नेपाली साहित्य र संस्कृतिसम्बन्धी पुस्तक प्रकाशनको अग्रणी संस्था साझा प्रकाशन आजभोलि मर्नु न बाँच्नुको दोसाँधमा परेको छ । पटक–पटकको नेतृत्व विवादका कारण साझाले नयाँ–नयाँ पुस्तक प्रकाशन गर्न बन्द गरेको मात्र होइन, पहिले प्रकाशन गरिसकेका पुस्तकहरू पनि चिसो गोदाममा थन्किएका छन् । विभिन्न जिल्लामा खोलिएका साझा प्रकाशनका पसलहरू अधिकांश बन्द भइसकेका छन् । साझा प्रकाशनमा आफ्नो सेवाबापत तलबको लागि भइरहेको कर्मचारी आन्दोलन निरन्तर चलिरहेकै छ । साझाले विगतमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्ने पाठ्यपुस्तकहरू जिल्ला–जिल्लामा वितरण गर्ने गथ्र्यो । तर, आज पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मेवारीबाट जनक शिक्षालाई क्रमशः विमुख बनाएपछि पाठ्यपुस्तक वितरणको जिम्मेवारीबाट पनि साझा मुक्त भएको छ ।
हरेक पटक सरकार परिवर्तनसँगै साझामा भागवण्डाको आधारमा नयाँ–नयाँ नेतृत्व आउने र त्यसरी आएका नेतृत्व स्वयम् निजी प्रकाशन गृहका मालिक हुँदा साझा भने क्रमशः ओरालो लाग्दै गइरहेको हो । शासक दलको सिफारिसमा महाप्रबन्धक बनेका मानिसहरूको उद्देश्य नै साझा प्रकाशनलाई रसातलमा पु¥याएर आफ्नो नाफामुखी निजी व्यवसाय प्रवद्र्धन गर्ने भएपछि साझाको भलो कसरी हुनसक्छ ? साझाको घुम्ने कुर्सीमा बसेर आफ्नो प्रकाशन गृहको नाफा गन्ती गर्ने ‘नमकहराम’ हरूकै कारण आज साझाको यो दुरवस्था भएको हो ।
सरकारमा गएका राजनीतिक दलबीचको घिनलाग्दो भागवण्डाको राजनीति नै अहिलेको अवस्थाको निम्ति प्रमुख दोषी हो । आफ्नो वरपर मीठो वचन बोल्ने, चेपारे घस्ने र चाप्लुसी गर्ने मानिसलाई नै काखी च्याप्ने शासक दलका नेताहरूले साझाको मर्म, भावना र गरिमाअनुसारका व्यक्तिहरूलाई बिना राजनीतिक पूर्वाग्रह मनोनयन गरेका भए यो अवस्था आउने थिएन । चुनावमा चन्दा दिएको, आफ्नो अन्ध समर्थन गरेको, चाकडी गरेको भरमा ठीक र बेठीक, योग्य–अयोग्यको ख्याल नगरी मनोनयन गर्दा साझाजस्तै देशका धेरै सरकारी निकायको हालत उँधोलाग्दो छ ।
साझा चहकिलो भएसम्म निजी प्रकाशनको भविष्य अँध्यारो हुने वास्तविकताका कारण आज इतिहास बोकेको त्यो संस्थालाई जसरी पनि डुबाउने खेलमा धेरै निजी पुँजीका पक्षपातीहरू लागिरहेका छन् । साहित्य प्रकाशनमा निजी क्षेत्रको प्रभाव हावी बन्दा अहिले बजारमुखी साहित्यले बढी प्राथमिकता पाउने गरेको देख्दै छौँ । कुन पुस्तकको प्रकाशन देश र समाजको लागि आवश्यक छ भन्ने आधारमा भन्दा कुन पुस्तक प्रकाशन गर्दा बढी नाफा आउन सक्छ भन्ने आधारमा पुस्तक प्रकाशन भइरहेका छन् । साहित्य आज सभ्यता र विचारको आधारमा भन्दा बजार र नाफाको आधारमा प्रकाशन हुने गरेका छन् । यसले वास्तवमा गुणस्तरीय साहित्य ओझेलमा परिरहेका छन् ।
कुनै पनि देश कति समृद्ध र सभ्य छ भन्ने कुराको मापन भनेको साहित्यको गुण नै हो । गुणवत्ता साहित्य भएको समाज नै सभ्य र अगाडि बढेको समाज हो । नेपाली साहित्यको विकासमा साझा प्रकाशनको अतुलनीय योगदान छ । नेपाली साहित्यका धेरै सिद्धहस्त लेखकहरू साझा प्रकाशनजस्ता संस्थाकै भरमा साहित्य सेवामा जीवन बिताएका छन् । आज त्यही संस्था विकृत बन्दा नेपाली साहित्यका ती मुर्धन्य हस्तीको अपमानमात्र भएको छैन, नयाँ पुस्ताको उक्लने बाटोसमेत अवरोध भएको छ ।