भर्खरै :

सैनिक हस्तक्षेप अस्वीकार्य

संयुक्त राष्ट्र सङ्घ, ७ फेब्रुअरी । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले दक्षिण अमेरिकी देश भेनेजुयलामाथि कुनै पनि प्रकारको सैनिक हस्तक्षेप हुन नहुने बताएका छन् । संरा अमेरिका प्रायोजित मिडिया भ्वाइस अफ अमेरिकासँग भेनेजुयलाको विषयमा कुराकानी गर्दै उनले कुनै पनि प्रकारको हिंसात्मक गतिविधिले कुनै पनि लक्ष्यको सेवा नगर्ने र कसैको हित नगर्ने बताए । संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामाथि सैनिक कारबाहीको विकल्प तयार रहेको भनी पटक–पटक बोलिरहेको अवस्थामा महासचिव गुटरेजले यस्तो भनाइ सार्वजनिक गरेका हुन् ।
उनले ल्याटिन अमेरिकामा विदेश हमला ‘इतिहासको कुरा’ भइसकेको बताए ।
बुधबार संयुक्त राष्ट्र सङ्घले राहत सामग्रीलाई भेनेजुयलामा हतियारको रूपमा प्रयोग नगर्न आग्रह गरेको छ । संरा अमेरिकाले भेनेजुयलाको सिमानामा राहत भनेर खाद्य पदार्थ र औषधि पठाएपछि राष्ट्र सङ्घले यस्तो भनाइ सार्वजनिक गरेको हो । संरा अमेरिकाले पठाएको ती सामग्री माडुरो सरकारले देशभित्र ल्याउन निषेध गरेको छ ।
यसैबीच भेनेजुयलाका विदेशमन्त्री जर्ज अरियजाले विपक्षीहरूसँग माडुरो सरकार वार्तामा बस्न तयार रहेको बताएका छन् । त्यस्तो वार्ता ‘पन्ध्र दिनभित्र’ हुनुपर्ने उनले बताए । इरानको स्पेनियाली टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा विपक्षीहरू वार्तामा आउन तयार नभएको बताए ।
“यदि विपक्षहरू तयार भए हामी कराकस, मोन्टेभिडियो वा तेहरान जुनसुकै ठाउँमा पनि वार्ताको लागि सरकार तयार छ । पन्ध्र दिनभित्र वार्तामा आउन आह्वान गर्छौँ ।”, उनले भने ।
उनले संरा अमेरिकी योजनाअनुसार सत्ता कब्जाकै बाटोमा मात्र विपक्षीहरू अघि बढ्न चाहिरहेको बताए । “तर उनीहरू पराजीत हुनेछन् ।”, उनले भने ।
विदेशमन्त्रीले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलारूपमा भेनेजुयलाको वैधानिक माडुरो सरकारविरूद्ध उत्तेजना फैलाउने काम गरिरहेको धारणा राखे ।
संरा अमेरिकाले पटक–पटक सैनिक विकल्पमा जान पनि पछि नपर्ने बोलिरहेको समयमा भेनेजुयलाका विदेशमन्त्रीले कुनै पनि अप्ठ्यारो परिस्थितिको लागि आफ्नो सरकार तयार रहेको बताए ।
भेनेजुयलाको माडुरो सरकारको समर्थनमा बिहीबार २७ वटा ल्याटिन अमेरिकी देशहरूका झण्डै पाँच सय विख्यात व्यक्तिहरूले ऐक्यबद्धता पत्र जारी गरेका छन् । उनीहरूले भेनेजुयलामा शान्ति स्थापनाको लागि शान्ति वार्ताको पहल गर्न उरूग्वे र मेक्सिकोलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *