भर्खरै :

संसारलाई हेर्ने एसियाली कोण

योगेन्द्रमान बिजुक्छे
हालसालै विभिन्न बहानामा अमेरिकाले चिनियाँ मोबाइल र सञ्चार कम्पनी हुवावेका प्रमुखलाई क्यानडामा गिरफ्तार गराउने निकृष्ट कार्य गरायो । त्यसैगरी युरोपका विभिन्न देशहरूमा चिनियाँँहरूले जासुसी गरेको आरोप लगाएका समाचारहरू आइरहेका छन् । जासुसी र गिरफ्तारीको यो पछिल्लो प्रमाण अरु केही नभई पाँचौं पुस्ताको ताररहित विश्व सञ्चार प्रणाली (5G wireless network system) मा चीनको प्रभुत्व रहने अमेरिकी डरको उपजमात्र भएको तथ्य अनुमान गर्न गा¥हो छैन । आजका स्मार्ट फोनहरू 4G प्रणाली अथवा चौथो पुस्ताको ताररहित विश्व सञ्चार प्रणालीमा आधारित छन् । अब आउँदो प्रणाली पूर्ण प्रयोगमा आएपछि यो 4G को तुलनामा १० देखि १०० गुणासम्म छिटो र छरितो हुनेमात्र होइन, बरू यस प्रणालीमा सबल र प्रभुत्व राख्ने देशले संसारका अरु धेरै कुरालाई नियन्त्रणमा लिनसक्ने क्षमता राख्न सक्छ किनकि हरेक नयाँ सेवा र प्रविधि ताररहित विश्व सञ्चार प्रणालीमा आधारित हुनेछन् ।
विश्व एक्काइसौं शताब्दीको दोस्रो दशक पार गरी तेस्रो दशकको सङ्घारमा आइपुगेको छ । आर्थिक एवम् व्यापारिक, राजनैतिक र विश्वशान्तिको मुद्दासहितको नयाँ विश्व व्यवस्था (the new world order) मा नेतृत्वकारी भूमिका कसको रहने भन्नेबारे बहस, छलफल एवम् अध्ययन–अनुसन्धान बाँकी छ । प्राचीन समयदेखि नै पुराना स्थापित शक्ति राष्ट्रले नयाँ उदीयमान शक्तिलाई सहज रुपमा नस्वीकार्ने परम्परा र परिणामस्वरुप ती दुर्ई शक्तिको बीचमा हुने तिक्तता र द्वन्द्वले युद्धसमेत निम्त्याउने गरेको छ । विगतका केही वर्षदेखि अमेरिकाले चीनको विश्व व्यापारको विस्तारलाई रोक्ने उद्देश्यले ऊसँगको व्यापार विवादलाई तीव्र पार्दै लगेको र चिनियाँ कम्पनी हुवावेका प्रमुखको गिरफ्तारीलाई धेरै विश्लेषकहरूले यहीं नयाँ शक्ति र पुरानो स्थापित शक्तिबीचकोे द्वन्द्वको रुपमा अथ्र्याएका छन् ।
यही विश्व परिवेशको विश्लेषण गर्ने विभिन्न अनुसन्धानात्मक एवम् जर्नल पुस्तकहरू प्रकाशन हुने क्रम पनि जारी नै छ । सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालय ‘सार्वजनिक नीति अभ्यास विभाग’ का प्रोफेसर एवम् कूटनीतिज्ञ किशोर महाबुबनीले विश्व व्यवस्थामा नयाँ शक्तिहरूको उदय अवश्यम्भावी र अपरिहार्य भएकोले पुरानो शक्ति राष्ट्रहरूले अब कुनै अर्घेल्याइँ नगरिकन नयाँ शक्तिहरूको आगमनको लागि बाटो खुला गर्नुपर्ने तर्क आफ्नो नयाँ पुस्तक ‘ह्याज द वेस्ट लस्ट इट’ मार्पmत प्रस्तुत गरेका छन् । उनले पुरानो शक्ति भनी विशेषगरी अमेरिका र अन्य पश्चिमा देशहरूलाई र नयाँ उदीयमान शक्तिहरू भनी चीन र भारतजस्ता देशहरूलाई प्रस्तुत गरेका छन् । विगत २००० वर्षको समयावधिलाई लेखकले २ चरणमा– सन् १ देखि १८२० र १८२० देखि आजसम्म विभाजन गरी विश्लेषण गरेका छन् । लेखकका अनुसार पहिलो चरणको १८०० वर्षमा आर्थिक रुपमा चीन र भारत नै अग्रपङ्क्तिमा थिए । तर, सन् १८२० पश्चात् पहिले युरोप अनि अमेरिका आर्थिक र सैन्य रुपमा सबल बन्दै गए । २० औं शताब्दीको अन्तिम दशकदेखि २१ औं शताब्दीको यस दुई दशक गरी विगत ३ दशकको समयमा भएका चमत्कारी र अभूतपूर्व परिवर्तनले पुनःआर्थिक शक्तिको सुई सन् १८२० अघिकै अवस्थामा फर्कन लागेको सङ्केत गरेको छ । तर, यसलाई पश्चिमा शक्तिहरूले स्वीकार्न नचाहेको बरू उल्टै त्यस शक्तिलाई रोक्ने दुष्प्रयास गर्दा पश्चिमा शक्तिहरूले घाटा बेहोरिनु परेकोतिर लेखकले इङ्गित गरेका छन् ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरूमा औपनिवेशिक कालको अन्त अर्थात दोस्रो विश्वयुद्धपश्चात पहिला राजनैतिक क्रान्ति र परिवर्तनहरू भए र त्यसपश्चात् आर्थिक विकास । सदियौंदेखि सामन्ती परम्परामा जकडिएका यी देशका तत्कालीन शासकहरू जनताप्रति जवाफदेही थिएनन्, बरू उल्टै जनता ती शासकहरूको सेवामा समर्पित हुनुपर्ने अवस्थामा थिए । ती राजनैतिक क्रान्तिहरूले जनताप्रति जवाफदेही र उत्तरदायी नेता र सरकारलाई स्थापित गरिदिएपश्चात् उनीहरूले जनतालाई आधारभूत शिक्षादेखि विश्वविद्यालयको उच्च शिक्षाको पहुँचमा पु¥याए । त्यसबाट आर्थिक उन्नतिको आवश्यक पूर्वाधार बन्न थाले । पूर्वी एसियामा जापान, कोरिया, हङकङ्ग, ताइवान र सिङ्गापुरजस्ता साना राज्यहरूले आर्थिक रुपमा फड्को मारेर एसियामा आफूलाई मोडेल सावित गरे । त्यसैगरी दक्षिणपूर्वी एसियाका देशहरू जस्तै इन्डोनेशिया र मलेशियाले त्यही बाटो पछ्याए । यही मोडेलबाट प्रभावित भएर अफ्रिका र ल्याटिन अमेरिकी देशहरू पनि आर्थिक विकासतिर लम्के । अफ्रिकी देश केन्याले सिङ्गापुर र मलेशियाको नक्कल गर्दै सन् २००८ मा भिजन २०३० विकासका क्रियाकलापको नाम राखी अघि बढ्यो भने केन्याको उत्तरी छिमेकी इथोपियाले दक्षिण कोरिया र ताइवानको मोडेल पछ्याई विकासका गतिविधिलाई अगाडि बढाए ।
विगत दुई दशकमा E7 राष्ट्रहरू (Emerging वा उदाउँदा ७ शक्ति देशहरू – चीन, भारत, ब्राजिल, मेक्सिको, रसिया, इन्डोनेसिया र टर्की) को कूल गार्हस्थ उत्पादन विश्वको कुल गार्हस्थ उत्पादनको ३६.३ प्रतिशत रहेको छ जबकि G7 राष्ट्रहरूको (The group of seven (क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका) ३१.५ मा खुम्चिन पुगेको छ । सन् १९७६ मा संसारका सबभन्दा ठूला आर्थिक शक्ति भनी गठित G7 को सन् १९९५ मा विश्वको कुल गार्हस्थ उत्पादनमध्ये ४३.३ थियो भने E7 को यसको आधी अथवा २२.६ मात्र थियो । तर, विडम्बना तथ्य र तथ्याङ्कले यसरी पश्चिमा शक्तिहरू आर्थिक रुपमा पछाडि पर्दै गएको सत्यलाई उनीहरूले स्वीकार्न चाहेका छैनन् वा यसलाई नजरअन्दाज गर्दै आफ्नै ढिपी कसी उल्टै विश्वलाई कज्याउने पुरानै मानसिकतामा अडिग रहेको विश्लेषण लेखक महाबुबनीले गरेका छन् । अझ पश्चिमा कुलीन वर्गहरू न्युयोर्क टाइम्स, फाइनानसियल टाइम्स, बीबीसी वा सीएनएनजस्ता अन्तर्राष्ट्रिय मिडियामा लेख्दा वा बोल्दा आफू एकदम सही रहेको र दुनियाँमा भइरहेका नयाँ परिवर्तनहरूलाई ठाडै अस्वीकार गर्न पछि नपर्ने पश्चिमा शासक र बुद्धिजीवीहरूलाई लेखक पश्चिमाहरूको अन्धोपनको संज्ञा दिन्छन् ।
सन् १९८० र ९० को दशकमा चीन र भारतमा भए–गरेका आधुनिकीकरण र आर्थिक गतिविधि विश्वमा घटिरहेका र देखिरहेका परिवर्तनहरूको सही मूल्याङ्कन र आँकलन गर्न कसरी यी पश्चिमा शक्तिहरू चुके भने उदाहरण पुस्तकमा तार्किक रुपमा वर्णन गरिएको छ । ८० को दशकको अन्ततिर भारतका तत्कालीन काङ्ग्रेस आई सरकारका अर्थमन्त्री मनमोहन सिंहले आर्थिक उदारीकरणको नीति अवलम्बन गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्क (IMF/ World Bank)सामु आफ्नो देशको आर्थिक उन्नतिको लागि सहयोगको हात फैलाउँदा पश्चिमा शक्तिहरू गमक्क फुलेर बसेका थिए । तर, एक दशकमै उसले फड्को मार्ला भनेसम्म आँकलन गर्नसकेनन् । उत्ता ७० को दशकको अन्त र ८० को सुरुवाततिर चीनले लिएको आधुनिकीकरणको नीतिलाई तुच्छ ठान्दै सन् १९८९ मा भएको तियनआन मेनको घटनालाई लिएर विश्व रङ्गमञ्चमा चीनलाई छिःछिः र दूरदूर गर्न नै तल्लीन रहे–पश्चिमा शक्तिहरू । त्यस्तै सन् १९९० मा सोभियत सङ्घको विखण्डनपछिको संसारमा कम्युनिष्ट विचारधारा सदाको लागि अन्त भई संसारमा उदार लोकतन्त्र र पुँजीवादको विजय भएको घोषणा गर्ने फुकुयामाको ‘इतिहासको अन्त’ नामक थेसिसलाई मन्त्रगीत बनाउँदै नाँच्दै–गाउँदै पश्चिमा शक्तिहरू रमाइरहे ।
तर, उता चीन भने आर्थिक प्रगतिको बाटोमा लम्कँदै गरेको कुरालाई ख्यालै गरेन । सन् २००१ मा अर्को दुईवटा दूरगामी असरका घटनाहरू घटे । पहिलो, चीनले विश्व व्यापार संगठन (WTO) मा सदस्यता लिई विश्व स्वतन्त्र बजारमा प्रवेश ग¥यो । दोस्रो, अमेरिकाको ट्वीन टावरमा अलकाइदाको हमला भयो । चीनको WTO मा प्रवेशको दूरगामी असरको बारेमा पश्चिमा शक्ति र विद्वानहरूले आँकलन नै गरेनन् वा समाजवादी देश पुँजीवादी व्यवस्थामा छिरेको भनी दङ्ग परे । तर, उनीहरूले दोस्रो घटनाको विवेकपूर्ण तरिकाले विश्लेषण नै नगरी यसलाई अमेरिकामाथिको ठूलो चुनौतीको रुपमा लिई अफगानिस्तान र इराकमा मनपरी बमबारी सुरु गर्दै मध्यपूर्वमा विध्वंस मच्चाए । चीनको WTO मा प्रवेशको अर्थ एक अरबभन्दा बढी जनसङ्ख्या विश्व श्रम बजारमा प्रवेश गर्नु पनि हो । यसको प्रभाव र असरको बारेमा पश्चिमा शक्तिले भेउ नै पाएनन् । लेखकका अनुसार यस घटनाको १७ वर्षपछि अमेरिकामा ट्रम्पले चुनाव जित्नु र बेलायतमा जनमतसङ्ग्रहबाट ‘ब्रेक्जीट’ (बेलायतको EU बाट बहिरगमन) अनुमोदन हुनु यसकै परिणति थियो ।
तीन दशकमा विश्वमा भइरहेका यी आर्थिक गतिविधिलाई मात्र पश्चिमा शक्तिहरूले विवेकपूर्ण तरिकाले विश्लेषण गर्न नसकेका होइनन्, बरू संसारका अरु राजनैतिक घटना र मुद्दाहरूलाई पनि उनीहरूले विगत २०० वर्षमा जसरी मुढेबलले आफ्नै अधीनमा राख्नु खोजे, त्यसले पनि अन्तर्राष्ट्रिय राजनैतिक घटना बिगँ्रदै ती पश्चिमा शक्तिलाई नै आत्मघाती हुन पुगेको लेखक महाबुबनीको ठहर हो । इस्लाम धर्म र समुदाय र सिङ्गो मध्यपूर्वको राजनीतिप्रति पश्चिमा शक्तिको रवैया निकै मूर्खतापूर्ण रहेको, शीतयुद्धको अन्त्य सँगसँगै रुस प्रजातन्त्रतर्फ उन्मुख हुँदै गरेको र यो युरोपको लागि केही खतरा नहँुदा नहुँदै पनि सोभियत सङ्घबाट स्वतन्त्र भएका र वार्सा सन्धी (Warsaw Pact) का देशहरूलाई एक–एक गरी उत्तर एटलान्टिक सन्धी संगठन (NATO) को छातामुनि ल्याउने मूर्खतापूर्ण कार्यले रुसी जनताले पुटिनजस्तो इच्छाशक्ति भएको र हक्की स्वभावको व्यक्तिलाई शासकका रुपमा अगाडि ल्याउन बाध्य भए । अझ हेनरी किसिजरजस्तो व्यक्तिले “सबै राष्ट्रहरूलाई NATO को छातामुनि ल्याउनुपर्ने कुरा कुनै प्राकृतिक नियम सङ्गतसमेत छैन” भन्ने चेतावनीलाई बेवास्ता गरी पुटिन सत्तामै रहँदै युक्रेनलाई NATO को छातामुनि ल्याउने पश्चिमा शक्तिको बठ्याइँले रुसलाई पटक–पटक अपमानित गर्ने कार्यको परिणामस्वरुप क्रिमियालाई आफ्नो भूमिमा गाभ्न रुसलाई बाध्य पारेको जिकिर गरेका छन्–लेखक महाबुबनीले । पश्चिमा शक्तिले प्रजातन्त्रलाई जबरजस्ती संसारभरका देशहरूमा निर्यात गर्न खोजेको फेहरिस्त नै प्रस्तुत गरेका छन् लेखकले पुस्तकमा ।
हिजो युरोपमा आएको पुनर्जागरण र त्यसपछिको प्रबोधनको युगले (The Age of Reason/Enlightenment ) मा जसरी पश्चिमले (The West) हरेक कुरालाई तर्कपूर्ण तरिकाले पारख गरी अगाडि बढ्ने तरिका (method of reasoning) र विज्ञान र प्रविधिलाई जीवनोपयोगी बनाउन बाँकी विश्वलाई सिकायो । अब बाँकी विश्व त्यसमा अभ्यस्त भइसकेकोले पश्चिमको अविवेकीपूर्ण कार्यको लागि आंैला ठड्याउन ऊ सक्षम छ । यही सिलसिलामा ट्वीनटावर हमलाको बेलामा ल्याटिन अमेरिकी प्रसिद्ध उपन्यासकार मार्खेजले अमेरिकी जनतालाई गरेको प्रश्न पुस्तकमा यसरी उदृत गरेका छन् ,“युद्ध र आतङ्कले तपाईंको आँगनमा लाखेनाच देखाइरहँदा र तपाईंको छिमकीको बैठकमा शान्ति छाइरहँदा तपाईंलाई के अनुभूति भइरहेछ ? … तपाईंंलाई थाहा छ साथी ? सन् १८२४ देखि १९९४ सम्म तिम्रो देशले ल्याटिन अमेरिकाका देशहरूविरुद्ध ७३ पल्ट आक्रमण गरिसकेको छ । शताब्दीभरि तिम्रो देशले संसारका कुनै न कुनै देशहरूसँग युद्ध लडिरहे । … अहिले तिम्रै आँगनमा त्यो युद्धको बाछिटा पर्दा तिमीलाई कस्तो लागिरहेछ, साथी ?”
लेखक पश्चिमा शक्तिलाई संसारको मानवता एउटै भएको र ७ अर्ब जनताको यो साझा पृथ्वीको हितको लागि संयुक्त राष्ट्र सङ्घजस्ता बहुपक्षीय मञ्चलाई नै बलियो बनाउनुपर्ने आव्हान गर्दै पश्चिमा शक्तिको अब थप अदूरदर्शी र आत्मघाती कार्य गर्न रोक्दै नयाँ विवेकपूर्ण विश्व व्यवस्थाको लागि 3M को तीन सूत्रीय रणनीति अपनाउन पश्चिमा शक्तिलाई आह्वान गरेका छन् । लेखका अनुसार पहिलो ः M = minimalist approach हो, यस नीतिअनुसार अब बाँकी विश्व सक्षम भइसकेको हुनाले पश्चिमा शक्तिले आफ्नो हैकमवादी भूमिका साँघुरो पार्दै लाने, दोस्रो ः M = multilateral leg हो । यो नीति भनेको जलवायु परिवर्तन, इबोला भाइरस, विश्व वित्तीय सङ्कटजस्ता भीमकाय सङ्कटलाई बहुपक्षीय संयन्त्रले समाधान गर्ने र तेस्रो ः M = Machiavellian approach हो, यस नीतिअनुसार १६ औं शताब्दीका इटालीका राजनैतिक दार्शनिक म्याकावलीका अनुसार विवेकलाई प्रवद्र्धन गर्नु हो जसले न्यायपूर्ण समाजको स्थापना हुन्छ र जहाँ सम्पूर्ण नागरिकको कल्याण हुन्छ । लेखकले पश्चिमा शक्तिलाई २५ सय वर्ष पहिलेका चिनियाँ युद्धकलाका लेखक एवम् गुरु Sun Tzu को ‘पहिला आफूलाई चिन्नु अनि शत्रुलाई’ भन्ने रणनीतिलाई पनि स्मरण गराउँदै अहिले आफ्नो खस्कँदै गएको शक्ति र साखको ख्याल गरेरमात्र अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।
पुस्तक सानो भए पनि तथ्य र तर्क मननयोग्य छन् । विश्वको घटना र परिघटनालाई पश्चिमा चस्माले मात्र हेर्न अभ्यस्त नेपालका बुद्धिजीवी भनाउँदाहरूको लागि यो एसियाको आँखाले गरेको विश्लेषण नौलो लाग्न सक्छ । अमेरिकी नेतृत्वको गठबन्धनले जे बदमासी र दादागिरी गरे पनि हामी गरिब नेपालले मुखमा बुझो लगाएर बस्नुपर्छ भन्ने दरिद्र मानसिकता र मगन्ते कूटनीतिज्ञहरूले पनि यो पुस्तकले पस्केको विश्वको बदलिँदो तस्वीरलाई शान्त भएर नियाले राम्रै हुनेछ ।
२ फागुन २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *