भर्खरै :

सी चिनफिङको नेतृत्व र आजको चीन बुझाउने सजिलो पुस्तक

नीरज
चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनले महासचिव पदमा सी चिनपिङलाई निर्वाचित ग¥यो । पार्टीको महासचिव नै चीनको राष्ट्रपति र सेनाको पनि प्रमुख हुने चिनियाँ राजनीतिक व्यवस्थाअनुसार उनी सन् २०१२ मा राष्ट्रपति पनि बने । त्यसयता संसारकै उदीयमान देश चीनको नेतृत्व सीले नै गरिरहेका छन् । सन् १९४९ को अक्टोबर १ मा जनगणतन्त्र चीनको घोषणासँगै आधुनिक चीनको निर्माण सुरू भएको हो । यसबीच चिनियाँ कम्युनिष्ट पार्टी र चीनको नेतृत्व धेरै नेताहरूले गरे । सी चिनफिङको नेतृत्व त्यसैको सिलसिला हो ।
सी चिनफिङको नेतृत्वले चीनलाई आज नयाँ उचाइतिर दोहो¥याउँदै छ । पार्टी महासचिव र राष्ट्रपति बनेपछि उनले व्यवहारमा उतारेका विभिन्न नीतिले चीनको विकास र प्रगतिलाई अझ गति दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीभित्र बढ्दो अनुशासनहिनता, सरकार र सेनामा बढ्दो भ्रष्टाचार, सैद्धान्तिक गतिविधिमा कम प्राथमिकता, सुधार र खुलापन नीतिको सीमित प्रयोगले चीनको समाजवादको भविष्य कतातिर भन्ने प्रश्न छलफलको विषय बन्दै थियो । कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई मात्र आर्थिक विकासको सूचकाड्ढ मान्दा तथ्याड्ढमा प्रगतिले आकाश छोए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आउन सकेको थिएन । करोडौं जनता गरिबीको रेखामूनि बाँचिरहेका थिए । पार्टी कार्यकर्ता र सरकारी कर्मचारीबीच सुविधाभोगी र आर्थिक लाभ लिने समस्याले चिनियाँ समाजवादको आदर्श क्रमशः क्षीण बन्दै गइरहेको थियो । त्यस परिस्थितिमा चीनमा एउटा बलियो, दूरगामी र सक्रिय नेतृत्वको आवश्यकता थियो । सन् २०१२ मा सी चिनफिङ नेतृत्वमा आउनुले चीनको त्यो ऐतिहासिक आवश्यकता पूरा भएको तर्क लेखक चाओ सिनमिनले आफ्नो पुस्तक ‘सी चिनफिङ्स गभरनेन्स एण्ड द फ्युचर अफ चाइना’ (सी चिनफिङको शासन र चीनको भविष्य) मा गरेका छन् ।
सैनिक पृष्ठभूमिबाट नेतृत्व विकाससम्बन्धी अध्ययनमा विशेषज्ञता हासिल गरेका लेखक चाओ सिनमिनले सो पुस्तकमा सी चिनफिङ नेतृत्वमा आइसकेपछि उनले पार्टी, सरकार, सेना, विदेश सम्बन्ध, अर्थतन्त्र, संस्कृति आदि क्षेत्रमा लागू गरेका नीति र तिनले ल्याएका सकारात्मक परिणामबारे चर्चा गरेका छन् । उनले तत्कालीन परिस्थितिमा चिनियाँ कम्युनिष्ट पार्टी र सरकारमा मौलाइरहेका ‘चार स्खलन’ (फोर डिकेन्डेन्स)– औपचारिकतावाद, कर्मचारीतन्त्र, सुविधाभोगी र खर्चालु प्रवृत्तिविरुद्ध चौतर्फी लडाइँ छेडेका थिए । उच्चपदस्थ कार्यकर्ता र कर्मचारीसमेत भ्रष्टाचारको दलदलमा फसेका थिए । सरकारी काममा ढिलासुस्तीले जनतालाई दुःख भइरहेको थियो । नेता र कार्यकर्ताले सैद्धान्तिक र वैचारिक अध्ययनमा कम प्राथमिकता दिंदा आर्थिक विकासको नाममा पार्टी र सरकारले आफ्नो मूल भावना क्रमशः भुल्दै गएको थियो । आर्थिक प्रगतिको नाममा जनमुखी सरकारी कार्यक्रमले कम प्राथमिकता पाउँदै गएको थियो । सी नेतृत्वमा आएलगत्तै यस्ता समस्या समाधानको निम्ति उनले नीति निर्माण र निर्णय गर्न थाले । फलतः आज चीनभित्र त्यस्ता गलत प्रवृत्ति क्रमशः नियन्त्रणमा आएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीभित्र अनुशासनलाई पहिलो प्राथमिकता दिइएको छ । सरकारका उच्चपदस्थले जे गर्दा पनि हुने खराब अवस्थामा अङ्कुश लागेको छ र आज चीनमा कानुनी शासन बलियो छ । कोही पनि सरकारी वा पार्टीका अधिकारीले कुनै गलत काम गरे उसलाई कानुनबमोजिम सजाय दिने व्यवस्था गरिएको छ । पार्टी कार्यकर्ता र कर्मचारीलाई वैचारिक र सैद्धान्तिक अध्ययनमा जोड दिइएको छ । खर्चालु भोजभत्तेर, सुविधाभोगी प्रवृत्तिमा नियन्त्रण गरिएको छ । भड्किलो कार्यक्रमभन्दा पार्टी एकाइहरूलाई नियमित अध्ययन र जनताको सेवामा लाग्न निर्देशित गरिएको छ । आर्थिक विकासलाई कुल गार्हस्थ उत्पादनको मापदण्डमा मात्र सीमित नगरी जनताको जीवनस्तर विस्तारमा जोड दिइएको छ । राष्ट्रपति सी स्वयं उदाहरण बनेर उनले सबै कार्यकर्ता र कर्मचारीलाई पार्टी आदर्शमा हिंड्न अभिप्रेरित गरिरहेका छन् ।
सी राष्ट्रपति बनेपछि उनले अघि सारेका ‘चिनियाँ सपना’(चाइना ड्रिम), ‘एक क्षेत्र एक बाटो’ ( वन बेल्ट वन रोड), ‘एसियाली पूर्वाधार विकास बैड्ढ’ जस्ता प्रस्तावमार्फत चीनले अन्तर्राष्ट्रिय मञ्चमा क्रमशः आफ्नो प्रभाव विस्तार गरिरहेको छ । संसारका देशसँग चीनको आपसी हितमा आधारित सम्बन्धले अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको आत्मविश्वास बलियो बन्दै गएको छ ।
सबै कुराको निर्णय राजनीतिक कार्यदिशा र सिद्धान्तले गर्ने, तथ्यबाट सत्य पत्ता लगाउने, जनताबाट सिक्ने र जनताको सेवा गर्ने आदि चिनियाँ कम्युनिष्ट पार्टीले निकै अघिदेखि अँगाल्दै आएको नीतिलाई आजको नेतृत्वले प्राथमिकताका साथ व्यवहारमा निरन्तरता दिंदै आएको छ ।
लेखक चाओ सिनमिनले सीले आफू नेतृत्वमा आएपछि लागू गरेका कार्यक्रमको चर्चासँगै उनले यस्तो नीति कार्यान्वयनमा ल्याउन सक्नुका पृष्ठभूमि पनि पुस्तकमा कोट्याएका छन् । सी क्रान्तिकारी परिवारमा जन्मेका थिए । उनका बुबा सी झोङसुन आफै चिनियाँ क्रान्तिका योद्धा थिए । उनकी आमा पनि क्रान्तिमा पूर्ण समर्पित कार्यकर्ता थिइन् । जनवादी गणतन्त्र स्थापनापश्चात् तत्कालीन पार्टी नेतृत्वको कोपभाजनमा सीका आमाबुबा मात्र होइनन्, उनी स्वयं परेका थिए । उनले पार्टी सदस्यताको लागि दिएको आवेदन पटक–पटक अस्वीकृत भएको थियो । एघारौं पटकको प्रयासले मात्र उनलाई पार्टी सदस्यता दिलाएको थियो । शान्सी प्रान्तको अति दुर्गम गाउँमा उनले धेरै वर्षसम्म जनताबीच गरेको दुःखकै कारण उनलाई जनताको दुःख र समस्या राम्ररी थाहा भएको र त्यसैले उनी आज सरकारका कुनै निर्णय गर्दा जनताको हित कसरी हुनसक्छ भन्ने विषयमा बढी चासो राख्ने गरेको लेखकको बुझाइ छ । यसप्रकार पार्टीको तल्लो एकाइदेखि नै दुःख कष्ट गरेर जनताबीच हुर्केको कार्यकर्ता भएकै सीले जनताको सेवा र पार्टीको विकासमा कुनै पनि कसर नराख्ने र त्यसै कारण चीनले आज सबल नेतृत्व पाएको चाओको विश्लेषण हो ।
पार्टी नेतृत्व केही वर्षको कामले तयार हुने गर्दैन । दशकौंको सङ्घर्ष, अनेक प्रकारका दुःख–समस्या, परीक्षा, बलिदानले नै योग्य पार्टी नेतृत्व तयार हुने गर्दछ । कोही मानिस नेता बन्ने भन्दैमा वा पदमा हुँदैमा नेतृत्व हुने होइन । त्यसको लागि जनतासँग गहिरो गरी भिज्ने र दुःख कष्ट सामना गर्ने धैर्य, दूरगामी दृष्टिकोण, जनतालाई मन पर्ने व्यवहारको आवश्यकता, जटिल समयमा खतरा मोलेर पनि निर्णय गर्नसक्ने, कुनै पनि कुरा गर्दा अध्ययन र अनुसन्धान गरेरमात्र निष्कर्षमा पुग्ने, गम्भीर अध्ययन अनुसन्धानपश्चात् लिएको निर्णय हचुवाको भरमा नफेर्ने, आफ्नो गल्ती सजिलै स्वीकार्नसक्ने व्यक्ति नै वास्तवमा सबल नेतृत्व हुने र त्यस्तै गुणले सीलाई आज सफल र समयको माग पूरा गर्न उदाएको नेताको रुपमा चिनियाँ जनताले स्वीकारेका छन् ।
चाओ सिनमिनको पुस्तक विशेषतः सी चिनफिङको विचारधाराबारे चीनका कार्यकर्तालाई जानकारी दिने ध्येयले लेखिएको र त्यही कामको लागि प्रयोग हुँदै आएको चिनियाँ पुस्तकको अङ्ग्रेजी अनुवाद हो । संरा अमेरिकाको स्काईहर्स पब्लिकेसनले यसको अनुवाद र प्रकाशन गरेको छ ।
चीन संसारका धेरै देशको लागि आजभोलि रहस्यको देश बनिरहेको छ । विकसित भनिएका देशहरू एकपछि अर्को आर्थिक सड्ढटमा फस्दै गएको अवस्थामा चीन भने निर्बाध प्रगतिपथमा हिंडिरहेको छ । नेताप्रति जनताको विश्वास क्षीण बन्दै गएको आजको अवस्थामा चिनियाँ जनताले आफ्ना नेताप्रति देखाउने गरेको सद्भाव र प्रेमले संसार चकित छ । कम्युनिष्ट पार्टी र समाजवाद भनेपछि छिःछिः र दूरदूर गर्ने मानिस र देशहरू आज चीनसँग हात मिलाउन आतुर छन् । चीनसँग त्यस्तो के छ जसले उसलाई यस्तो सफलता दिलायो ? यो धेरैको उत्सुकताको विषय हो । खासमा चीनमा अनुशासित चिनियाँ कम्युनिष्ट पार्टी, सिद्धान्तनिष्ठ नेतृत्व र आफ्नो देश र इतिहासप्रति गौरव गर्ने चिनियाँ जनता छन् । सी चिनफिङजस्ता नेता छन्, जसले आज चीनलाई यो उचाइमा पु¥याएको छ ।
कुनै पनि क्रान्तिको रक्षा र विस्तारको लागि नेतृत्वको प्रश्न ज्यादै अहम् हुने गर्दछ । खराब नेतृत्वको हातमा पुग्दा संसार हल्लाएको अक्टोबर समाजवादी क्रान्तिले स्थापना गरेको सोभियत समाजवाद ध्वस्त भयो । चीनले यही ऐतिहासिक पाठ बुझेर चीनमा प्रतिभाशाली र सक्षम कार्यकर्ताको विकासलाई उच्च प्राथमिकता दिइएको छ ।
आजको चीन, चिनियाँ कम्युनिष्ट पार्टीको नीति र नेतृत्व तथा उसले एकपछि अर्को हासिल गरेका सफलता बुझ्न चाओको यो पुस्तक उपयोगी र पठनीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *