भर्खरै :

बदलिएको नयाँ पुस्ता

लरेन्स ब्राहम
बितेका केही महिना यता संसारभरका धेरै मिडियाले चीनको सुधार र खुलापन नीतिबारे धेरै समाचार लेखे । चीनले सुधार र खुलापन नीति अङ्गालेको चालीस वर्ष प्रवेशको सन्दर्भमा धेरैले यो विषयलाई चर्चाको विषय बनाए । गरिबीलाई पराजित गरेर आधुनिक समाज र संसारकै दोस्रो ठूलो अर्थतन्त्रको रुपमा उदाउन चीनले सामना गर्नुपरेका हजारौं प्रतिकूलताबारे चीनभित्र र बाहिरका समाचारमाध्यमले प्राथमिकताका साथ चर्चा गरे ।
चीनले आज सामना गरिरहेका नयाँ–नयाँ चुनौतीबारे पनि चर्चा गरिए । तीमध्ये विशेषतः आयस्रोतमा आएको अन्तरबारे निकै प्राथमिकताका साथ चर्चा गरियो । तथापि यो समस्या चीनको मात्र होइन संसारभरि नै यो समस्या देखिएको छ । युरोप र संरा अमेरिकामा आयमा भएको असमानताका कारण थुप्रै सामाजिक समस्या देखिएका छन् ।
तर, पर्यवेक्षकहरूले चीनमा बढ्दो पुस्तान्तरणबारे कमैमात्र ध्यान दिएका छन् । आयस्रोतमा अन्तरजस्तै युरोप र संरा अमेरिकामा पनि यो समस्याले विकराल रुप लिएको छ ।
के चीनका योजना निर्माताहरू युवाहरूसम्म पुगेका छन् ? के चीनका मिडिया युवासम्म पुगेका छन् ? अहँ छैनन् । किनभने उनीहरू एउटै भाषा बोलिरहेका छैनन् । आजभोलि विश्वव्यापी बनिसकेको प्रविधिले चीनमा पुस्तान्तरको दुरी फराकिलो बनाएको छ । प्रविधिले नयाँ भाषा जन्माइरहेको छ ।
हाम्रो पुस्ताले बोल्ने भाषाभन्दा आजका युवाहरूले बोल्ने भाषा निकै भिन्न छ । जसरी हरेक भाषा समयसँगै विकास हुँदै जान्छ, चिनियाँ भाषा पनि हजारौं वर्षको इतिहासदेखि उल्लेख्य मात्रामा परिवर्तन हुँदै आएको छ ।
अङ्ग्रेजी भाषामा पनि उल्लेखनीय परिवर्तन भएको छ । धेरै मानिस आफूलाई शेक्सपियर मनपर्ने बताउँछन् । तर, वास्तवमा उनीहरूले शेक्यपियरको भाषा बुझेका हुँदैनन् । शेक्सपियर बुझ्न तपाईँले हरेक वाक्य वाक्यलाई आजको भाषामा अनुवाद गर्नुपर्ने हुन्छ किनभने शताब्दियौंदेखि अङ्ग्रेजी भाषामा धेरै परिवर्तन हुँदै आइरहेको छ ।
प्रविधिले भाषामा आएको यो परिवर्तनलाई सर्वत्र पु¥याएको छ । अमेरिका, युरोप र एसिया जताततै भाषामा आएको परिवर्तन प्रविधिको यानमा चढेर पुगेको छ । चिनियाँ भाषा पनि आज अरु कुनै पनि समयमा भन्दा तीव्रगतिले परिवर्तन भइरहेको छ ।
तर, चीनमा विकास भइरहेको यो नयाँ प्राविधिक भाषा अमेरिका वा युरोपका युवाहरूको भाषाभन्दा केही फरक छ कि ? अहँ छैन ।
आजभोलि हामी निकै प्रतिस्पर्धापूर्ण समयमा बाँचिरहेका छौँ । नवदम्पत्तीहरू आफ्नो जीवनबारे धेरैप्रकारले सोच्ने गर्छन् । कसरी जीवन अघि बढाउने र कसरी समृद्ध बन्नेबारेमा विचार गर्छन् । आजभोलि चीनमा धेरै नवदम्पत्तीहरू छोराछारी पाउनेतिर भन्दा आफ्नो वृत्ति विकास (करियर), यात्रा र आफ्नै जीवन शैलीमा ध्यान दिन थालेका छन् ।
यो अवस्था युरोपको भन्दा फरक छैन । यो एउटै प्रकारको धार हो । यो धारमा हामी चिनियाँ संस्कृति होइन, विश्वव्यापी अर्थतन्त्र र प्रविधि फेला पार्नसक्छौैँ ।
चिनियाँहरू पहिले आफ्नो परिवार र भविष्यबारे निकै जोडिएका हुन्थे । तर, आजभोलिका युवा दम्पत्तीहरू बालबच्चा जन्माउन नै चाहिरहेका छैनन् ।
यो खासमा प्रगति हो वा दुर्गति ? बच्चा जन्माउन नचाहने दम्पत्तीबारे चीनको अनुभव युरोपको अनुभवसँग धेरै मेल खान्छ ।
शिक्षा निकै महँगो भइरहेको छ । दम्पत्तीहरू आफ्ना छोराछोरीलाई सर्वोत्कृष्ट शिक्षा दिन चाहन्छन् । युरोप र उत्तर अमेरिकामा जस्तै चीनमा पनि धेरै दम्पत्तीका लागि बालबच्चा हुर्काउने पैसा निकै धेरै ठूलो आकारको हुने गरेको छ ।
त्यसमाथि प्रविधिले ‘मपाईँ मार्का’ पुस्ता जन्माएको छ । अधिकांश युवाहरू आफ्नो जीवन, आजको जीवन र खुशीमा केन्द्रित छन् । उनीहरूलाई परिवारको बारे कमैमात्र चासो हुन थालेको छ । पछिल्लो पुस्ताको निम्ति केही छोडेर जानुपर्छ भन्ने भावना उनीहरूमा क्षीण बन्दै गएको छ । धेरैले सोध्न सक्छन्, “उनीहरूले किन यी सबै कुराको चिन्ता लिनुपर्छ र ? आखिरमा मानिसको ठाउँ सबै रोबोटले नै लिने हो ।”
छोटोमा भन्नुपर्दा, प्रविधि र सामाजिक सञ्चारमाध्यमका कारण आजको चिनियाँ युवा अमेरिकी र युरोपेली युवाबीच निकै कममात्र भिन्न र धेरै समान हुन थालेका छन् । प्रविधिले विकास गरेको भाषा र सञ्चारमा सरलताले आज चीनमा बुबाआमा पुस्ता र छोराछोरी पुस्ताबीच अन्तर बढ्दै गएको छ ।
सुधार र खुलापनको नीतिले आजका चिनियाँ युवालाई भौतिक संसारभन्दा पर जाने आधार तयार गरिदियो भन्ने एकथरी दृष्टिकोण छ । यसले उनीहरूलाई बाँकी संसारको हिस्सा बन्ने अवसर प्रदान गरेको छ । नयाँ पुस्तालाई यो नीतिले अझ एक आपसमा गाँसिएको, बहुआयामिक र ऊर्जाशील विश्व नेता बन्ने अवसर दिएको छ ।
युरोप र अमेरिकामा आज उठिरहेको राष्ट्रवाद, लोकप्रियतावाद, भूमण्डलीकरण र आक्रोशले संसारलाई अझ धुव्रीकरणतिर दोहो¥याएको छ । सामाजिक सञ्जालहरूले हिंसा र आक्रोशलाई पनि फैलाइरहेका छन् । धु्रवीकरण आज मूलधार बनिरहेको छ ।
मेरो विचारमा एसियाली मूल्य मान्यताको आन्तर्य भनेको सद्भाव र सहकार्य हो । यिङ–याङ, कालो–सेतो विपरीतार्थक होइनन् । उनीहरू आपसमा जोडिएको पूर्णता हो । के चिनियाँ युवाले यो आदर्शलाई संसारसम्म पु¥याउन सक्छन् ? के उनीहरूले यससम्बन्धी एप्स र सामाजिक सञ्चार भिडियो तयार गर्नसक्छन् ?
मेरो विचारमा चीन, भारत, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका युवाका मूल्य मान्यताको आन्तर्यमा सद्भाव र सन्तुलन छन् । यो नै उनीहरूको सांस्कृतिक डीएनए हो ।
के हामीले वातावरण संरक्षण, सञ्चार, स्वास्थ्य सेवा र अन्तरिक्ष यात्रा जस्ता नयाँ क्षेत्रको विकासको लागि प्रविधिलाई दर्शनसँग जोड्न सक्छौं ? त्यसो गर्न सके हामीले आजभन्दा निकै भिन्न खालको पृथ्वी बनाउन सक्नेछौं । त्यो विश्व वैमनस्यता र परिणामशून्यताबाट मुक्त हुनेछ ।
कुनै एउटामात्र देश नै नम्बर १ हो भन्ने निष्कर्षले हामीलाई पछाडि धकेल्नेछ । त्यसो हुँदा सिङ्गो संसारको लागि साझा मानिसको रुपमा हामी अघि बढ्न सक्नेछैनौँ ।
त्यसकारण चीन र बाँकी विश्वको नयाँ पुस्तालाई कसरी हेर्ने भन्ने कुरा वास्तवमै हामीमा भरपर्ने कुरा हो । नयाँ पुस्ता आधुनिक सञ्चारका कारण सिङ्गो संसारसँग पूर्णतः एकीकृत भइसकेको छ ।
उनीहरूले आफ्ना आमाबुबाको पुस्ताका सफलता र कमजोरीबाट सिकेर अझ सुन्दर संसार बनाउन काम गर्ने आशा गरौं । म यो पुस्तालाई विश्वास गर्छु ।
(लेखक हिमालय कन्सेससका संस्थापक निर्देशक र सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेसनका अनुसन्धानकर्ता हुन् ।)
स्रोतः चाइना डेली
नेपाली अनुवादः अनिष

Leave a Reply

Your email address will not be published. Required fields are marked *