भर्खरै :

रानीपोखरीलाई जीवन दिने मजदुरहरूलाई सलाम

– सुवास दुवाल
काठमाडाँैको ऐतिहासिक रानीपोखरी जीर्णोद्धारबारे लामो समय अनेक कोणबाट बहस र छलफलपश्चात् अन्ततः सोमबारबाट जीर्णोद्धार कार्यले गति लिएको छ । वर्षौंदेखि लथालिङ्ग अवस्थामा रहेको रानीपोखरी जीर्णोद्धारमा भक्तपुरका महिला र मजदुरहरूको संलग्नतासँगै धेरै मिडियाले मङ्गलबार समाचार लेखे – जाग्यो रानीपोखरी बन्ने आशा । घाँसको जङ्गल बनेको रानीपोखरीलाई भक्तपुरका जनताले दुई दिनमै सफा पारेपछि मिडियाले त्यस्तो लेख्नु स्वाभाविक हो ।
भक्तपुरको भाजु पोखरी पुनःनिर्माणको अनुभवले समृद्ध महिला मजदुरहरूले उत्साहजनकरूपमा पोखरी सफा गर्दै गरेको दृश्यले रानी पोखरीले फेरि जीवन पाउने आशा जागेको हो ।
सिमेन्ट र छड प्रयोग गरी रानीपोखरी जीर्णोद्धार गर्ने महानगरपालिकाको प्रस्ताव महानगरवासी जनतालाई चित्त बुझेन । व्यापक विरोध भयो । परम्परागत सम्पदा सिमेन्ट र छडको प्रयोग गरी बनाउन थालेपछि क्रमशः सम्पदाको मौलिकता हराउँदै जाने निष्कर्षसँगै रानीपोखरीलाई पुरानै शिल्प र शैलीले बनाउनुपर्नेमा व्यापक जनमत बन्यो । किताबका ठेली पढेर विशेषज्ञता हासिल गरेका कतिपय विद्वानहरूका लागि पुरानै शैलीमा जीर्णोद्धार गर्ने कुरा अपत्यारिलो र असम्भव लागेको हुनुपर्छ । सिमेन्ट र छडको प्रयोगले नै कुनै पनि निर्माण बलियो हुने विद्यामात्र सिकेका उनीहरूलाई भक्तपुरका शिल्पीहरूले जवाफ दिए ।
विद्या र ज्ञान पुस्तकका पानामा र विदेशी गोरा छालामा मात्र हुने गर्दैन । आफ्नै माटोमा पनि मौलिक शिल्प मिसिएको हुन्छ । रानीपोखरी जीर्णोद्धारको लागि आधुनिक र पुस्तकको ज्ञान पढेका विद्वानभन्दा हिलोमाटोमा खेल्ने शिल्पी र कामदार बढी बुद्धिमान ठहरिए । राजधानी काठमाडाँैमा वास्तुकलाविद् र इन्जिनियरहरूको कमी छैन । तर, तिनको शिल्पलाई भक्तपुरका जनताको मौलिक सीपले जितेको छ ।
ऐतिहासिक रानीपोखरी जीर्णोद्धारमा योगदान गर्न पाउनु भक्तपुरवासीको लागि गौरवको विषय हो । विदेशी र ‘आधुनिक’ जानकारीभन्दा आफ्नै पुर्खाले प्रयोग गरी सिद्ध भएको सीप बढी उपयोगी हुने गर्दछ । रानीपोखरी जीर्णोद्धारमा सहयोग गर्न गएका मजदुर र महिलाहरू सुकिलामुकिला लुगा लगाएका, विदेशी भाषा बोल्न जान्ने होइनन् । उनीहरूमध्ये कतिले शुद्ध नेपाली भाषा समेत बोल्न जानेका छैनन् । तथापि पोखरीबाट कसरी पानी चुहिनबाट रोक्ने र पोखरीलाई कसरी मौलिक रुपमा संरक्षण गर्न सकिन्छ भन्ने विषयका उनीहरू शिल्पी हुन् ।
भक्तपुरसँग भाजुपोखरी पुनःनिर्माणमात्र होइन, पाँचतले मन्दिर र पचपन्ने झ्याले दरबारको संरक्षणको निकै महत्वपूर्ण अनुभव छ । त्यही अनुभवका आधारमा आज भैरवनाथको मन्दिर जीर्णोद्धार भइरहेको छ । सम्पदा संरक्षण र सम्पदा प्रेमकै कारण आज भक्तपुरका जनताले आफ्नो अनुभवलाई अझ समृद्ध बनाउन सकेका हुन् । उनीहरूले आफ्नो मौलिक शिल्पमा विश्वास गरे । आफ्ना पुर्खाले सिर्जेका सम्पत्ति संरक्षणको लागि उनीहरूले विदेशीको भर परेनन् । विदेशी दाताले दिँदा मात्र सम्पदा संरक्षण गर्ने पराधीन सोचबाट उनीहरू मुक्त छन् । फलतः आज आफ्नो अनुभव देशकै धरोहर निर्माणको निम्ति प्रयोग गरिरहेका छन् । पुर्खाले बनाउन सक्ने अनि अहिलेको पुस्ताले जीर्णोद्धार गर्न पनि विदेशीको मुख ताक्नुपर्ने बेइज्जतीपूर्ण अवस्थाबाट मुक्त बनाउने अभियानमा भक्तपुरको पहल निकै सराहनीय छ ।
धेरै विषयमा जस्तै भक्तपुरले आज सम्पदा संरक्षणमा पनि देशलाई बाटो देखाइरहेको छ । ती परिश्रमी हातहरूलाई सलाम जसले आफ्नै पुर्खाको मौलिक शिल्पमाथि विश्वास गरे । सलाम, ती जुझारु मजदुर र महिलालाई जसले अर्धमृत अवस्थामा पुगेको रानीपोखरीलाई सृङ्गारिदिएका छन्, जीवनको आशा जगाइदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *