हरिबहादुर श्रेष्ठ
प्रिय नाति अमर र नातिना अमृता, दिन दिनको आत्मीय सम्झना !
तिमीहरूको इमेल पढेर म एकछिन आश्चर्य भएँ र अर्को क्षण खुसी एवं गम्भीर भएँ । तिमीहरू यतिका वर्ष विदेशमा बसेर कसरी जीवनको उद्देश्य पत्रकारिता रोज्ने टुङ्गोमा पुग्यौ र सम्पादक बन्ने महत्वाकाङ्क्षा वा धृष्टता ग¥यौ ? मैले तिमीहरूको जीवनको उद्देश्यलाई हेला–होचो र तिमीहरूको योग्यतामाथि शङ्का गरेको होइन, बरु तिमीहरूले गुलाफको ओछ्यान होइन काँडाले भरेको बाटो रोज्यौ भन्ने हो ।
भर्खर २०–२५ वर्षको उमेरमा नाति–नातिनाले कसरी एक प्रतिष्ठित पत्रकार र देशमा नयाँ पुस्ताका सम्पादक र शिखर व्यक्तित्व बन्ने इच्छा राख्यौ भन्ने हो । हो, तिमीहरूको आफ्नो इमेलमा माक्र्स, लेनिन, जोन रिड, हो चि मिन्ह, एड्गर स्नो, अन्ना लुई स्ट्रङ र विल्फ्रेड ग्राहम बर्चेटको नामसमेत जोडेका छौ । तिमीहरूको इमेललाई मैले दुई–तीन पटक हेरें, मेरो मनको जिज्ञासा र प्रश्नलाई पहिले नै उत्तर दिएको अनुमान गरें । हो, कार्ल माक्र्स भर्खर दर्शनशास्त्रको विद्यावारिधि गरी २४–२५ वर्षको चढ्दो जवानीमा जर्मनीको राइन समाचारको प्रधानसम्पादक बनेका थिए र उनको विद्वता, भाषाशैली र तत्कालीन जनताको इच्छा र आकाङ्क्षालाई आकाशमा बिजुलीजस्तै चम्काउँथे र मेघको गर्जनमा सबैलाई बिउँझाउने काम गर्थे । त्यस्तै भर्खरै तरुणालाई पार गर्दै गरेका लेनिनले अर्थात् ३० वर्ष कै उमेरमा गुप्त पत्रिका ‘फिलिङ्गो’ मार्फत जारकालीन जङ्गलमा डढेलो लाउने आगाका लप्काजस्ता शब्द र वाक्यले नयाँ समाजको बीउ छर्ने सन्देश दिन्थे । ‘फिलिङ्गो’ को पहिलो अङ्क हेरेर लेनिन अति खुशी हुँदै भनेका थिए– “अब हामीसँग पनि मजदुरहरूको क्रान्तिकारी पत्रिका भयो ।” “यो फिलिङ्गोले ज्वाला दन्कनेछ”– लेनिनले भनेका थिए । क्रान्तिकारी पत्रिकाप्रति कस्तो मोह र विश्वास !
तिमीहरूको इमेल हेरेपछि एकछिन मैले आफूलाई सम्हाल्न समय लाग्यो । मैले सम्झेँ– “तिमीहरू भर्खर मैले मेरो औंलाले डो¥याएका नाति–नातिना हौइनौ । तिमीहरू अहिले किशोर–किशोरी पनि होइनौ, तिमीहरू एक जिम्मेवार नागरिक भइसकेका छौ, तिमीहरू अहिले अनेक निर्वाचनमा मत दिने र उम्मेदवार बन्नेसमेत अधिकार राख्छौ । अब तिमीहरूको इच्छा, आकाङ्क्षा र जीवनको उद्देश्यमाथि बाधा दिने काम म गर्न सक्दिन, त्यसो गर्नु मेरो अर्घेल्यार्इं र समयलाई नबुझेको ठहर्नेछ । खालि म तिमीहरूलाई आत्मीय सल्लाह दिन र पूर्ण सफलताको कामना गर्नसक्छु ।
तिमीहरूको इमेलमा जोन रिडको नाम उल्लेख गरेर रुसी अक्टोबर क्रान्तिले ‘संसारलाई हल्लाउने दस दिन’ को स्मरण गरायौ । साँच्चै, त्यो पुस्तकले पश्चिमी संसारलाई स्तब्ध पारेको थियो र मानव जातिको जानकारीको अँध्यारोमा एउटा जाज्वल्यमान आकाश गंगालाई प्रज्ज्वलित पारेको थियो । साँच्चै तिमीहरूले एड्गर स्नोको नाम लिएर संसारलाई ‘चिनियाँ आकाशमा रातो तारा’ सँग परिचय गराएको सम्झना गरायौ ।
मेरा प्यारा अमर र अमृता, मैले कहिल्यै नसोचेको कोसेली र परिणाम पठायौ । परम्परागत, व्यावसायिक र अल्छीलाग्दो पत्रकारिताको ठाउँमा जनमानसमा नयाँ उत्साह थप्ने उद्देश्य राख्यौ, साथै निजी कम्पनी र सूचना मन्त्रालयको आदेशमा बाँच्ने सम्पादक र समाजमा नयाँ उपद्रव होला भनी डरले काँपेर लेखिएको सम्पादकीय होइन । आगाका फिलिङ्गाहरूले पुराना समाजलाई सल्काएर नयाँ समाजको जन्म दिने दावानलको आविष्कार गर्ने सम्पादकीय कोर्ने इच्छा राख्यौ । मानौं, अमेरिकी अणुवमले नागासाकी र हिरोसिमालाई धुजाधुजा पारेर अमेरिकी साम्राज्यवादले संसारलाई त्राहित्राहि पारिरहँदा क्रान्तिका नायक माओ त्सेतुङ्गसँग संसारलाई मुक्ति दिने उपाय अन्ना लुई स्ट्रङ्गले खोज्दा “साम्राज्यवादजस्तै अणुबम पनि कागजी बाघ हो, हेर्दा डरलाग्दो हुन्छ तर त्यसमाथि विजय प्राप्त गर्न सकिन्छ, लडाइँ एक दुई हतियारले होइन, जनताले निर्णय गर्छ” भन्ने उत्तरबाट संसारले शान्ति र उत्साहको सास फेर्ने अवसर दिएका थिए । के आज त्यस्ता पत्रकार र सम्पादकहरूको कल्पना गर्नसक्छौं नेपालमा ? जसले विदेशी पैसा, म्यानपावर कम्पनी र विदेशी सामानको विज्ञापनले पत्रकारिता जीवित राखेको भन्दा विदेशीको प्रचार सामग्रीको प्रचार गरिरहेको हुन्छ । अझ हिरोसिमा र नागासाकीमा पहिलो पश्चिमेली व्यक्ति पुगेर नयाँ ‘प्लेग’ भनी अणुबमको ध्वंसात्मकता बताइदिने विल्फ्रेड ग्राहम बर्चेटलाई अमेरिकीहरूले स्तालिनको ‘एजेन्ट’ सम्झने मूर्खता गरेका थिए । हिन्द–चीनबारे संसारलाई चिनाउने बर्चेट सधैं एक जीउँदा पत्रकार थिए । साइकल चढ्दै र साइकल बोक्दै पहाड, नदी–नाला पार गर्दै भियतनाम, लावस र कम्बोडियाका जङ्गल चहार्दै ‘मेकोङ्ग डढेको’ र त्यहाँका जनताको मुक्तिका ज्वालालाई विश्वका जनतासम्म सन्देश पु¥याउने उनी बर्चेट नै थिए ।
प्रिय नाति र नातिना,
म नेपालका केही पत्रकार र सम्पादकहरूको मात्रै नाम सम्झने गर्छु । चिटिक्क परेको ४ पृष्ठको ‘समाज’ एक जमानामा नियमित निस्कने र आफ्नो ‘भनाइ’ लाई सम्पादकीय बनाउने व्यक्तित्वको नाम हो–मणिराज उपाध्याय । पूर्व प्र.म. टङ्कप्रसाद आचार्यसँग सामिप्यता प्राप्त सम्पादक, नेपाल–चीन सम्बन्धका एक जीउँदा र जाग्दा कलम थिए । कोशी र गण्डक सम्झौताको विरोधबारे शब्दले होइन सम्पादकीयलाई नै कालो पोतेर एक प्रतीकात्मक विरोध जनाएका थिए–उनले । केही वर्षपहिले उनी बिते, तर देशभक्तहरूको मन र मस्तिष्कमा आज पनि उनी जीउँदै छन् ।
सन्तुलित भाषाका धनी, स्पष्ट वक्ता एवं आलोचनामार्फत अभिव्यक्ति स्वतन्त्रतालाई झण्डाजस्तै माथि उचाल्ने ‘मातृभूमि’ साप्ताहिकका सम्पादक गोविन्द ‘वियोगी’लाई धेरैले सम्झिरहेका छन् ।
भाषा र ज्ञानले वरिष्ठ सम्झिने ‘समीक्षा’ का सम्पादक मदनमणि दीक्षित आज पनि कलमजीवीकै रुपमा सबैले सम्झन्छन् । पुरानो रञ्जना सिनेमा हलको पर्खाल बाहिर दक्षिण–पश्चिम कुनामा ‘समीक्षा’ प्रकाशित हुँदाको सम्झना पुराना पाठकहरूलाई हुनु स्वाभाविक हो । राजनीतिमा नागबेली बाटो लिए पनि मदनमणिको विशिष्ट लेखनीबारे सारा पाठक कायल छन्, पत्रकारिता र साहित्यका उनी सदा स्मरणीय पात्र हुन् ।
सानो तर धेरै पेजी, अन्तिम पानामा एक सुन्दरीको तस्वीर र बयान, अनेक प्रश्न–उत्तर र ‘वामपन्थी’ गतिविधिका विरोधी ‘नयाँ सन्देश’ अहिले सेलाएको छ– सम्पादक थिए–रमेशनाथ पाण्डे । उनी नै पहिला नेपालको कूटनीतिक सम्बन्ध नभएको ताइवानमा अमेरिकी सहयोगमा पुग्ने व्यक्ति थिए ।
त्यस्तै ‘कमनर’ र ‘मदरल्याण्ड’ का श्रेष्ठ सम्पादकहरू, पछि अञ्चलाधीश बनेका ‘नयाँ समाज’ का सम्पादक पशुपति पाण्डे र अरु अरु एक न एक शक्ति केन्द्रबाट सञ्चालित पत्रिका र सम्पादकहरू बाँचेर बिलाए ।
एक समय नेपालमा कहिलेकाही केही दिन बिराएर ‘न्यूयोर्क टाइम्स’ काठमाडौं पुग्थ्यो भने अहिलेसम्म छिमेकीको पाकिस्तानको ‘डन’ वा अन्य समाचारपत्रहरू बजारमा देखिंदैनन् । अमेरिकाको ‘न्युज विक’ र ‘टाइम’ साप्ताहिक तिनीहरूको ‘शान्तिसेना’ को कारण पनि बढी प्रचार भएको थियो । तर, ‘सोभियत भूमि’ नेपाली जनतामा र ‘सोभियत न्युज एण्ड भ्युज’ बुद्धिजीवीहरूमा कम पुग्थे । भारतको ‘स्टेटम्यान’, ‘टाइम्स अफ इण्डिया’, ‘नव भारत टाइम्स’, ‘हिन्दुस्तान’, ‘धर्मयुग’, ‘दिनमान’ आदि काठमाडौंका गल्ली गल्लीसम्म पुग्थ्यो । नक्सलवाडी आन्दोलनको हरेक घटना दिने कलकत्ताको ‘नेशनल स्ट्याण्डर्ड’ अर्थतन्त्र र सिंहदरबारमा आगो लाग्दा त्यसको महिनौंसम्म विवरण दिने ‘अमृत बजार पत्रिका’ सायद धेरै वर्षदेखि बन्द छन् । बम्बईको ‘ईकोनोमिक टाइम्स’ र एक स्तरीय पत्रिका ‘द करेन्ट’ पनि अहिले काठमाडौंमा देखिन्न । एकपटक ‘करेन्ट’ ले जापानविरोधी लडाइँको बेला एक वरिष्ठ भारतीय पत्रकारलाई नेहरूले चीनमा पठाउँदाका धारावाहिक रिपोर्ट प्रकाशित गर्दा भारत र चीन छिमेकी भए पनि सञ्चार सजिलो नभएको बताउँथ्यो ।
नाति अमर र नातिना अमृता, इमेलमा तिमीहरूले हो चि मिन्हको बारेमा पनि लेख्यौ । मलाई सा¥है खुसी लाग्यो । आफ्नो मातृभूमिको मुक्तिको निम्ति उनले अफ्रिकी देशहरूमा पुगी फ्रान्सेली उपनिवेशको अत्याचारबारे रिपोर्टहरू लेखेर संसारलाई सुसूचित पार्ने काम गरेका थिए । माथिका सबै विवरणले पत्रकारिता कम प्रतिष्ठित पेशा होइन, कष्टसाध्यमात्र होइन, जहाज जतिसुकै ठूलो भए पनि कम्पासविनाको जहाज कालरात्रीको महासागरमा हराउने सम्भावना हुन्छ । त्यस्तै राजनीतिक कम्पास भएको पत्रकारिताले छिट्टै आजुमा पु¥याउँछ । यसकारण सम्पादक र पत्रकारहरू जिम्मेवार पनि हुन्छन् ।
तर, अफसोच !पैसा नलिई समाचार नलेख्ने, राती राती रक्सी नखाई समाचार नपठाउने, कसैको बदनाम त कसैको उल्टो प्रशंसा गर्ने पत्रकारहरू पनि आज नेपालका जिल्ला जिल्लामा कम छैनन् । तर, जल्दो चिराग खान आउने किराफट्याङ्ग्राजस्तै पैसामा बिक्ने र भ्रष्ट पत्रकारहरू तिमीहरूको आस्थाको पत्रकारिताको अगाडि सबै भष्म हुनेछन् । एकदिन नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका पत्रकारहरू र सम्पादकहरूको दर्शन हुनेछ–नेपालको प्राज्ञिक क्षितिजमा ।
प्रिय नातिना अमृता र नाति अमर,
आफ्नो इमेलमा लेख्यौ– बाबाको चित्त दुखाइ र रसाएको आँखाबारे । सम्भवतः तिम्रै बज्यैबाट तिमीहरूले थाहा पाएका हौला । थाहा पाई राख तिमीहरू–
जीउँदो मानिस त्यो हो
जसले अनुभव गर्छ
सुख र दुःख परिवेशको,
जीउँदो मानिस उही हो
जसले समयको ढुकढुकीलाई
आफ्नै ढुकढुकी सम्झन्छ !
मानिस जनताको हाँसोसँगै
खितितिति हाँस्छ र
जनतासँगै रुन्छ–दुःखमा
आक्रोशित हुन्छ जनतासँगै
जनताको दुःखमा रिस उठ्दा !
मेरा प्रिय नाति र नातिना,
हो, म रुन्छु, म मनले रुन्छु र आँखाले रुन्छु तर म तिमीहरूसँग हाँसेरै ठट्टा गर्छु ।
संसारमा दुःख कम हुँदै जानेछ, पहिलेको तुलनामा । तर, खोजमा दुःख गर्नेछन्, उत्साही भएर, लोभी–स्वार्थीहरूको खराब मन र मस्तिष्कसँगको लडाइँ अझ लामो समयसम्म चल्नेछ । विजय भनेको व्योमजस्तै व्यापक र अनन्त छ ।
अबेला भयो, बिदा !
तिमीहरूलाई माया गर्ने हजुरबुबा