भर्खरै :

प्रम ओलीलाई बोल्न पाए पुग्छ

– मेरिना शाक्य
ओली सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’ को सपना त बाँड्यो । तर, त्यसको आधारबारे स्पष्ट पारिएको छैन । प्रधानमन्त्री केपी ओलीले शनिबार सिरहाको एक कार्यक्रममा पाँच वर्षभित्र देश समृद्ध बनाउने प्रतिबद्धता गरे । कुन स्थितिमा पुगेपछि देश समृद्ध बन्छ ? कुनै आधार छैन । के पाँच वर्षपछि देश समृद्ध बन्यो भनेर सरकारले फुके पुग्छ ? फुक्ने बित्तिकै सपना पूरा हुने भए नेपाल विश्वकै नमुना देश बन्छ भनेर फुके पनि के फरक प¥यो ? सत्तारुढ दलका नेता र मन्त्रीहरूले संसारकै नमुना देश बनाउने आश्वासन बाँड्दै आएका हुन् क्यारे ¤
देश आत्मनिर्भर नभएसम्म समृद्ध बन्ने छैन । तर, देशलाई आत्मनिर्भर बनाउने सरकारको कुनै योजना छैन । जनताका आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ सरकारले कुनै नयाँ उद्योग खोल्ने काम गरेको छैन । अरु त के कुरा कृषिप्रधान देशमा एउटा रासायनिक मल कारखाना स्थापना गरिएको छैन । नेपालमै रासायनिक मल कारखानाको बन्दोबस्त भए मल सर्वसुलभ हुन्थ्यो र उत्पादन बढ्थ्यो । मल कारखाना देशको ठूलो आम्दानीको स्रोत बन्थ्यो । तर, नेपाल भारतनिर्भर देश बनिरहेको छ । भारतनिर्भर देश कसरी समृद्ध बन्छ ?
ओलीलाई बोली भए पुग्छ । बोलीमा नेपाल सुन्दर बनिसकेको छ, कुनै नेपाली भोकानाङ्गा छैनन् । भोकानाङ्गा भएर मर्नुपरेको छैन । बोलीमा भ्रष्टाचार र अनियमितता पनि भएको छैन । प्रम ओलीको बोलीमा नेपालमा समाजवाद छिट्टै स्थापना हुन्छ । बोलीमा कम्युनिष्ट पार्टीको सरकार छ । बोलीमा देशले विकासमा काँचुली फेरिरहेको छ । हरेक दिन नयाँ–नयाँ काम, नयाँ–नयाँ चिन्तन र सोहीअनुसार सफलता पाइरहेको छ– ओलीको बोलीमा । तर, यथार्थ अर्कै छ ।
सत्तारुढ दलका नेता र मन्त्रीहरूको बोलीमा यहाँ केहीको कमी छैन । यहाँ बोलीमा सुशासन छ, विधिको शासन छ । बोलीमा प्रधानमन्त्री ओली शासक होइनन्, सेवक हुन् । बोलीमा यहाँ विनाआन्दोलन र सङ्घर्ष आमूल परिवर्तन हुन्छ, समाजवाद स्थापना हुन्छ । समाजवाद स्थापना भएपछि नेपाली जनता किन भोकानाङ्गा हुन्छन् र खान, लाउन नपाएर किन मर्छन् ? सीमा अतिक्रमणको त नेपाल सरकारले बोल्नै पर्दैन । भारतीय थिचोमिचो र दबाबको विरोध ग¥र्यो कि पोल्ला भनेर केही भन्नै पर्दैन । यसरी नेपाल दासीहरूको मुलुकझैं भइरहँदा पनि बोल्ने हिम्मत नगर्नु के कायरताको लक्षण होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *