भर्खरै :

आँखाको रेटिना अध्ययन प्रतिवेदन सार्वजनिक

भक्तपुर, २८ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘भक्तपुर रेटिना अध्ययन प्रतिवेदन’ एक समारोहबीच सोमबार संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा बिजुक्छेँले आँखालगायत विभिन्न अङ्गका रोगहरूबारे सामाजिक तथा राजनैतिक कार्यकर्ताले बुझेमा धेरै जनताको सेवा हुने बताउनुहुँदै शिक्षकहरूमार्फत विद्यार्थीहरूबीच स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
उहाँले हरेक विषय सानै उमेरमा सिकाउनुपर्नेमा जोड दिंदै आफूले रौतहटमा ६÷७ कक्षामा पढ्दा नेत्रदान कार्यक्रममा स्वयम्सेवकको भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका जनताको आँखाको स्थितिबारे अध्ययन गर्नुभएकोमा डा. रवा थापालगायतलाई धन्यवाद दिनुहुँदै भक्तपुरका जनताको सेवाको लागि घर–घरमा नर्सिङ सेवा सञ्चालन गरिरहेको र ती नर्सहरूमार्फत विभिन्न रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले नगरवासीहरूको स्वास्थ्य स्थितिबारे थाहा पाउन निश्चित समयावधि तोकी खास खास रोगहरूको स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुहुँदै प्रतिवेदनले भक्तपुरका जनताको आँखाको स्थितिबारे जानकारी पाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्रिवि शिक्षाशास्त्र सङ्कायका पूर्वडीन पृथुचरण वैद्यले भक्तपुरमा आँखा अस्पताल बन्ने कुराले आफू हर्षित भएको बताउनुहुँदै आँखा स्वस्थ राख्न सबैलाई ज्ञान दिनुपर्छ भन्नुभयो ।
डा. सुमन शमशेर थापा र अध्येता रवा थापाले भक्तपुरको अध्ययनबारे जानकारी दिनुभयो । डा. रवा थापाले भक्तपुरका २१०० जना नागरिकसँग तीन वर्ष लगाएर आँखाको रेटिनासम्बन्धी रोगको अध्ययन गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख धिरज अधिकारीले केन्द्रले गर्दै आएको उपचारको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *