–हर्षबहादुर केसी

साम्राज्यवादी अमेरिका तथा उसका पिछलग्गू देशका शासकहरूले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेर हिंसात्मक गतिविधि मचाउने बीउ छरेपछि भेनेजुयलाको वर्तमान राजनीतिक स्थितिबारे संसारका मुलुकमा चर्चा परिचर्चा हुनु स्वाभाविक हो । यस्तै चर्चा परिचर्चा नेपालको राजनीतिमा पनि भयो, संसद्मा तर्क वितर्क भयो । संसद्मा नेकाका सांसदहरूले भेनेजुयलाबारे सरकार र सत्तारुढ दल नेकपाले अनावश्यक टिप्पणी गरेको बताए । नेकपाकै दुई अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच भेनेजुयलाबारे जारी वक्तव्यबारे मतभेद भइरहेको बेला पुँजीपति वर्गको प्रतिनिधित्व गरिरहेको नेकाका सांसदहरूले अमेरिकी शासकको पक्ष लिनु अस्वाभाविक होइन ।
कुनै पनि देशको शासन प्रणालीलाई अरु देशले समर्थन या विरोध गर्नैपर्छ भन्ने होइन । तर, निर्वाचित सरकारप्रति समर्थन छैन भनेर स्वघोषित राष्ट्रपतिलाई शक्तिको आडमा समर्थन गरेर मान्यता दिनु सद्दे राजनीति हुनैसक्दैन । निर्वाचित राष्ट्रपतिलाई छोडेर स्वघोषित अन्तरिम राष्ट्रपतिलाई मान्यता दिने बलको राजनीतिको विरोध गर्नैपर्छ । गलत राजनीतिको विरोध गरियो भनेर अमेरिकी प्रशासनले नेपाली राजदूतसँग स्पष्टीकरण लिने र प्रम ओलीसँग भेटेर सरकारको धारणा फेर्ने या फेर्न दबाब दिने काम अमेरिकी हस्तक्षेप नै हो ।
नेकपाका एक अध्यक्ष केपी ओलीले पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यलाई लिएर असन्तोष पोखे । अध्यक्ष दाहालको अभिव्यक्तिमा चिप्लिएको कुरा अमेरिकी दूतसमक्ष दुःखेसो पोखेर केपी ओलीले गर्व गरे र एउटै पार्टीका दुई अध्यक्षको फरक मत रहेको देखाए । यो ओलीको दाहालप्रति गरिएको अपमान हो । एक अध्यक्षको अपमान अर्काे अध्यक्षलाई कसरी सह्य हुन्छ ? अप ओलीको उक्त अभिव्यक्तिप्रति असन्तुष्ट जनाउँदै अर्का अध्यक्ष दाहालले पनि आफ्नो वक्तव्य नै सही भएको अडान लिए । हो, एउटा स्वतन्त्र सार्वभौमसम्पन्न देशको राजनीतिमा बाह्य हस्तक्षेप हुनुहुँदैन । नेपाल सरकार र सत्तारुढ पार्टीको भेनेजुयलासम्बन्धी वक्तव्यलाई अनावश्यक ठान्ने नेकाको राजनीति कुन वर्गका जनताप्रति लक्षित छ भन्ने कुरा थाहा हुन्छ । नेपाल भारतको भूमि हो भन्न पछि नपर्ने ट्रम्प प्रशासनको पक्षमा वकालत गर्ने नेकाले के देश जोगाउँछ ?
नेपाल र नेपालीको भन्दा भारत र भारतीय शासक वर्गको पक्ष र हितमा वकालत गर्ने नेकाकै कारण नेपाली भूमिमा भारतले अतिक्रमण गरेको हो, नेपाली भूमि डुबानमा परेको हो, अन्तर्राष्ट्रिय मूल्य र मान्यताचविपरीत बाँध र तटबन्ध बनाएको हो । नेकाकै कारण नेपाल भारतनिर्भर बनिरहेको हो ।