भर्खरै :

दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता

कम्पाला, २३ माघ  ः दक्षिणी सुडानका झण्डै २० हजार शरणार्थी स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रसङ्घीय एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको प्रभावले उनीहरु स्वदेश फर्किएका हुन् ।
दक्षिणी सुडानबाट विस्थापित भएर युगाण्डा पुगेका उनीहरु स्वतः स्फुर्तरुपमा स्वदेश फर्किएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।
शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्च आयोगका तर्फबाट युगाण्डामा रहेका प्रतिनिधि जोएल बौट्रोयले २० हजारभन्दा बढी शरणार्थी घर फर्किएको जानकारी दिनुभएको हो ।
“सरकारले स्वदेश फर्किनेहरुको सङ्ख्या हामीले भनेको भन्दा धेरै बढी रहेको दाबी गरेको छ, तर हामीले भने २० हजारको हाराहारीमा शरणार्थी स्वदेश फर्किएको पाएका छौँ,” उहाँले भन्नुभयो ।
युगाण्डामा अहिले झण्डै १२ लाख शरणार्थी रहेका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै शरणार्थी हुन् । तीमध्ये सात लाख ८९ हजार ९९ शरणार्थी छिमेकी मुलुक दक्षिणी सुडानबाट आएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *