भर्खरै :

सिरियामा अमेरिकी हवाई आक्रमणबाट ७० जना हताहत

दमासकस, २९ माघ (सिन्ह्वा) । सिरियाको पूर्वी क्षेत्रमा भएको अमेरिकी सेनाको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको सङ्ख्या करीब ७० पुगेको अधिकारीहरुले बताएका छन् ।
अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्वारा सञ्चालित टेलिभिजनले जनाएको छ । पूर्वी ग्रामीण क्षेत्र डेइर अल जौरमा विस्थापित व्यक्तिहरुलाई लक्षित गरी हवाई आक्रमण भएको बताइएको छ । घटनास्थल इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुको प्रभाव रहेको क्षेत्र मानिन्छ ।
अमेरिका नेतृत्वको सिरियाली डेमोक्र्याटीक फोर्स (एसडीएफ) ले गत शनिबारदेखि आइएस लडाकूविरुद्धको अन्तिम कारबाही भन्दै आक्रमण सुरु गरेको थियो । घटना भएको क्षेत्रमा झण्डै २० हजार जना विस्थापितहरु आएर बसेको बताइएको छ ।
जनवरी २६ का दिन अमेरिकी हवाई सेनाले डेर ए जोर प्रान्तको अजबागुज क्षेत्रमा गरेको आक्रमणमा पनि १३ सर्वसाधारणसहित ४२ जना मारिएका थिए ।
रुसी समाचार संस्था स्पुतनिकले जनाएअनुसार अमेरिकी गठबन्धनको सेनाले गरेको उक्त आक्रमणका लागि सिरियाली सरकार सेनाको सहमति भने थिएन । सिरियाली डेमोक्र्याटीक फोर्स (एसडीएफ) सितको युद्धविरामलाई सरकारी सेनाले कायमै राखेको छ ।
गत डिसेम्बरमै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रहेका २ हजार अमेरिकी सेना फिर्ता लाने घोषणा गरे पनि अमेरिकी सेना फिर्ता भएका छैनन् । राष्ट्रपति ट्रम्पको घोषणाविरुद्ध रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा गरेका थिए ।
अहिले विदेशमन्त्री माइक पोम्पेओ र रक्षा सल्लाहकार जोन बोल्टन सेना फिर्ताको विपक्षमा रहेकोले ट्रम्पको घोषणा कार्यान्वयन नहुने र सिरियामा आईएस आतङ्ककारी दबाउने बहानामा अमेरिकी सेनाको उपस्थिति निरन्तर रहने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *