भक्तपुर, २५ माघ । नेमकिपाको स्थापना दिवसको अवसरमा नेमकिपा भनपा वडा नंं ८ को आयोजनामा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् भनपा प्रमुख सुनिल प्रजापतिले कार्यकर्ताहरुले नियमित अध्ययन गर्नुपर्ने बताउनुभयो ।
“जनताको काममा सधैँ प्राथमिकता दिनुपर्छ । अरूको विश्वास जित्न सक्नु आफू सफल हुनु हो”, उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले कार्यकर्ताहरुले सांस्कृतिक स्तर वृद्धि गर्न मेहनत गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद कोजूको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष महेन्द्र खायमली, शिक्षक राम प्रजापति, जीतेन्द्र खायमली र सत्यप्रसाद प्रजापतिले पनि बोल्नुभएको थियो ।
यसैबीच नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेमकिपा भक्तपुर वडा नं. ४ एकाइ समितिको आयोजनामा बिहीबार स्थानीय कार्यकर्ता भेला भयो । भेलामा बोल्दे नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपा स्थापना हुनुको मूल उद्देश्य नेपालको कम्युनिष्ट आन्दोलनभित्रका गलत विचारविरुद्धको सैद्धान्तिक सङ्घर्ष गर्नुभएको बताउनुभयो ।
उहाँले नेमकिपाले स्थापनाकालदेखि संरा अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादविरुद्ध आवाज उठाउँदै आएको चर्चा गर्दै सरकारले गरेका हरेक जनविरोधी गतिविधिको नेमकिपाले सडक र सदनबाट विरोध गर्दै आएको धारणा राख्नुभयो ।
कार्यक्रममा शिक्षक उद्धव सुजखूले नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाको भूमिकामाथि प्रकाश पार्नुभयो ।
स्थानीय वडाअध्यक्ष कुमार चवालले नेमकिपाले मोही किसानको हितमा गरेका आन्दोलनकै कारण आज किसानहरूको आर्थिक अवस्था उकासिएको प्रस्ट पार्नुभयो । कार्यक्रममा न्हुछेराम भेले, विजय लोहलाले पनि बोल्नुभएको थियो ।