– सुरज सिंह
नेपालको युवा–विद्यार्थी आन्दोलनले अधिकांश समय जायज मुद्दा नै बोक्ने गरे पनि आन्दोलनको एउटा कमजोरी रहने गरेको छ – सरकारी सम्पत्तिको नाश । यो कमजोरी वा विध्वंसात्मक प्रवृत्तिले आन्दोलनकै बदनामी गर्ने गरेको छ । व्यवस्था वा सरकारको विरोधमा आन्दोलन गर्नुको अर्थ सम्पूर्ण जनताकै स्वामित्व भएका सरकारी गाडी, सडक छेउको रेलिङ, आकाशे पुल, कलेज र विद्यालय भवन, सरकारी कार्यालय भवन आदि जलाउनैपर्छ भन्ने होइन । आन्दोलन चर्काउन टायर बाल्नु जरूरी छैन, जनताको मनमनमा आन्दोलनको माग जायज र जरूरी छ भन्ने जागृत गराउनु बढी जरूरी छ ।
सन्दर्भ नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन – नेपाल विद्यार्थी सङ्घले सरकारविरूद्ध आन्दोलनको नाममा गरेको सरकारी गाडीको आगजनीको हो । सरकारी सम्पत्तिको दुरूपयोग गर्नुहुँदैन र व्यक्तिगत काममा सरकारी गाडी प्रयोग गर्नुहुँदैन भन्ने माग सही छ । सरकारी गाडी कुन प्रयोजनमा प्रयोग भइरहेको हो बुझ्दै नबुझी रोकेर आगजनी गर्नु कस्तो राजनीतिक सुझबुझ हो ? कुन राजनीतिक आन्दोलनको मार्गनिर्देशन हो ? संयोगले गाडी जलाएकाहरू पक्राउ परे र सरकारी सम्पत्ति क्षति पु¥याएकोमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरियो । अहिले आन्दोलन र नेका पार्टीको दबाबको आधारमा ती पक्राउ परेकाहरू छाडिएका छन् । तर यस्तो दण्डहीनताले स–सानो निहुँमा सरकारी र सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने र विध्वंश निम्त्याउने प्रवृत्तिलाई टेवा मिल्न जानेछ । गैरजिम्मेवार ढङ्गले आक्रामक र विध्वंसात्मक क्रियाकलाप गर्नेहरूको मनोबल उच्च हुन जानेछ । राजनीतिक नेतृत्वसति प्रश्न गर्नुपर्ने भएको छ – के सरकारी र सार्वजनिक सम्पत्तिको नाश गर्नु नै आन्दोलनको सफलता हो ?