भर्खरै :

एक दिन जब थाइल्याण्ड हल्लियो

क्लाउडियो सोप्रान्जेट्टी
“पूरै दसकमा एउटै पनि उल्लेख्य घटना नभएका दसकहरू पनि हुन्छन् । तर, दसकौंसम्म हुन नसकेका घटना एकै हप्तामा भएका पनि हुन्छन् ।” भलादिमिर इलिच लेनिनको यो भनाइ ज्यादै लोकप्रिय भनाइ हो । कहिलेकाहीँ दसकहरू खाँदिएर एकै दिनमा अटाउँछन् र त्यस्ता एकै दिनले कुनै पनि देशको राजनीतिक आयाममा नाटकीय परिवर्तन ल्याउने गर्दछ । थाइल्याण्डको निम्ति गएको फेब्रुअरी ८ त्यस्तै दिन रह्यो ।
त्यो औसत शुक्रबारको दिन थियो । आगामी मार्च २४ मा हुने निर्वाचनको लागि थाइल्याण्डका राजनीतिक पार्टीले प्रधानमन्त्री पदको लागि उम्मेद्वार घोषणा गर्ने अन्तिम दिन थियो । त्यसबाहेक त्यो दिन अरु खास विशेष केही थिएन । सन् २०१४ मा सैनिक विद्रोह गरी सत्ता हत्याएका सैनिक जनरल प्रयुथ चानोचाले प्रधानमन्त्री पदको लागि त्यो दिन उम्मेद्वारी घोषणा गर्ने धेरैको अपेक्षा थियो । सन् २०१७ मा चानोचा नेतृत्वको सरकारले बनाएको संविधानअनुसार उनी सो पदको उम्मेद्वार बने चुनाव जित्न लगभग निश्चित थियो । नयाँ संविधानले थाई सिनेटमा सेनाको पूर्ण नियन्त्रण कायम गरेको थियो । प्रधानमन्त्रीको मनोनयमा सेनाकै छनौटलाई अन्तिम मत मानिने अवस्था थियो । तर फेब्रुअरी ८ को दिन केही अनपेक्षित खास घटना हुन लागेको कुरा कसैलाई हेक्कासम्म पनि थिएन ।
धेरैले अपेक्षा नै नगरेसरी त्यो बिहान हालसालै गठन भएको थाई रक्षा चार्ट पार्टीले घोषणा गरेको उम्मेदवारीले संसारलाई चकित तुल्यायो । अपदस्थ प्रधानमन्त्री चिङलक र थाक्सिन सिनावात्रासँग सम्बन्धित सो पार्टीको तर्फबाट थाई राजा महा विजिरालङकर्नकी दिदी राजकुमारी उबोलरतना राजकन्या सिरिबन्दना वर्णवादीले प्रधानमन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी थिइन् । राजकुमारी उबोलरतना कुनै बेला थाइल्याण्डकी चर्चित नायिका र ट्रेन्डसेटर थिइन् । सन् १९७२ मा एकजना अमेरिकी नागरिकसँग विवाह गरेर अमेरिकामा नै बस्ने निर्णय गरेपछि उनलाई राजकुमारी पदबाट बिदा गरिएको थियो ।
सन् १९९८ मा उनले आफ्नो पतिसँग पारपाचुके गरी सन् २००१ देखि थाइल्याण्डमै बस्न थालेकी हुन् । उनी अभिनय र विभिन्न स्वयम्सेवी गतिविधिका कारण थाई जनताबीच उनी लोकप्रिय छिन् । सन् २००६ मा भएको सैनिक सत्ताविप्लवमा पदबाट बर्खास्त गरिएकी तर थाई राजनीतिमा निकै संलग्न थाक्सिन सिनावात्रा र उबोलरतनाबीच गहिरो मित्रताबारे निकै चर्चाको विषय बन्दै आएको हो ।
उबोलरतनाको उम्मेदवारीको समाचारले आफ्नो शासनलाई प्रजातान्त्रिक छाप लगाउने जनरल प्रयुथको योजनालाई चकनाचुरमात्र गरेन, बरु थाईल्याण्डको राजनीतिक शक्तिसन्तुलनमा नै ठूलो हलचल ल्यायो । थाईल्याण्डको इतिहासमा राजपरिवारको कोही सदस्य चुनावमा प्रतिस्पर्धाको लागि मैदानमा उत्रेको यो पहिलोपटक हो ।
तत्कालै धेरैले उबोलरतनाको चुनावी विजय निश्चित भएको अनुमान गरे किनभने थाईल्याण्डमा राजपरिवारको कोही पनि सदस्यको आलोचना गर्न नपाइने कानुनी बन्दोबस्त छ । कानुनी रुपमा आलोचना समेत गर्न नमिल्ने उम्मेदवारको विरोधमा कसैले कसरी चुनावी अभियान गर्न सक्ला र ? थाई कानुनअनुसार राजपरिवारको कोही पनि सदस्यको आलोचना वा विरोध गरे उसलाई तीनदेखि पन्ध्र वर्षसम्म जेल सजाय तोकिएको छ ।
उबोलरतनाको नाम मतपत्रमा छापिएर आउँदा थाईल्याण्डका अनुदारवादी र राजावादीबीच नै विभाजन आउने पक्का छ । उनीहरूले या त राजकुमारीको पक्षमा अथवा सैनिक जनरलको पक्षमा मतदान गर्नुपर्ने हुन्छ । उबोलरतनाको उम्मेदवारी घोषणाले सिनावात्रा र राजदरबारबीच कुनै सम्झौता भएको हुनसक्ने अनुमान गरिएको जबकि दरबार र सिनावात्राबीच दसकौंदेखिको दुश्मनीकै कारण थाईल्याण्डले अनेकन राजनीतिक अस्थिरता सामना गर्नुपरेको छ ।
उबोलरतनाको उम्मेदवारी घोषणासँगै तत्कालै दुई वटा प्रश्न सतहमा आएः उबोलरतनालाई राजपरिवारको सदस्य मानिनुपर्छ वा पर्दैन ? के प्रयुथ उबोलरतनासँगै सार्वजनिक मञ्चमा देखापर्छन् वा पर्दैनन् ?
फेब्रुअरी ८ कै बिहान सेना पक्षधर पालाङ प्रचारत पार्टीले जनरल प्रयुथलाई आफ्नो तर्फबाट प्रधानमन्त्री पदको उम्मेदवार बनाउने प्रस्ताव प्रयुथले स्वीकारे । “मैले जीवनभर सैनिकको रुपमा देशको सेवा गरें । अझै पनि थाइल्याण्डको रक्षाको लागि बलिदान गर्न चाहन्छु ।”, प्रयुथले भने । राजतन्त्रको रक्षकको रुपमा ख्याति कमाएका जनरल राजपरिवारकै एक जना सदस्यविरुद्ध चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रयुथको उम्मेदवारी घोषणालगत्तै प्रचारत पार्टीले राजकुमारीको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता ग¥यो । राजतन्त्रलाई राजनीतिक प्रयोजनको लागि प्रयोग गर्न नहुने संवैधानिक व्यवस्थालाई उबोलरतनासम्बद्ध पार्टीले उल्लङ्घन गरेको उनीहरूको आरोप छ । अतिराजावादीहरूले पनि राजकुमारीको उम्मेदवारीप्रति विमति राखे भने सिनावात्रा पक्षधरहरू भने आफूले दसकौंदेखि विरोध गर्दै आएको राजपरिवारसम्बन्धी विशेष कानुनकै आधारमा अतिराजावादीहरूलाई राजकुमारीको आलोचना गरे कारबाही हुनसक्ने चेतावनी दिंदैआएका छन् ।
उबोलरतनाले उम्मेदवारी घोषणा गरेको ते¥ह घण्टामा उनका भाई राजा वाजिरालोङकोर्नले दरबारको तर्फबाट एक वक्तव्य जारी गरे । सार्वजनिक रुपमा उठिरहेका केही प्रश्नहरूबारे स्पष्ट बनाउनु नै त्यसको मूल उद्देश्य थियो । थाईल्याण्डको इतिहासमा ज्यादै विशेष दिन बनिरहेको त्यो दिनमा राजाको वक्तव्यले घटनाक्रमलाई अर्को नयाँ मोडमा पु¥यायो ।
“उबोलरतनाले आफ्नो राजकुमारी पद त्यागेको सत्य हुँदाहँुदै पनि राजदरबारको कानुनअनुुसार उनले चक्री राजपरिवारको सदस्यता कायम नै राखेकी छिन् । राजपरिवारका कोही पनि उच्चपदस्थ सदस्य कुनै पनि तरिकाबाट राजनीतिक प्रक्रियामा संलग्न हुनु सम्मानित राजपरम्परा, संस्कार र राष्ट्रिय संस्कृति विरोधी हो । त्यस्ता गतिविधि कानुनविपरीत र अत्यन्त अनुपयुक्त हो ।”, राजाको वक्तव्यमा लेखिएको छ ।
राजदरबारको यो वक्तव्यले व्यवहारतः उबोलरतनाको एकदिने राजनीतिक वृत्ति लगभग चकनाचुर बन्यो ।
एक जना पर्यवेक्षकको दृष्टिमा फेबु्रअरी ८ मा त्यस्तो विशेष केही भए जस्तो नलाग्न सक्छ । त्यो दिनको समाप्तितिर चुनावी मैदानमा चौबीस घण्टाअघि जसरी प्रयुथ एक्लै दौडिरहेको देखिएको थियो, त्यसरी नै उनी एक्लै दौडिरहेका थिए । प्रयुथको सैनिक सरकारले मनोनयन गरेको सिनेटको समर्थन उनीसँग थियो नै । तथापि एकैदिनको यो चुनावी भूकम्पले थाईल्याण्डको राजनीतिक भूगोलमा प्रमुख विभाजन रेखा भने कोरिदियो ।
उबोलरतनाको छोटो समयको उम्मेदवारीले थाईल्याण्डको अनुदार एलिट वर्गभित्रको विभाजन सतहमा ल्याएको छ । उनीहरूमध्ये कसैले राजपरिवारप्रतिको अतिप्रशंसाभन्दा सिनावात्राप्रतिको आफ्नो घृणा अझ शक्तिशाली हुने देखाइदिएको छ । थाईल्याण्डका निकै शक्तिशाली धेरै परिवारको नयाँ राजासँग विद्वेषपूर्ण सम्बन्ध भएको कुनै गोप्य कुरा होइन । तर, उबोलरतनाको उम्मेदवारीप्रति उनीहरूको विरोधले राजदरबारप्रति उनीहरूको धारणा पहिले सोचिएजस्तै अविचलित नभएको सङ्केत गरेको छ ।
यसैबीच जनरल प्रयुथ र राजाबीचको सम्बन्ध प्रभावित भएको देखिन थालेको छ । फेब्रुअरी १० को दिन राजाले जर्मनीको म्युनिखस्थित आफ्नो घरमा उच्चपदस्थ सैनिक अधिकारीलाई बोलाएर बैठक गरेको अपुष्ट समाचार बाहिर आयो । राजगद्दीमा गद्दिरोहण भइसके पनि राजाले आफ्नो अधिकांश समय म्युनिखमै बिताउने गर्दै आएका छन् । सो बैठकमा आगामी चुनावको अवस्था, राजकुमारीको उम्मेदवारीबारे प्रतिक्रिया र सम्भावित सैनिक सत्ताकब्जाको विषयमा छलफल भएको अनुमान गरिएको छ । तर त्यहाँ सत्तापक्षका कोही पनि सैनिक अधिकारीलाई बोलाइएको थिएन । यसले राजाले थाई सेनाभित्रको अर्को खेमामाथि बढी विश्वास गरिरहेको देखाएको छ ।
फेबु्रअरी ८ को घटनाले प्रजातन्त्र पक्षधरहरूबीच पनि विभाजन ल्याएको छ । एक पक्ष राजकुमारीको उम्मेदवारीलाई निकै उपयुक्त राजनीतिक कदमको रुपमा व्याख्या गरिरहेका छन् भने अर्को पक्ष त्यसलाई ठूलो गल्तीको रुपमा चर्चा गरिरहेका छन् । गल्ती बताउने पक्षले यो कदमले राजतन्त्रलाई अझ बलियो बनाउने र प्रजातन्त्रलाई अझ टाढा पु¥याउने बताउँछन् ।
प्रगतिशील पक्षमा यसप्रकारको असहमति कुनै नयाँ कुरा भने होइन । तर अनुदार र प्रगतिशील दुवै खेमा भइरहेको बहसले सिनावात्रासँग सम्बन्ध रहेको शक्तिप्रति जनसमर्थन भने कमजोर हुने देखिएको छ ।
विगतमा पनि यस्तो विभाजनको समयमा थाई सेनाले सैनिक सत्ताकब्जालाई वैधानिकता दिने गर्दै आएको छ । जनरल प्रयुथको सरकारविरुद्ध अर्को प्रतिसत्ताकब्जा हुन सक्ने हल्ला थाईल्याण्डमा नचलेको होइन । थाईल्याण्डको एउटा विशिष्ट चरित्र भनेको त्यहाँको सेनाले नै चालु सैनिक शासनविरुद्ध सैनिक सत्ताकब्जा गर्न सक्छ ।
अहिलेको परिस्थिति अर्को सैनिक सत्ताकब्जाको पूर्वअवस्था बन्छ वा सेनाको उच्च संलग्नतामा चुनाव हुन्छ, त्यो अझै प्रष्ट भएको छैन् । तर सैनिक शासनको पाँच वर्षले आफूले तोकेको कुनै पनि लक्ष्य पूरा गर्न नसक्ने भने यो अवस्थाले पक्का भएको छ । देशको राजनीतिक तनाव समाधान गर्ने र शान्ति स्थापना गर्ने सैनिक सरकारका लक्ष्य तोकिएको समयमा पूरा नहुने देखिएको छ ।
(लेखक अक्सफोर्ड विश्वविद्यालय, अल सोल कलेजका विद्यार्थी हुन् ।)
स्रोतः अलजजिरा
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *