भर्खरै :

झ्याल थुनेर संसार अँध्यारो हुँदैन

साम्राज्यवादी र विस्तारवादी देशहरू स–साना स्वतन्त्र र सार्वभौम देशहरू निलेर अघाउँछन् र संसारमा प्रभुत्व जमाउँछन् । आफूले भनेको, गरेको काम र विचारमा अन्ध समर्थन नगरेको निहुँमा अनेक षड्यन्त्र रच्छन्, भए नभएका कुरा गुनेर झूटको खेती गर्छन् । साम्राज्यवादी देश अमेरिकाका राष्ट्रपति ट्रम्पले सार्वभौम देश नेपाललाई भारतको भूमि हो भन्नु अल्पज्ञान र साम्राज्यवादी चिन्तनकै नतिजा हो । विश्वको भूगोलमा स्वतन्त्र र सार्वभौम देश नेपाल अङ्कित हुँदाहुँदै नेपाल भारतकै भूमि हो भन्नु औंलाले सूर्यलाई छेक्ने दुस्प्रयास हो, यो आफ्नो झ्याल थुनेर संसारलाई अँध्यारो बनाउने मूर्खताबाहेक अरु केही होइन ।
पहिले भारतीय शासकहरू पनि नेपाललाई भारतको प्रान्त भन्थे, नेपाल भारतमा मिलाउनुपर्ने भन्थे । त्यो प्रयास असफल भएपछि भारतीय शासकले नेपालमा नेपाली नागरिकभन्दा भारतीय नागरिकहरूको सङ्ख्या बढाउने उद्देश्यअनुरूप या भारतीय स्वार्थ पूरा गर्न नागरिकता विधेयक ल्याउन दबाब दियो । नेपाल–भारत सीमा नाका खुला भएको ठाउँमा जन्मको आधारमा विदेशीलाई नेपाली नागरिकता दिने सरकारको कामले भारतको स्वार्थ पूरा गरेको छ । अहिले नै लाखौँलाख भारतीय नागरिकहरूले नेपाली नागरिकता लिइसकेका छन् । यो सङ्ख्या दिनानुदिन बढ्दै छ । यसरी नै बढ्दै गएमा भोलि भारतीय नागरिकहरू नेपाली नागरिक भएर सांसद बन्न के बेर, मन्त्री बन्न के बेर !
भारतीय शासकमात्र होइन अमेरिकी शासक ट्रम्प पनि नेपाललाई भारतको भू–भाग देख्नु विस्तारवादी शक्तिकै हितमा छ । ट्रम्पले आफ्ना गुप्तचर अधिकारीसमक्ष नेपाल भारतकै भू–भाग भनेको विषयमा नेपाल सरकारले तुरुन्तै विज्ञप्ति निकालेर आपत्ति जनाउनुपर्छ र सो अभिव्यक्ति फिर्ता लिन लगाउन कूटनीतिक उपाय अपनाउनुपर्छ । जसरी भेनेजुयलाको विषयमा संरा अमेरिकाका लागि नेपालका राजदूतलाई स्पष्टीकरण सोधिएको थियो, त्यसरी नै ट्रम्पको सो भनाइबारे नेपालका लागि संरा अमेरिकी राजदूतसँग नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुपर्ने हो । एउटा शासकले कुनै एउटा देशलाई अर्कै देशको भू–भाग भन्नु आपत्तिजनक छ, निन्दनीय छ । यसबारे नेपाल सरकार मुखमा दही जमाएर बस्नु उचित हुँदैन । अमेरिकाले आर्थिक सहयोग या विकास निर्माण कार्य रोक्ने निहुँ खोज्यो भनेर नेपाल चुप लागेर बस्नुहुँदैन ।
ट्रम्पको उक्त आपत्तिजनक भनाइको संयुक्त राष्ट्र सङ्घले विरोध गर्नुपर्छ, संसारका न्यायप्रेमी शासकहरूले त्यसको विरोध गर्नुपर्छ । कतै ट्रम्पले शक्ति राष्ट्रको मातमा चढेर असन्तुलित विचार व्यक्त गरेका होइनन् ? जिम्मेवार पदमा बसेका पदाधिकारीले आफूले नजानेका विषयमा चुप लाग्नु बुद्धिमानी हो वा विज्ञहरूका कुरा सुन्ने धैर्यता राख्नुपर्छ । गुप्तचरी बैठकमा सहभागी विषयविद्हरूलाई आफूभन्दा अबुझ ठानी कुनै देशका जनताको भावनामाथि चोट पुग्ने गरी गलत अभिव्यक्ति दिनु सर्वथा गलत हो ।
गोरु बुढो भए भीर खोज्छ, मानिस बुढो भए निहुँ खोज्छ भनेजस्तै ट्रम्पले के संसारका जनताको भावनामाथि एकपछि अर्को घटनामा अपमान गरेर जनताको शक्तिसँग निहँु खोजेका हुन् ? ट्रम्पका यस्ता व्यवहारले विदेश भूमिमा मात्र होइन आफ्नै देश र सरकारभित्रै शत्रु हुर्काइरहेको छ । ट्रम्पको सरकारबाट आजसम्म धेरै सल्लाहकार, सचिव र सहयोगीहरूले दिएको राजीनामाले पनि उनी क्रमशः एक्लिंदै गएको प्रस्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *