भर्खरै :

समाजको आमूल परिवर्तन र युवा विद्यार्थीको दायित्व

हरिसुन्दर सुवाल
“देशमा गणतन्त्र आइसकेको छ, अब आन्दोलन र सङ्घर्षको कुरो गर्नु व्यर्थ छ । नेपालमा जुनसुकै सरकार आए पनि आफ्नै दुनो सोझ्याउने त हो नि । यस्तो बेला देश कसरी विकास हुन्छ ? बरु विदेशीले नै शासन चलाए कमसेकम जनताले धेरै सुविधा पाउने थिए । बरु चीन या भारतले लिइदिएको भए हामीले अहिलेको जस्तो अलपत्र अवस्थामा त जिउनु पर्दैनथ्यो ।” यो कस्तो विडम्बना हो । सार्वभौम देश नेपालमाथि वैदेशिक हस्तक्षेपले हरेक क्षेत्र नराम्रोसँग गाँजिएकोे अवस्थामा पनि नेपाली युवाहरू यसरी निराशा व्यक्त गर्दै छन् । हो, देशको बागडोेर सम्हाल्ने शासक दलहरूले बहुसङ्ख्यक शोषित पीडित नेपाली जनताको हक हितका लागि कुनै ठोस काम गर्न सकेका छैनन् । बरु यसको ठीक विपरीत भ्रष्ट मानसिकता विकास गराउने, विदेशी पुँजीको दलाली गर्न सिकाउने, पद र पैसाको निम्ति दास बनाउने प्रवृत्ति अन्त्य हुनु नितान्त आवश्यक छ । गरिबी, बेरोजगारी समस्या, उच्च शिक्षाका लागि पहुँच नपुग्नु, अवसरको अभाव, पक्षपात, भनसुन गरी जागीर खाने, अनेक लोभलालचमा फस्ने फसाउने आदि कारण युवाहरूबीच एक किसिमको राजनीतिक वितृष्णा छाएको छ । तर देश र समाजको आमूल परिवर्तनको लागि युवा विद्यार्थीहरूले उत्साह र थप ऊर्जाका साथ राजनीतिक सामाजिकलगायत देश विकासका विविध पक्षहरूमा क्रियाशील हुनु अनिवार्य छ ।
हालै अमेरिकी राष्ट्रपति ट्रम्पले भुटान र नेपाल भारतको नियन्त्रणमा छ भनी आपत्तिजनक अभिव्यक्ति दिएको समाचार आएको छ । संसारमा सबभन्दा बढी स्वतन्त्रता र प्रजातन्त्रको वकालत गर्ने अमेरिकाजस्तो महाशक्ति देशका राष्ट्रपतिले यस्ता निन्दनीय तथा आपत्तिजनक अभिव्यक्ति दिनु कुनै पनि हिसाबमा उचित होइन । शक्तिशाली हतियार र डलरको आडमा सार्वभौम देशहरूप्रतिको बल मिचाइ र हस्तक्षेप गर्ने अमेरिकी साम्राज्यवादको विरोध विश्वभरिका न्यायप्रेमी तथा स्वतन्त्रताप्रेमी जनताले गर्दै आइरहेका छन् । हुन त हरेक देशको भविष्य त्यस देशका युवा शक्तिको क्रियाशीलताले निर्धारण गर्दछ । युवाहरू आफ्नो जीवन यापनका अलावा सामाजिक विकास तथा सांस्कृतिक स्तर उकास्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न सदा अग्रसर हुनुपर्दछ । निश्चय नै देश समाजको परिवर्तन र क्रान्तिका लागि अग्रणी भूमिका खेल्न सक्ने युवा वर्गले कुनै पनि खालको वैदेशिक हस्तक्षेपलाई स्वीकार्न सक्ने छैनन् । २१ औं शताब्दीमा पुगिसक्दासमेत साम्राज्यवादी देशहरूले स–साना सार्वभौम देशहरूमाथि हैकम चलाउने, ती देशका प्राकृतिक स्रोत, सम्पदामाथि आफ्नो प्रभुत्व जमाउने दुष्प्रयास गर्दै आइरहेका छन् । यसलाई कुनै पनि स्वतन्त्र प्रजातान्त्रिक देशका जनताले चर्को विरोध गर्नु स्वाभाविक हो । यतिबेला लेटिन अमेरिकी देश भेनेजुयलाको आन्तरिक मामिलामाथि साम्राज्यवादी अमेरिकी हस्तक्षेप र नाकाबन्दीका कारण भेनेजुयलामा देखिएको मानवीय सङ्कट समाधानतर्फ विश्वभरका जनताको चासो बढेको छ । समाजवादी देश भेनेजुयलाका वैधानिक राष्ट्रपति निकोलस माडुरोको पक्षमा विश्वभरका १७० राष्ट्रहरूले समर्थन जनाइसकेका छन् भने अमेरिकी साम्राज्यवादको इशारामा सडकबाटै आफूलाई राष्ट्रपतिको रुपमा स्वघोषणा गरेका विपक्षी दलका नेता हुवाँ गुइएडोको समर्थन केबल २३ देशले मात्र गरेको देखियो । अर्थात् ९० प्रतिशत विश्व जनमत बोलिभारियाली क्रान्तिका नायक ह्युगो चाभेजका उत्तराधिकारी निकोलस माडुरोको समर्थनमा देखिएबाट माडुरोको लोकप्रियता स्पष्ट हुन्छ । यसबाट विश्वभर साम्राज्यवादी अमेरिकी दादागिरीविरुद्ध समाजवादी लहर खडा भइरहेको आँकलन गर्न सकिन्छ । भेनेजुयलामाथि संरा अमेरिकाले सैन्य कारबाहीको धम्की दिँदै आइरहेको भए पनि भेनेजुयाली सेनामा आफ्नो बलियो पक्कड जमाउन सफल वामपन्थी नेता माडुरोको पक्षमा लाखौं भेनेजुयालीहरूले प्रदर्शनमा भाग लिइरहेका छन्, पितृभूमि मुक्तिका लागि अथकरुपमा लड्ने साहस जुटाइरहेका छन् ।
आन्तरिक मामिलामाथि वैदेशिक हस्तक्षेप र चलखेल कुनै पनि हिसाबले सचेत जनताका लागि सह्य हुँदैन । आफनो देशको स्वाधीनता र स्वतन्त्रताका लागि युवा विद्यार्थीहरूले सङ्घर्ष गर्नैपर्ने हुन्छ । भेनेजुयाली युवाहरू आफ्नो देशको निम्ति मर्न तयार छन् । अमेरिकी साम्राज्यवादको हरेक इँटाको जवाफ ढु·ाले दिने अठोटका साथ देशभक्तिपूर्ण भावना प्रदर्शन गरिरहेका छन् । भियतनामका क्रान्तिकारी नेता हो चि मिन्हले भन्नुभएजस्तै हजार वर्ष लडिसक्यौं, आवश्यक परेको खण्डमा हामी फेरि हजार वर्ष लड्न तयार छौँ । हो, हरेक देशको सिमाना रगतले सिंचिएको हुन्छ । हजारौं वीर योद्धा तथा सहिदहरूहरूको त्याग र बलिदानबाट देशमा स्वतन्त्रता र प्रजातन्त्र स्थापित हुन्छ । ती तमाम वीर योद्धाहरूको सङ्घर्षमय जीवनबाट पाठ सिकेर आजका युवा पिँढीले देशको सार्वभौमिकता तथा भूअखण्डता रक्षार्थ लड्नु परम कर्तव्य हो । देशका जिम्मेवार युवा वर्ग एकजुट भई लड्ने हो भने कुनै पनि देशी या विदेशी ठूला शक्तिलाई परास्त गर्न सकिन्छ । त्यसका लागि युवाहरूलाई उचित मार्ग निर्देशनको खाँचो छ । सामाजिक सञ्जालमा पार्टी भोज जाँदा साथीहरूसित खिचेका फोटोहरू पोष्ट गर्ने, लाइक शेयर गर्ने गरेजस्तै विभिन्न देशहरूमा भइरहेका अमानवीय हस्तक्षेपका कारण उत्पन्न समस्या र चुनौतिसम्बन्धी समाचार तथा लेखहरू सम्प्रेषण गर्ने, तिनका बारे बहस, छलफल र अन्तरक्रिया गर्ने गर्दा केही अर्थ रहने देखिन्छ । तर यहाँका राजनीतिक सङ्घ सङ्गठनका नेतृत्वकर्ताहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे युवाहरूलाई बौद्धिक खुराक प्रदान गर्नु आवश्यक छ । स्वतन्त्रता र मातृभूमि मुक्तिका लागि भएका अधिकांश राष्ट्रिय अन्तर्राष्ट्रिय आन्दोलन र सङ्घर्षहरूमा देशभक्त क्रान्तिकारी युवा विद्यार्थीहरूले निर्वाह गरेको अग्रणी भूमिकाबारे अध्ययन अध्यापन हुनु जरुरी छ ।
आदर्श समाज स्थापनाका लागि सबै जिम्मेवार पक्षले गम्भीरता देखाई युवा विद्यार्थीहरूको हौसला बढाउने नीति तय गर्नुपर्दछ । साथै युवा विद्यार्थीहरूलाई नैतिकवान बनाई देश र समाजप्रति जिम्मेवार, कर्तव्यनिष्ट तथा समर्पित तुल्याउन व्यवहारिक शिक्षा दिने र हरपल हरदम उत्प्रेरणा जगाउने खालका सामाजिक एवम् सांस्कृतिक गतिविधिलाई तीव्रता दिनु पर्दछ । युवा विद्यार्थीलाई अब राज्यले स्वयम्सेवकको रुपमा परिचालन गर्नेमात्र नभई देश विकासको मूल प्रवाहमा समेट्ने, निर्माण योजना, स्वरोजगार, रचनात्मक आर्थिक सबलीकरण, सीपमूलक तालिम सञ्चालनजस्ता कार्यक्रमहरूमार्फत रोजगार बनाउने काममा लगाउन दीर्घकालीनरुपमा ठोस नीति तयार गर्नुपर्दछ ।
सूचना र प्रविधिको द्रुत विकास भइरहेको वर्तमान अवस्थामा युवा विद्यार्थीले अन्तर्राष्ट्रिय राजनीतिक घटना, दृश्य परिदृश्यबाट शिक्षा लिई सक्षम योग्य नागरिकको रुपमा अघि बढ्ने प्रण गर्नुपर्दछ । विश्वशान्ति, आपसी हित र भलाइको निम्ति युवा विद्यार्थीहरूले ठूला शत्रुका विरुद्ध एकजुट हुन सिक्नैपर्ने हुन्छ । आज अमेरिकी साम्राज्यवादले सार्वभौम समाजवादी देश भेनेजुयलालाई दोस्रो इराक, इरान, लिविया र सिरिया बनाउन खोजेको कारण लाखौं भेनेजुयालीहरू सङ्कटको घेरामा परेका छन् । यद्यपि सैद्धान्तिक स्पष्टता र नेतृत्वको दूरदशिताका कारण अमेरिकी सैन्य कारबाहीको धम्कीदेखि भेनेजुयालीहरू कति पनि विचलित देखिंदैनन् । यसरी युद्धको सम्भावित खतरा र लामो समयको नाकाबन्दी भए पनि भेनेजुयलाका जनताले मुटु कमाएका छैनन् । बरु देशको स्वाधीनता र सार्वभौमिकता रक्षार्थ साम्राज्यवादी शक्तिहरूसित लड्ने दृढ अठोट देखाइरहेका छन् । यसबाट प्रत्येक नेपाली युवा विद्यार्थीले देशको निम्ति एक भई लड्ने भावनाको विकास गर्नुपर्दछ । देशमा आमूल परिवर्तनका लागि शिक्षक, प्राध्यापक, बुद्धिजीवीलगायत सबै तह र समुदायका जिम्मेवार व्यक्तिहरूले आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय भूमिका निभाउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *