सुनिता गाइसी
नेपाल विश्वमानचित्रमा एक सुन्दर देशको रुपमा परिचित रहँदै आएको छ । भौगोेलिक विभाजनअनुसार नेपाल हिमाल, पहाड र तराई गरी ३ भागमा विभाजित छ । तराई प्रदेशलाई अन्नको भण्डारको रुपमा मानिन्छ । औलो उन्मूलन भएपछि तराईको जनसङ्ख्या तीव्ररुपमा बढ्न थालेको छ । थारु, चौधरी र केही क्षेत्री, ब्राह्मणको मुख्य बसोबास स्थलको रुपमा तराई प्रदेश रहेको छ । यहाँ दाङ तुल्सीपुरका थारु समुदाय र माघी पर्वबारे केही चर्चा गरिन्छ । थारुहरू नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विशेषगरी तराई प्रदेशमा बसोबास गर्ने जनजाति हुन् । यिनीहरूको मुख्य थातथलोको बारेमा विभिन्न विज्ञहरूको फरक–फरक मत रहेको छ । वि.स. २०५८ को जनगणनाले ६.७५ प्रतिशत थारुहरूको जनसङ्ख्या रहेको पृुष्टि गरेको छ । थारुमध्ये अधिकांशले हिन्दू धर्म मान्दछन् । यस समुदायमा भाञ्जालाई विशेष रुपमा मानिन्छ । प्रायः धार्मिक कार्यहरू भाञ्जाबाटै सम्पन्न गराइन्छ । यदि भाञ्जा नभएमा गुरुवा, भर्राबाट पनि काम सम्पन्न गरिन्छ । खवास, कोचिला, गच्छदार, चौधरी, भगत, महन्त, राजी, राना, रझठिया, कठरीया, तवदार, लालपुरीया, थन्दार, विश्वास, सरदार, सुनाहा इत्यादि यस समुदायका थरहरू हुन् ।
थारु समुदायका मानिसहरू संयुतm परिवारमा बस्न मनपराउँछन् । ४, ५ पुस्तासम्म एउटै परिवारमा बस्छन् । त्यसैले घरहरू लामबद्व हुन्छन् । यस समुदायका मानिसहरू मिलनसार हुन्छन् । अधिकांश थारुहरू खेतीपाती, पशुपालन, ज्याला मजदुरीमा संलग्न छन् । धेरैजसो मानिसहरूले अरुको जग्गा अधियामा लिएर खेतीपाती गर्दै आएका छन् । उनीहरू कृषिको साथै पशुपालन पनि गर्दछन् । विशेषगरी उनीहरू सुङ्गुर, बङ्गुर, बाख्रा, कुखुरा पाल्दछन् ।
थारु समुदायका मानिसको विशेष पर्वको रुपमा माघी पर्वलाई मानिन्छ । माघ १ गतेदेखि थारु समुदायको नयाँ वर्ष फेरिने हुँदा यसलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । त्यसैले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी नै हो । वर्षभरि काम गरे पनि माघमा बिसाउने चलन थारु समुदायमा रहेको छ । माघीको दिन बिहानै स्नान गरी आफूभन्दा ठूलाबडाको आशिष लिने चलन यस समुदायमा जीवितै रहेको छ । जसले आपसी मेलमिलापलाई थप बलियो बनाउँदछ । माघी पर्वमा पारिवारिक भेटघाट सबैभन्दा महत्वपूर्ण मानिन्छ । आगामी वर्षको योजनासमेत माघीमै बुनिन्छ । गाउँकै अगुवा चुन्ने विशेष समय पनि माघी नै हो । अन्य जातिमा सङ्क्रान्तिको आफ्नै महत्व रहेको पाइन्छ । माघी पर्वको अवसरमा दाङका विभिन्न स्थानहरूमा माघी महोत्सव आयोजना गरिन्छ । माघीकै अवसरमा दाङको बराह क्षेत्र, बा¥हकुने दह, रिहारको बगारबाबालगायतका क्षेत्रमा मेला लाग्दछ । यस समुदायमा माघीलाई हर्षोल्लासको पर्वको रुपमा मनाइन्छ । यस पर्वमा थारुहरूले चामलको पीठोबाट तयार पारेको ढिकरी साथै विभिन्न थरीका तरकारी, गंगटो, माछा, बङ्गुरको मासु, जाँडरक्सी, सख्खरखण्ड खाने गर्दछन् ।
थारु समुदायका महिलाहरू आफ्नो खुट्टामा विभिन्न चित्र टाटु बनाउने गर्दछन् । थारु महिलाहरू विभिन्न किसिमका गहना लगाउन मनपराउँछन् । यिनीहरूले हातका पाखुरा चुरा र बाजु, घाँटीमा हंसरली सिक्काको माला, कानमा कर्णफूल, औंलामा औंठी, कम्मरमा कम्मरपेटी, गोडामा पाउजेव, गोडाका औंलामा बिछीया (औंठीजस्तै), शिरमा शिरबन्दी, निधारमा टिकुली (टीका), नाकमा नत्थे लगाउँछन् । यी सबै गहना चाँदीकै हुन्छन् । जनजातिमा सबैभन्दा बढी गहना लगाउने थारु नै हुन् भन्ने अध्ययनकर्ताहरूको भनाइ रहेको छ । थारु महिलाहरूले सात किलोसम्मका गरगहना लगाइएको पाइन्छ ।
यस समुदायमा सानै उमेरमा विवाह गरिदिने चलन रहेको छ । पहिला पहिला थारु समुदायमा दाजुको मृत्यु भएमा भाइले भाउजू स्याहार्ने चलन रहेको कुरा पनि स्थानीयहरू बताउँछन् । तर, हाल आएर यस्तो चलन हट्दै गएको छ ।
यस जातिमा विवाहको सन्दर्भमा विभिन्न रोचक पक्ष सुन्न पाइन्छ । तीमध्ये एक यहाँ उल्लेख गरिन्छ । दुलहीको डोलीमा एउटा बत्ती र विषको प्याला माइतीतर्फबाट राखिएको हुन्छ । यदि बाटोमा कुुनै शत्रुले आक्रमण गरी अपहरण गर्ने प्रयास गरेमा त्यही बत्ती लिएर भाग्ने र भाग्न नसके सतित्वको रक्षार्थ विषपान गरी आत्महत्या गर्न सकियोस् भनी स्थानीयहरू बताउँछन् । यसरी विभिन्न मूल्य र मान्यतालाई आत्मसात् गदेै थारु समुदाय एउटा जीवन्त इतिहास बोकी अगाडि बढदै छ ।