्यहाँका प्रयोगशालादेखि अन्य सुविधा सबै निजी क्षेत्रलाई ठेक्कामा दिइएको छ । त्यहाँको फोहोर मैला व्यवस्थापनको जिम्मेवारीसमेत एउटा गैरसरकारी संस्थालाई ठेक्कामा दिइएको छ । बाहिरबाट हेर्दा अस्पताल सामुदायिक देखिए पनि भित्र सबै निजी वा ठेकेदारीमा सञ्चालन भइरहेका छन् । सञ्चालक समितिका पदाधिकारीहरू सो हैसियतमा बेलाबेला विदेश भ्रमणमा गइरहने तर अस्पतालको अवस्था भने क्रमशः ओरालो लाग्ने अवस्थामा छ । यसमा निवारण संस्था, स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले समेत ध्यान दिन आवश्यक छ ।
सामुदायिक अस्पताल सबै सुक्दै जाने र कमजोर व्यवस्थापनका कारण भद्रगोल बन्दै जाने अनि निजी अस्पताल फस्टाउँदै जानु गरिब तथा विपन्न जनताको लागि दुःखको कुरा हो ।