भर्खरै :

माधव नारायणको सहस्र जलधारासहितको कलश यात्रा

भक्तपुर, २४ माघ । माधवनारायण व्रतालुहरूले कलशको सहस्र जलधारासहित बिहीबार निर्धारित स्थानहरूमा जलयात्रा गरे । हनुमानघाटबाट सुरु भएको सो जलयात्राका व्रतालुहरू तिलमाधव नारायणको दर्शन गरी तलेजु भवानी मूलचोक पुगेका थिए । तलेजु मूलचोकमा तलेजुकी लाय्कु नकीं गंगा मुनंकर्मीले तलेजुको तर्फबाट माधवनारायणको पूजा गर्नुभएको थियो ।
सो अवसरमा तलेजुका राजोपाध्यायतर्फका पुजारी नाइके उत्तमाङ्गराजका पुत्र प्रज्ञेशराज राजोपाध्यायले विधिपूर्वक एक सय आठ वटा छ्वालीको जलधारा रहेको तामाको कलश हस्तान्तरण गरी व्रतालुहरूको शिरमा राख्नुभएको थियो । यसअघि उक्त कलश काँधमा राखी व्रतालुहरूले जलयात्रा गरेका थिए । तलेजु मूलचोकदेखि सो कलश शिरमा राखेर व्रतालुहरूले जलयात्रा गरेका थिए । व्रतालुहरूलाई तलेजु भवानीका पुजारी नाइकेहरूमध्ये कर्माचार्यहरूको तर्फबाट फत्तेबहादुर कर्माचार्यका छोरा पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायतले स्वागत गरेका थिए । तलेजु भवानीका चार पुजारी नाइकेहरूमध्ये जोसीको तर्फबाट नरेन्द्रप्रसाद जोशी पनि एक हुनुहुन्छ ।
पुजारी नाइकेहरू प्रज्ञेश, पद्मलोचन र सिद्धिवीरका अनुसार तलेजु भवानीमा मूल नाइकेको पदै छैन । जलधारा रहेको सो कलश यात्रा तलेजु मूलचोकपछि सुनधारा चोक, बालाखु गणेश मन्दिर, द्वारिकानाथ, बद्रीनाथ घुमी खौमास्थित सन्तानेश्वर महादेव हुँदै इताछेँको ख्वाख्वाली नारायण दर्शन गरी सम्पन्न भएको थियो ।
बिहीबार जलयात्रा गर्ने व्रतालुहरूमा ७१ वर्षीय रत्नभक्त प्रजापति, ज्ञानकुमार दुमरु, पुण्यराम कुचुमनी, इन्द्र भेनात्व, अनिल लागे, सुजन वन र १३ वर्षीय आशिष शिल्पकार रहनुभएको छ ।
जलयात्रा गर्ने पुरुष व्रतालुहरू र महिला व्रतालुहरूले नाङ्गो खुट्टामा विभिन्न नारायण मूर्ति र मन्दिरहरूको दर्शन गरेका थिए ।
तलेजुमा मूलचोकको तीन ठाउँमा माधवनारायणको पूजा गरिएको थियो । तलेजुको दर्शन र पूजापछि व्रतालुहरू सुनधारा चोकको उत्तरतर्फ रहेको ढोकाबाट बाहिरिएका थिए ।
जलयात्रामा हनुमानघाटका पुजारी नाइकेहरू सरोजन शर्मा राजोपाध्याय र गोपाल शर्मालगायत अन्य भक्तजनहरूको सहभागिता थियो । जलयात्रामा माधवनारायणको मूर्ति पुजारी नाइके गोपाल शर्माले बोक्नुभएको थियो ।
यस्तै जलयात्रा माघ २१ गते पनि भएको थियो । पहिलो दिनको सो जलयात्रा तिलमाधव नारायण हुँदै पाँचतले मन्दिर, तालाकोको जेठा गणेश र नासमनाको डबलीमा बिसर्जन गरी पालनारायणको दर्शन गरिएको थियो ।
माधवनारायण व्रत सेवा समितिले दिएको जानकारीअनुसार अर्को कलशसहितको जलयात्रा माघ २७ गते पञ्चमीको दिन हुनेछ । त्यस दिन कलशसहितको जलयात्रा गर्ने व्रतालुहरू वाकुपतिनारायण, दत्तात्रय, इनाचो, सुकुलढोका, जगन्नाथस्थित तुलाछेंनारायण हुँदै तिलमाधव नारायणमा पुगी सम्पन्न हुनेछ । माधवनारायण व्रत सेवा समितिका सचिव लक्ष्मी रंजितका अनुसार माघ ७ गतेदेखि सुरु भएको व्रत फागुन ७ गते अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *