भर्खरै :

हिजोका जस्ता छैनन् ‘राउटे’

 हिक्मतबहादुर नेपाली
उसबेला राउटे वस्तीमा छिर्न निकै मुश्किल पथ्र्यो । विसं २०५२ तिर दैलेखको तत्कालीन काशिकाँध गाविसको वडामान जङ्गलमा बसेका राउटे वस्ती हेर्न जाँदा स्थानीयवासी नमराज थापा निकै खुशी हुनुहुन्थ्यो । आठ वर्षको उमेर हुँदा आमासँगै राउटे वस्ती हेर्न पुगेको उहाँलाई राम्रै सम्झना छ । त्यतिखेर थापालाई राउटेले वस्तीमा छिर्न समेत दिइएन । त्यसबेलाको घटना सम्झँदै थापा भन्नुहुन्छ– “वस्तीको टाढाबाटै राउटे युवासँग मादल माग्यौं । ती युवाले मादल लिएर आए, बजाउन पनि सुरु गरे तर समुदायका मुखियाले आफ्नै खाम्ची भाषामा गाली गर्दै मादलसमेत खोसेर लगे ।” त्यतिबेला राउटे अन्य समुदायसँग घुलमिल हुँदैनथे ।
नेपालका तीन प्रदेशभित्र फिरन्ते जीवन बिताउँदै आएको राउटेको वस्ती पस्न अब भने त्यति समस्या छैन । केही वर्ष अघिसम्म राउटेहरू पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता राख्थे । आफूलाई बोटको राजा र गै¥ह राउटेलाई कोटको राजा भन्न रुचाउने राउटेहरू अन्य समुदायसँग खासै घुलमिल हुन चाहँदैन । कर्णाली प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको सोच अहिले बदलिएको छ । बाहिरी समुदायसँग घुलमिल हुने मात्र होइन उनीहरू आधुनिक प्रविधि प्रयोग गरेर आफूलाई रुपान्तरणसमेत गर्न थालेका छन् ।
जङ्गली जनावरको शिकार र काठमा सामग्री बनाएर जीविका गर्ने यो समुदाय विस्तारै पशुपक्षी पालनमा समेत जुट्न थालेको छ । कुखुरा, बाख्रा र भेडा पालन उनीहरूको रोजाइमा परेको छ । अपरिचित व्यक्तिसँग बोल्नुहुँदैन भन्ने मान्यता राख्ने राउटेहरू हिजोआज बस्तीमा पुगेका जो कोहीलाई सामाजिक अगुवा, जनप्रतिनिधिदेखि मन्त्री र प्रधानमन्त्रीसम्मलाई फोन लगाइदिन आग्रह गर्छन् । फोनबाटै आफ्ना समस्याहरू निर्धक्क राख्छन् । सरकारले दिने सामाजिक सुरक्षा भत्ता समयमै नआए त्यसको सोधखोजसमेत गर्न थालेका छन् । बिरामी हुँदा औषधि उपचार गराउन थालेका छन् । राउटे युवक प्रकाश शाही भन्नुहुन्छ– “उतिबेला मुखियाले चप्पलसमेत लगाउन दिँदैनथे ।”
पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक स्थायी परिचयपत्र प्रदान ग¥यो । गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी परिचयपत्र प्रदान गरेको थियो । त्यतिबेला राउटेको जनसङ्ख्या १४९ थियो । पुसको अन्त्यतिर त्यही तथ्याङ्कको आधारमा १४५ जनालाई भत्ता बाँडियो ।
विसं २०४० मा पहिलोपटक गरिएको गणनामा राउटेको जनसङ्ख्या ३०० को हाराहारीमा थियो । विसं २०६५ मा गरिएको अर्को गणनाअनुसार राउटेको जनसङ्ख्या १६६ मा झरेको देखियो । सो गणना पत्रकार हरिहरसिंह राठौर र भक्तबहादुर शाहीको अगुवाइमा गरिएको थियो । पहिलोपटक समाजशास्त्री डोरबहादुर विष्टले २०४० सालमा गरेको गणनामा ३०० जना जति राउटे रहेका थिए ।
सरकारले राउटेहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि उनीहरूको जनसङ्ख्या क्रमशः घट्न थालेको हो । गुराँस गाउँपालिकाले राउटेको तथ्याङ्क सङ्कलन गरेर वितरण गरेको स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा–आमाको नाम र पति–पत्नीको नाम उल्लेख छ । राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्ता वितरणमा एकरूपता ल्याउन र नेपाली नागरिकका रूपमा स्थापित गर्न स्थायी परिचयपत्र वितरण गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । मान्छेको सङ्ख्या गणना गरेर विगतमा भत्ता वितरण गरिएपछि गुराँस गाउँपालिकाले परिचयपत्र वितरणसँगै उनीहरूको सङ्ख्या पनि गणना गरेको थियो । यस समुदायको व्यवहार परिवर्तनका लागि दैलेखको सोसेक नेपालमार्फत राउटे परियोजना सञ्चालनमा छ ।
अहिले राउटे समुदाय जहाँ जहाँ पुग्छ, परियोजनामार्फत नियुक्त कर्मचारी त्यहीँ–त्यहीँ पुग्ने गरेका छन् । दैलेखसहित सुर्खेत, सल्यान, दाङ, अछामको सेरोफेरोमै राउटेहरू आफ्नो वस्ती घुमन्ते रूपमा सार्ने गर्दछन् । अहिले राउटेहरू सुर्खेतको लेकबेसी नगरपालिका वडा नं १ भेरी नदी किनारमा छन् । उनीहरू जहाँ गए पनि गुराँस गाउँपालिकाले नै भत्ता वितरण गर्ने गरी कर्णाली प्रदेश सरकारले व्यवस्था गरेको छ ।
मदिराको लत
राउटे मद्यपान तथा धूमपानमा लठ्ठिन थालेको छ । सामाजिक सुरक्षा भत्ता हात पर्ने बित्तिकै राउटेहरू वस्ती नजीककै पसलमा पुग्छन् । बजारमा पाइने सुर्तीजन्य पदार्थदेखि मदिरामा बिहानैदेखि उनीहरू भुल्न थालेको देखिँदै छ । जीवनयापन सहज होस् भनेर दिइएको भत्ताले मदिरादेखि अन्य कुरा किनेरै खाने आदत उनीहरूमा बसिसकेको छ । सरकारी तथा गैरसरकारी निकायहरूले राउटेलाई मदिरा खान सिकाए भन्ने आरोप एकातिर छ भने अर्कोतिर राउटे समुदाय बसेको वस्ती नजीक व्यापारीहरू कमाइ गर्न पल्किन थालेका छन् ।
राउटे वस्ती नजीक स्थानीय नागरिकदेखि व्यापारीहरू मदिरा बेच्न आउने गरेको पाइएको छ । त्यति मात्र नभई वस्तीमा पुग्ने स्थानीय नागरिकले तस्वीर (सेल्फी) खिच्नकै लागि सुर्तीजन्य पदार्थ खुवाउने गरेका छन् जसका कारण राउटेका स–साना नानीदेखि वृद्धवृद्धासम्म यसको कुलतमा फस्न थालेका छन् । सुर्ती र मद्यपानले पनि उनीहरूको सङ्ख्यालाई घटाउँदै लगेको छ ।
फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदाय र उनीहरूले बोल्ने भाषासमेत विस्तारै लोप हुँदै जाने खतरा बढेको छ । नेपालको लोपोन्मुख जातिमा सूचीकृत राउटेको संस्कृति, रहन–सहन र रीतिरिवाज पनि सँगसँगै विलुप्त हुने स्थिति देखा पर्दैछ । पछिल्लो समय राउटे सामाजिक रुपमा रुपान्तरित भएर आएको देखिए पनि त्यसले अन्ततः उनीहरूको अस्तित्व मेटाइदिन सक्ने त्रास पनि पैदा गरिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *