भर्खरै :

श्रमजीवी जनताको मन–मनमा माक्र्स

बेलायतको राजधानी लण्डनस्थित हाइगेटमा रहेको विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको समाधिमा रहेको मार्बलको शिलालेखमाथि भएको तोडफोड निन्दनीय र अराजक अपराध हो । संसारलाई वैज्ञानिक दर्शन र न्यायपूर्ण समाजको विचार दिने, आफ्नो समयका मात्र नभई आजका र दुरभविष्यसम्मका महान् व्यक्तित्वको सम्मानमा बनाइएको समाधिमाथिको हमला विश्वका श्रमजीवी जनताको भावनामाथिको हमला हो । माक्र्सको द्विशतावार्षिकीको अवसरमा संसारभरका कामदार जनताले आयोजना गरेका विभिन्न गतिविधिले उनको विचार अझ लोकप्रिय बनेको छ । आज विश्वमा फैलिएका शोषणमा आधारित प्रतिक्रियावादी विचार विरुद्धको सङ्घर्ष माक्र्सवाद नै सबभन्दा उपयोगी वैचारिक औजार बनिरहेको छ । पुँजीवादको असफलतासँगै माक्र्सले अघि सारेको विचार अझ सान्दर्भिक बनिरहेको छ र उनले नै देखाएको नयाँ न्यायपूर्ण विश्व आकर्षित बनिरहेको छ । यस्तो अवस्था निःसन्देह संसारका शोषक, नाफामुखी वर्गको लागि असह्य बन्नु आश्यचर्यको कुरा होइन । माक्र्सको लोकप्रियता बढ्नुको अर्थ उनीहरूको स्वर्गमाथि हमला हुनु हो । आफ्नो स्वर्ग रक्षाको लागि उनीहरू माक्र्सवादजस्तो क्रान्तिकारी विचारलाई पराजित गर्न खोजिरहेका हुन्छन् । माक्र्सको विषयमा अनेकन भ्रामक कुरा प्रचार गरेर, माक्र्सको विचारमा तोडमोड गरेर, माक्र्सको बदनाम गरेर उनीहरू माक्र्स र माक्र्सवादलाई जरैदेखि उखेल्ने प्रयास यसअघि देखि भइरहेको छ । तर, माक्र्सको वैज्ञानिक विचार खुम्चिनुको सट्टा अझ व्यापक बन्दै गएको यथार्थले उनीहरूलाई पोल्ने गरेको छ ।
आज माक्र्सको विचारबाट डराएकाहरू माक्र्सका भौतिक सालिकबाट समेत डराउन थालेका छन् । उनीहरू माक्र्सको सम्झनामा स्थापना गरिएको शिला र स्मारकदेखि नै डराइरहेका छन् । वर्षको दसौं हजार संसारभरका मानिसले भ्रमण गरी माक्र्सप्रति श्रद्धार्पण गर्ने हाइगेटस्थित माक्र्सको समाधिमाथिको हमला माक्र्सका विचारबाट डराएका पुराना विचारका मानिसहरूको कायरतापूर्ण दुष्प्रयास हो । यो हमलाले संसारमा माक्र्सवादी विचारको लोकप्रियता अझ व्यापक बन्दै गएको पुष्टि गरेको छ । माक्र्सको समाधि र शिलामाथिको हमलालाई केही मानिसले आफ्नो ठूलो विजयको रूपमा अथ्र्याएको हुनसक्छ । तर, कुनै शिलामाथि हमला गर्दैमा विचारको विशिष्टतामा कसैले खोट लगाउन सक्दैन । माक्र्सको समाधिमाथि हमला गर्दैमा संसारबाट माक्र्सवाद र माक्र्सको विराट र विस्तारित विचारलाई कसैले उपेक्षा गर्नसक्दैन । माक्र्सवादलाई दुत्कार्दैमा पुँजीवादको अवश्यम्भावी अवसानलाई कसैले रोक्नसक्दैन । आज माक्र्सले झण्डै साढे एक शताब्दीअघि प्रतिपादन गरेको विचार सही साबित हुँदै गएको छ । पुँजीवादी व्यवस्था क्रमशः कमजोर र अन्तर्विरोधमा फस्दै गएको छ । पुँजीवादी युद्धले पुँजीवादी व्यवस्थालाई सड्ढटमा धकेल्दै लगिरहेको छ ।
पुँजीवादी विचारका पक्षपातीहरूले माक्र्सलाई जीवित छँदै पनि कहिल्यै सुखका साथ बाँच्न दिएनन् । गिरफ्तारी, देश निकाला, आर्थिक अभावबीच नै माक्र्सको जीवन बित्यो । तर, हजार प्रतिकूलबीच पनि पुँजीवादको अन्यायपूर्ण चरित्रबारे विचार सम्प्रेषण गर्न छोडेनन् । शोषणमा आधारित बन्दोबस्तको विकल्पको रुपमा वैज्ञानिक समाजवाद र साम्यवादी व्यवस्थाको अवश्यम्भाविताबारे आजीवन लेखिरहे, सङ्घर्ष गरिरहे । १ सय ३६ वर्षअघि निधन भएका माक्र्सलाई आज पनि पुँजीवादी र प्रतिक्रियावादी व्यवस्थाले दुःख दिन छोडेको छैन । तथापि माक्र्सको विचारलाई जीवन आदर्श मान्ने युवा पुस्ता पनि जन्मन रोकिएको छैन । माक्र्सले काम गरेको देशमा मात्र होइन, आज एसिया, ल्याटिन अमेरिका, अफ्रिका, अमेरिकाका दुर्गम भूगोलमा पनि काम गरिरहेका छन् । माक्र्सको प्रतिमा संसारका कामदार जनता र न्यायप्रेमी जनताको मन मनमा जीवित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *