भर्खरै :

आत्महत्या र समाज

सुरेश बखुन्छे
विषय प्रवेश
हिजोआज नेपाली समाजमा दिनानुदिन आत्महत्याका घटना बढिरहेका छन् । कानुनतः आत्महत्यालाई अपराधको संज्ञा दिइएको भए तापनि यो क्रम रोकिनुको सट्टा झन्झन् झाँगिँदै आइरहेको छ । आखिर किन गर्छन् त मान्छेले आत्महत्या ? भन्ने प्रश्नको उत्तर सजिलै हामी भनिदिन्छौँ, “प्रेममा धोको पायो होला ।” वा भनिदिन्छौँ “आफ्नो इच्छा पूरा भएन होला ।” वा यस्तै कुनै अनुमानित उत्तर भनिदिन्छौँ । झट्ट हेर्दा वा सुन्दा आत्महत्यालाई हामी मनोवैज्ञानिक कारणको परिणतिका रूपमा बुझ्ने कोशिश गर्दछौँ र गर्दै आएका छौँ । के आत्महत्या मनोवैज्ञानिक कारणले हुने घटना हो त ? यही प्रश्नको उत्तर दिने जमर्को यस आलेखको हो ।
चुरो कुरा
अपराध होस् वा दण्ड मानव समाजको विकासक्रमसँगै विकसित भएको मान्यता हो । मानव समाजको प्राचीन युगलाई हेर्ने हो भने त्यहाँ मान्छेले मान्छेलाई मार्ने र मान्छेकै मासु खाने गरेको इतिहास छ । दास समाजमा त दास मालिकले दासलाई काट्न पाउने छुट रहेको थियो । मानव समाजको विकासक्रमकै कुरा गर्ने हो भने पछिल्लो समयमा आत्महत्या बढेको देखिन्छ । कानुनतः यस्तो कार्यलाई अपराध नै भनिएको भए तापनि यस्तो कार्य गर्ने स्वयम् मरिसकेको हुने हुँदा यस किसिमको अपराध गर्नेलाई सजाय दिन सकिँदैन । मृत्यु होस् वा हत्या होस् वा चाहे आत्महत्या नै किन नहोस् त्यसको प्रत्यक्ष वा परोक्ष सम्बन्ध मानव समाजसँग जोडिएको हुन्छ र छ पनि ।
हत्या वा आत्महत्या मान्छेले मानव समाजभित्रै गरिने कार्य हो । आफ्नो रिस, आवेग, बदला वा स्वार्थ पूरा गर्न र गरिसकेपछि मान्छेले हत्या गर्ने गरेको देखिन्छ । यो भनिरहँदा हत्या नितान्त व्यक्तिगतजस्तो लाग्नसक्छ तर यथार्थतः व्यक्तिलाई रिस उठ्ने, व्यक्ति आवेगमा आउने, व्यक्तिले बदला लिने वा स्वार्थ पूरा गर्नेजस्ता कार्यको पछाडि सामाजिक मूल्य–मान्यता, चालचलन वा अन्य पक्षले भूमिका खेलिरहेको हुन्छ । आदिमकालमा मान्छेले मान्छेलाई गर्ने हत्या भनेको प्राकृतिक स्रोत र साधनका लागि गरिएको देखिन्छ भने वर्तमान समाजमा मान्छे निर्मित विभिन्न वस्तु तथा पैसाका लागि गर्ने गरेको देखिन्छ । यसर्थ हत्याको कारण स्वयम् मानव समाज र उत्पादन सम्बन्धमा आएको फेरबदल तथा त्यससँग सम्बन्धित अन्य दृश्य वा अदृश्य तत्व नै हो । यो मानव समाजले नै निर्माण गरेको हो ।
आत्महत्या अर्थात् आपूmले आपैmलाई मार्ने कार्य । मान्छेले किन आफ्नै हत्या गर्छन् ? भन्ने सन्दर्भमा समाजशास्त्री इमाइल दुर्खिमले आफ्नो विचार स्पष्टरूपमा राखेका छन् । उनका अनुसार सामाजिक सङ्गति तथा असङ्गतिका कारण मान्छेले आत्महत्या गर्छन् । आत्महत्या समाजमा हुने नियमित प्रक्रिया हो, जुन सामाजिक एकताको स्तर र प्रकारका आधारमा थपघट हुने गर्दछ । उनका अनुसार आत्महत्याको सम्बन्ध प्रत्यक्षरूपमा व्यक्ति र समाजको एकता र नियमनसँग सम्बन्धित छ । कुनै व्यक्तिको समाजमा एकदम धेरै एकता भएमा परोपकारवादी आत्महत्या रोज्छन् भने न्यून एकता भएमा अहम्वादी आत्महत्या रोज्न पुग्दछन् । त्यस्तै धेरै नियम नभएमा भाग्यवादी र न्यून नियम नभएमा मान्यताविहीन आत्महत्या गर्ने गर्दछ ।
दुर्खिमले अगाडि सारेको आत्महत्याहरूमध्ये मान्यताविहीन आत्महत्या वर्तमान सामाजिक संरचनाका कारण उत्पन्न भएको हो । आपूm समाजअनुकूल बन्न नसक्दा समाजप्रति वितृष्णा पैदा हुन्छ र मान्छेले मान्यताविहीन आत्महत्या रोज्न पुग्दछ । दुर्खिमको शब्दमा भन्नुपर्दा व्यक्तिले आपूmअनुकूल समाज नपाउँदा वा समाजअनुकूल आपूmलाई ढाल्न नसक्दा मान्छेहरू समाजप्रति ‘एनोमी’ अर्थात् समाजप्रति वितृष्णा पैदा हुन्छ र आत्महत्या गर्छन् । पुँजीवादको विकाससँगै यस्तो किसिमको आत्महत्या दर बढेको उनको ठम्याइ रहेको छ अर्थात् पुँजीवादमा नै बढीजसो आत्महत्या हुने गरेको देखिन्छ ।
आत्महत्या र नेपाल
आत्महत्याको दर देशअनुसार फरक भएको भए तापनि सायद त्यस्तो देश छैन, जहाँआत्महत्या नभएको होस् । यही परिप्रेक्ष्यमा नेपाल पनि अछुतो रहनसक्दैन । तर, पहिले आत्महत्याका कुरा कमैमात्र सुनिने गरिएकोमा हाल दिनानुदिनजस्तै घटनाको रूपमा आत्महत्या देखापर्न थालेको छ । यस्तो हुनुको प्रमुख कारण बदलिँदो नेपाली समाज नै हो भन्न सकिन्छ । वर्तमान नेपाली समाज प्रत्यक्ष वा परोक्ष रुपमा पुँजीवादमा प्रवेश गरिसकेको छ । पुँजीवादी समाज भनेकै लोभ, लालच, चोरी, हत्या, भ्रष्टाचार तथा अन्य आपराधिक गतिविधिले प्रश्रय पाउने तथा व्यक्तिवादी चरित्रको विकास हुने समाज हो । उमेरमै एक्लोपनाको अनुभव गर्ने, समाजमा कममात्रै घुलमिल हुने आदि कारण आपूmलाई समाजअनुकूल वा समाजलाई आपूmअनुकूल ढाल्न नसक्दा दिनानुदिन आत्महत्या बढ्दै गएको स्पष्ट हुन्छ ।
हिजो आज बालबालिकाको आत्महत्या हुने दर पनि बिस्तारै बढ्दै गएको तथ्य सार्वजनिक हुँदै आएको छ । हिजो आजका बालबालिकाहरू मोबाइल वा कम्प्युटरमा बढी समय बिताउने, विद्यालयमै धेरै समय बिताउनुपर्ने जस्ता कार्यले समाजबाट बिस्तारै अलग्ग हुँदै गएको यथार्थ कमैले मात्र बुझेका छन् । यही कारण पनि बालबालिकाले आत्महत्या गर्ने गरेका हुन् । आमाबुबा आफ्नै काममा लाग्नुपर्ने बाध्यता, हजुरबा, हजुरआमाहरू वृद्धाश्रममा राख्ने परिपाटी तथा अन्य यावत कारणले बालबालिका एक्लोपनाको सिकार हुँदै गएको र अन्तमा आत्महत्या गर्ने गरेको स्पष्ट हुन्छ । वयस्कका हकमा भन्ने हो भने आफ्नो इच्छा आकाङ्क्षा पूरा नभएको कारण आत्महत्या रोज्ने गरेको देखिन्छ । यसका साथै गरिबी वा अन्य बाध्यात्मक कारणले पनि आत्महत्या गर्ने गरेको देखिन्छ । यो सब मानव समाज जटिल बन्दै जाँदा विकसित पुँजीवादी संस्कृतिकै परिणाम हो ।
अब के गर्ने ?
मानिसबाहेक अन्य कुनै पनि प्राणी वा वनस्पतिले आत्महत्या गरेको समाचार न हामीले सुनेका छौँ न त गर्ने गरेको तथ्य वा इतिहास नै छ । यो सन्दर्भमा भन्नुपर्दा मानव विकासको सुरुका चरणतिर आत्महत्या गर्ने गरेको पाइँदैन किनकि त्यसबेलाको मानव समाज भनेको प्रकृतिमा निर्भर थियो । बिस्तारै मानव सभ्य र सुसंस्कृत बन्ने क्रममा मान्छेले विकास गरेका प्रविधि, नीतिनियम, मूल्यमान्यता आदि नै आत्महत्याको कारक तत्व हो । अझ त्योभन्दा पनि प्रमुख कुरा भनेको वर्तमान पुँजीवादी समाज र त्यो सँगै विकसित विभिन्न असमानता, मूल्यमान्यता, प्रविधि आदि नै आत्महत्याको जड हो भन्दा फरक पर्दैन ।
जसरी आदिम साम्यवादी युगमा आत्महत्या थिएन त्यसरी नै पुँजीवादी समाजपछि आउने समाजवादमा मात्र यस्तो समस्या समाधान हुने कुरामा विश्वस्त हुन सकिन्छ । यसर्थ मानव समाजको हितको लागि यथासक्य छिटो पुँजीवादको पतन आवश्यक छ । जहाँ आत्महत्याजस्तो सामाजिक समस्याबाट मुक्त गराउन समाज र समुदाय नै लागिपर्नेछ ।
(लेखक समाजशास्त्रका शिक्षक हुनुहुन्छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *