भर्खरै :

नगरपिताहरूको ध्यानाकर्षण

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रिय नगरपिताहरू !
हाम्रा प्राचीन नगरहरूको विकास हुँदा आजका मोटर र ट्रकहरू थिएनन् । साथै हाम्रा नगरका जनसङ्ख्या पनि थोरै–थोरै थियो ।
थाहा पाएर वा नपाएर हामी नेपालीहरूले राजमार्गहरूलाई समेत नगर र आवास क्षेत्रका सडक सम्झ्यौँ । नारायणघाट, बुटवल, भैरहवा बजार आदिका मार्गहरू निश्चय पनि राजमार्ग नै हुन् । ती राजमार्गका दायाँ–बायाँ नजिक–नजिकमा आवास क्षेत्रहरू बनाउन दिनु हुने थिएन । दुर्घटना, पेट्रोलियम पदार्थको धुलो–धुवाँ र प्रदूषणलाई हामीले नै निम्त्याएका छौँ ।
हामी दक्षिण एसियालीहरू अचम्मका छौँ, भारतमा रेल गुडेको २०० वर्ष भयो होला (!) तर गएको दशहरामा भारतको एक प्रान्तमा रावणको पुतला जलाउने कार्यक्रम रेलको बाटोको नजिकै गरिएको थियो । रावण दहनको बेला पट्का र भूइँचम्पा पड्काई खुसियालीमा रेलको बाटोमाथि मानिसहरूको भीड पुग्दा नजिकबाट आइरहेको रेलको खबरदारीको सिटी र प्रकाशसमेत सुनेनन् र देखेनन् । फलतः दर्जनौँ मानिस मर्नुका साथै सयौँ घाइते भए ।
यसबाट थाहा हुन्छ – राजनैतिक दलहरू खासगरी शासक दलहरूले निर्वाचनको बेला जनतालाई नागरिक भावनाहरूबारे केही बताएनन् – दशकौँ दशकसम्म ।
पुनः, म भारतमै फर्कन्छु – भर्खरै जापानको सहयोगमा पुना र बम्बईतिर अत्याधुनिक शीघ्रत्तर कुद्ने रेल जडान ग¥यो । रेलमा यात्रुहरूको निम्ति रेडियो, टीभी र अन्य तकिया, ओछ्यान र यात्रालाई आरामदायी बनाउने साधनहरू जडान गरियो । तर, २–३ महिनाभित्रै ती सामानहरू यात्रुहरूले झिक्दै लगे, केही बिगारी लगे, मानौँ लडाइँमा शत्रुको सम्पत्तिलाई धूलो–पीठो पारिएको होस् ।
यस घटनाका दोषी को हुन् ? हामी जनताका प्रतिनिधि, नगरपिता र राजनैतिक दलहरू नै हुन् । किन ? किनभने हामीले झूट बोलेर, सामान बाँडेर निर्वाचनको बेला मत माग्यौँ । तर, सार्वजनिक सम्पत्तिलाई प्रेम गर्न कहिले सिकाएनौँ, विद्यालयस्तरको पाठ्यपुस्तकमा त्यसबारे कुनै एक शब्द लेखेनौँ । विकसित देशका कति स–साना नानीहरूको पुस्तकमा बाटो काट्ने जेब्रा क्रसिङ्गबारे समेत चित्र वा गीतले सिकाइएको हुन्छ । यसबारे पनि नगरपिताहरूको ध्यान जानु आवश्यक छ । सत्य के हो भने – सबै जादूजस्तै हुँदैन, समय लाग्छ, आज गरेन भने समय अझै बढी लाग्नेछ ।
प्रिय नगरपिताहरू,
‘स्मार्ट सिटी’ एक हास्यव्यङ्ग भयो । बरू सरलरूपमा भनौँ – राजमार्गबाट हाम्रा नयाँ –नयाँ आवास ५–१० मिनेटको दूरीमा होस् । आवास क्षेत्रमा ठूलठूला ट्रक, बस र ट्रिपरहरू चल्न निषेध गरेको सूचनापाटी अहिलेदेखि लगाऔँ र अटेर गर्ने त्यस्ता गाडीहरूलाई धेरै–धेरै जरिवाना र सजाय तोकौँ ।
आवास क्षेत्र, अस्पताल र विद्यालय क्षेत्रमा समेत सड्ढेत पाटीहरू राखेर धुवाँ–धुलो नियन्त्रणको अभियान सुरू गर्न छलफल गरौँ र जनतालाई शिक्षित गरौँ ।
ट्रिपर, ठूलठूला मालबाहक गाडी र ठूलठूला बसहरू आवास क्षेत्रमा गुडाउन दिँदा तलका क्षतिहरू भएका छन् –
क) खानेपानीको पाइप बरोबर फुटी जनता र विद्यालयका सयौँ विद्यार्थीहरूले पानी खान नपाउने र फोहर सफा गर्न नपाउने ।
ख) पीच र सडक बरोबर भत्कने, धुलो–धुवाँले जनता हैरान हुने, रोग फैलिने ।
ग) तार–टेलिफोन र बिजुलीको तारसमेत चुँडिने सम्भावनाहरू भइरहने ।
घ) ढलहरू फुटेर आवास क्षेत्र दुर्गन्धित हुने, महिनौँसम्म मर्मत सम्भार नहुने । यसो हुँदा ठूल–ठूला भवनमा बस्ने सम्पन्न परिवारहरूले समेत ‘नर्कमा बास भयो’ भनी नगरपालिकाहरूलाई नै गुनासो गर्ने गर्छन् ।
अतः त्यसप्रकार हुने वा भइरहेका क्षतिलाई कम गर्न वा रोक्न निम्नानुसारका उपाय अपनाउनु उपयुक्त हुनेछ ः–
क) धुलो–धुवाँ फैलने कारखाना तथा गिटी, बालुवाको ओसारप्रसार र रात–दिन चल्ने त्यस्ता डिपो तथा मोटर पार्किङ आवास क्षेत्रमा राख्न निषेध गरिनुपर्दछ ।
ख) आवास क्षेत्र गोदाम र उद्योग क्षेत्र होइन, गिटी–बालुवा र इँटा भट्टाको डिपो पनि हुनु भएन ।
ग) सहर वा नगरका बासिन्दा तथा कारखाना, खानी र अन्य धुलो–धुवाँ फाल्ने पेशा फरक हुन्छ भनी जनतालाई सचेत पार्नु आवश्यक छ ।
घ) सहर–बजार तराईको गाउँको ‘माछा बजार’ हुनु भएन, जहाँ फोहर, हो–हल्ला र घुइँचो हुने स्थान होस् ।
ङ) सडकमा गाडी, मोटरसाइकल सबै व्यवस्थित हुनु आवश्यक छ ।
च) तरकारी पसल, फलफूल पसल र अन्य सामान सडक पेटीमा राखेर बेच्ने काम बन्द गराउनु आवश्यक छ ।
छ) फलफूल र तरकारी पसलसँग पैसा उठाई खानेहरूलाई तत्काल कारबाही गर्नु आवश्यक छ । २–४ जना व्यक्तिले समाजलाई अप्ठेरो पार्न र फोहर गर्न दिनु भएन ।
नगरपिताहरूले माथिका विषयमा ध्यान दिई जनतालाई सुसूचित गर्न पाए हाम्रा नगरहरू सफा र व्यवस्थित हुनेछन् एवम् हाम्रा नगरका नागरिकहरू पनि सभ्य र स्वस्थ हुनेछन् ।
धन्यवाद !
– एक जिम्मेवार नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *