भर्खरै :

जेलका चिट्ठीहरूमा शोभा

सुन्दर वासी
(नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घद्वारा प्रकाशित सुन्दर वासीद्वारा लिखित पुस्तक ‘पत्रसाहित्यमा रोहित’ को अंश । पुस्तकको आइतबार विमोचन हुँदैछ ।)
जेलका चिट्ठीहरूका पत्रसाहित्य प्रापक शोभा प्रधानको पत्र साहित्यकार रोहितसँग २०४० मंसिर ११ गते विवाह भयो । निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध बहुदलीय प्रजातन्त्र पुनःस्थापना र कामदार वर्गको प्रजातन्त्र समाजवादी गणतन्त्र स्थापना गर्न सङ्घर्षरत तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका अध्यक्ष रोहितबारे शोभालाई सामान्य जानकारी थियो । विवाहभन्दा अगाडि भक्तपुर र काठमाडांैमा भएका एक दुइटा भेटमा रोहितले आफू राजनीतिक कार्यकर्ता भएको स्पष्ट पारेका थिए । इमानदारीपूर्वक खुलस्त कुरा गर्ने रोहितको आचरणबाट शोभा प्रभावित भइन् । त्यसैले रोहितसँग विवाह गर्न शोभा राजी भइन् । घरका अभिभावकहरूमार्फत चिनजान भएको वर्ष दिनभित्र नै रोहित र शोभाबीच विवाह भयो । तर, शोभालाई राजनीतिक कार्यकर्तामाथि झूटा आरोप पनि लाग्नसक्ने, राज्यस्तरबाट षड्यन्त्र हुनसक्नेबारे कुनै कल्पनासम्म थिएन । ‘मैले त यस्तो होला भनेर पढेकी र सुनेकी पनि थिइनँ । अलि अलि पिस्कर काण्डबारे पत्रपत्रिकामा पढेकी थिएँ । (शोभा, अन्तर्वार्ता ः २०७५।९।१) । पञ्चायत व्यवस्थाविरोधी राजनीतिक कार्यकर्तासँग विवाह भएकोले श्रीमान्लाई पुलिसले पक्राउ गर्नसक्ने र जेलमा पनि राख्न सक्नेबारे शोभाले थोरै बुझेकी थिइन् । २०४० मंसिरमा विवाह भएपछि २०४५ भदौमा पक्राउ पर्नुअघि रोहितलाई २०४२ मा सत्याग्रहको बेलामा पनि छ महिना जेलमा राखिएको थियो । आफ्नो श्रीमान्को त्यो जेल जीवनबाट शोभालाई खासै कठीनाइ भएन । ‘पक्राउ परी जेल जान्छु भनी घरबाट निस्केर जाँदा त निकै नरमाइलो लाग्यो । तर, उहाँले भनेअनुसार जेलमा सामान पु¥याउन औषधि, किताब, लत्ताकपडा, सिरक डसना मिलाइदिएँ । राती खाना खाएपछि उहाँलाई लिन चन्द्रबहादुर उलक आउनुभएको थियो । भोलिपल्ट पाटनबाट उहाँ पक्राउ पर्नुभयो । पर्सिपल्ट नखु जेलमा लैजाने सामान लिन साथीहरूलाई पठाउनुभयो । मैले मिलाइराखेको सामान दिएर पठाएँ’ (शोभा, अन्तर्वार्ताः २०७५।९।१) । पार्टी काममा सधैँभरि घरबाहिर हिँडिरहने र कति दिन घरमा पनि फर्किन नसक्ने गरी टाढा–टाढा हिँडिरहने रोहित जेलमा परे पनि शोभाको दैनिक जीवनमा त्यति असर परेको थिएन । सगोल ठूलो परिवारमा बुहारी भएर, आमा भएर पारिवारिक जीवनमा निष्ठापूर्वक लागिरहेकी थिइन् उनी । नियमित शिक्षण पेशामा इमानदारीपूर्वक लागिरहेकी थिइन् । तर, २०४५ को रोहितको जेल जीवन शोभाले सपनामा पनि चिताएकी थिइनन् । सरल, सामान्य पारिवारिक र शिक्षण जीवन बिताइरहेकी शोभालाई २०४५ मा रोहितको जेल जीवन बज्रपात नै भयो । जीवन नै आतङ्कित पार्ने दुर्घटना थियो त्यो । त्यसैले शोभालाई आतङ्कको भुमरीबाट जोगाउन रोहितले जेलबाट चिट्ठी लेखे । जेलबाट प्राप्त माया र भरोसाले भरिएका चिट्ठीहरूलाई शोभाले जतन गरी राखिन् । अनि जेलका चिट्ठीहरू नेपाली भाषा साहित्यका पाठकहरूलाई दिइन् । जेलका चिट्ठीहरू नेपाली साहित्यको अमूल्य निधि बन्यो ।
श्यामलाल प्रधान र नारायणदेवी प्रधानको कोखबाट २०१७ पुस १४ गते शोभा प्रधानको जन्म भयो । रामेछाप जिल्लाको उत्तरी ठोसे बजारमा शोभाको जन्म भएको हो । शोभाले बालापन बिताएको ठोसे बजारमा नेवारहरूको मात्र बस्ती थियो । कोही कोहीमात्र नेवारकै घर किनी बस्न आएका गैरनेवारहरू थिए । ठोसे बजारमा बन्दुकको नाल बनाउने गरिन्थ्यो । ठोसे बजारदेखि एक दुई घण्टाको बाटोमा फलाम खानी थियो । शोभा सानी छँदा आफ्नो घरको पसलबाट बाजेले बन्दुकको नाल बेचेको देखेकी भए पनि, काँचो फलाम देखी–चिनेकी भए पनि बन्दुकको नाल बनाएको हेर्न पाइनन् । ‘सायद तिब्बतसँगको युद्धको लागि फलाम खानी खुल्यो होला । त्यही बेला नेवारहरूको बस्ती बसालेको होला । बन्दुकको नाल बनाएको ट्वाङ – ट्वाङ आवाज आमाहरूले सुन्नुहुन्थ्यो रे’ (शोभा, अन्तर्वार्ताः २०७५।९।१) । फलाम उद्योगको लागि नै ठोसे बजार बसालिएको देखिन्छ । फलामको काम गर्ने नेवारहरू नकर्मी थिए भने गैरनेवारहरू विश्वकर्मा थिए । फलाम खानी बन्द भएपछि फलामबाट बन्ने उद्योगहरू पनि बन्द भए ।
पाँच दिदीबहिनी र एक भाइमध्ये शोभा जेठी हुन् । बुबाका तीन दाजुभाइ सगोलमै रहेकाले शोभा ठूलो परिवारमा हुर्किन् । परिवारका कुनै एक सदस्यलाई मात्र कुनै वस्तु किनिदिने चलन थिएन । कपडा त झन् घरका सबै सदस्यहरूले नै वर्षमा दुई जोर पाउँथे । चिनियाँ तयारी कपडा नआउँदासम्म प्रायः नेपालीहरूले दसैंमा मात्र नयाँ लुगा हाल्थे । बनेपाबाट ठोसे बजार पुगेका शोभाहरूले भने चण्डेश्वरी जात्राको बेलामा पनि नयाँ लुगा हाल्न पाउँथे । परम्परागत रूपमा कपडा सिलाउने सीप भएका सूचिकार घरमै आई नाप लिएर कपडा सिलाइ दिन्थे । व्यापारीहरूको बजार भएकोले घर–घरमा आएर कपडा सिलाउने भए पनि ठोसे बजारमा बालीघरे प्रथा थिएन । कपडाको सिलाइअनुसार ज्याला नगद नै दिने चलन विकास भइसकेको थियो । ठोसे बजारमा सबैको पसल थियो । कसैको कपडा पसल, कसैको किराना पसल तर सुनको पसल र फलामबाहेकका कुनै पनि भाँडाबर्तन पसल थिएन । शोभाका बाजेको किराना पसल थियो । पसल राम्रै चलेको थियो । पसलमा पर–पर गाउँबाट मान्छेहरू आउँथे । दक्षिणबाट उत्तर बग्ने ठारा खोलाको पूर्वी किनारमा बाटोको दायाँबायाँ तलदेखि माथिसम्म पसलमा भीड लाग्थ्यो । खोलापारि एक दुई घरमात्र बनेका थिए । तर नयाँ बाटो खुलेपछि बजार सबै खोलादेखि पश्चिमतर्फ सरेको छ । २०७२ को भूकम्पपश्चात् झन् धेरै नेवारहरू काठमाडौँ र बनेपातिर फर्के । ठोसे बजार अब नेवारहरूको मात्र रहेन ।
ठोसे बजारमा नेवारहरूको मात्र बस्ती भए पनि फरक–फरक चाडबाड मनाउने चलन थियो । बनेपाबाट गएकाहरूको चण्डेश्वरी जात्रा, भक्तपुरबाट गएकाहरूको बिस्केट जात्रा, काठमाडौंबाट गएकाहरूको घोडा जात्रा र साँखुबाट गएकाहरूको सकोँ पुन्हि मनाउने परम्परा थियो । आ–आफ्नो पर्वमा एकले अर्कोलाई बोलाउने सत्कारले गर्दा आपसमा सद्भाव र घनिष्ठता झन् बढेको थियो । शोभाका मामाहरू भक्तपुरबाट गएका हुनाले बिस्केट जात्रा पनि उनलाई विशेष लाग्थ्यो । शोभाहरूको साइनो काठमाडौँमा पनि थियो । शोभा नौ दश वर्षको हुँदै काठमाडांँै आउन थालेकी थिइन् । सुरूमा फुपू बज्यैको घरमा एक महिना बसेकी थिइन् । चार पाँच दिन हिँडेर आउनुपथ्र्यो । तैपनि विद्यालयमा जाडो बिदा भएको बेलामा शोभा प्रायः काठमाडौँ, भक्तपुर आइरहन्थिन् ।
शोभाका बुबा श्यामलाल प्रधान ठोसे बजारको तीन कक्षासम्म पढाइ हुने प्रावि विद्यालयका हेडसर थिए । बजारमा अर्को चारदेखि दशसम्म पढाइ हुने शारदा माध्यमिक विद्यालय थियो । जिल्ला शिक्षा कार्यालयले दरबन्दी स्वीकृत गरे पनि शिक्षक पठाउन सकेका थिएन । त्यसैले माविको शिक्षक खोज्ने जिम्मा पनि श्यामलालको काँधमा आउँथ्यो । जिल्लामा शिक्षक लिन जाने, शिक्षकलाई डेरा मिलाइदिने सबै बन्दोबस्तको काम श्यामलालको अगुवाइमा हुन्थ्यो । बीचमा सरकारले राष्ट्रिय विकास सेवाबाट गणित र विज्ञानका शिक्षकहरू पठायो । राष्ट्रिय विकास सेवा (एनडीएस)का शिक्षकहरूले ८, ९ र १० कक्षामा पढाउँथे । शोभाका बुबालाई शिक्षक खोज्नुपर्ने झन्झटबाट मात्र मुक्ति मिलेन, एनडीएसबाट आएका शिक्षकहरूले गाउँमा सहरको नयाँ–नयाँ सन्देश पनि लिएर आए, विषय पनि राम्रो पढाए, सिकाए । तर, २०३६ को जनआन्दोलनपछि पढाइरहेका शिक्षकहरूलाई बीचमै फिर्ता बोलाइए । अनि फेरि सुरू भयो – शिक्षक खोज्ने श्यामलालको उही पुरानो दायित्व । घरमा नयाँ नयाँ शिक्षक आउने भए पनि शोभालाई बोल्न दकस लाग्थ्यो । यद्यपि बुबाको अतिरिक्त शैक्षिक गतिविधिले शोभालाई प्रशासनिक जानकारी दियो ।
बुबाको विद्यालयबाट ३ कक्षा पास गरेर शोभा शारदा माविमा पढ्न थालिन् । पढ्न अनि अतिरिक्त क्रियाकलापमा पनि टाठी शोभा विद्यालयका जुन पनि कार्यक्रममा भाग लिन अघि सर्थिन् । हाइजम्प, लङ्गजम्प, एथलेक्टिस खेलका लागि उनले वीरेन्द्र शिल्ड प्रतियोगितामा पनि भाग लिइन् । वीरेन्द्र शिल्ड प्रतियोगिताको एथलेक्टिसमा शोभाले शिल्ड जितिन् । विद्यालयमा हुने प्रतियोगितामा भने धेरै पटक शोभाले उपयोगी सामानहरू कापी, कलम र साबुनहरू पुरस्कार पाइन् । गायन र नृत्यमा मात्र होइन, वादविवाद, वक्तृत्वकला र हाजिरी जवाफलगायतका कार्यक्रममा शोभाले आफ्नो दरो उपस्थिति देखाइन् । बहुप्रतिभाशाली शोभालाई उच्च शिक्षा लिने र व्यक्तित्व विकासको लागि अझ अगाडि बढ्ने उच्च अभिलाषा थियो । एसएलसीपछि पढ्न काठमाडौँ आउनुपर्ने भएपछि छोरीमान्छेलाई पनि पढाउनुपर्छ भन्नेमा बुबाको जोड चलेन । कहाँ बस्ने ? कहाँ राख्ने ? पढ्न जाँदा केही तलमाथि भयो भने इज्जत जाला भनी शोभाकी बज्यै मानिनन् । विद्यालय शिक्षापछि अगाडि बढ्ने बाटो बन्द भयो । २०३४ मा एसएलसीको परीक्षालगत्तै शोभाले शारदा माविमा स्वयम्सेवकको रूपमा पढाउन थालिन् । २०३५ सालको साउनमा परीक्षाफल प्रकाशित भयो अनि भदौमा अस्थायी र २०३६ पुसमा स्थायी नियुक्ति पाइन् ।
देशभरि पञ्चायती व्यवस्थाको निरङ्कुशता चलेको बेला ठोसे बजारमा पनि पञ्चहरूकै बोलवाला थियो । काङ्ग्रेसीहरूको केही प्रभाव थियो । छोरीलाई पनि पढाउनुपर्छ भन्ने अगाडि बढेको विचार बोकेका श्यामलाल प्रगतिशील दृष्टिकोण राख्थे । एनडीएसका शिक्षकहरू आएपछि प्रगतिशील विचारका पक्षमा पनि चर्चा हुन्थ्यो । विद्यार्थी र शिक्षकहरूको आन्दोलन पनि सदरमुकाम केन्द्रित हुन्थे । बन्द घोषणा भएपछि बजारका विद्यालयहरू पनि सुनसान हुन्थ्यो । ‘स्ववियु चुनाव हुने थाहा थियो तर सक्रिय हुनेहरू अरू नै थिए’ (शोभा, अन्तर्वार्ता ः २०७५।९।१) । शोभा राजनीतिक गतिविधिमा सक्रिय भइनन् ।
विद्यालयमा जाडो बिदाको बेला २०३९ मा भक्तपुरकी फुपूकहाँ आउने क्रममा सुरूमा शोभालाई रोहितका बुबा गणेशमान बिजुक्छेंले देखे । फुपू तेजमाया दिष्टिकी ससुरा गणेशमान बिजुक्छेंका साथी थिए । अभिभावकहरूबीच कुरा चलेपछि सामाजिक परम्पराअनुसार रोहित र शोभाको विवाह भयो । भक्तपुरका रोहितसँग विवाह भएपछि शोभाले रामेछापबाट आफ्नो शिक्षण जागीर पनि भक्तपुरमै सरूवा गराइन् । उनले भक्तपुरको वागीश्वरी माविमा पढाउन थालिन् । शोभालाई श्रीमान् रोहितको दैनिक राजनीतिक गतिविधिमा सहभागी हुने कुनै चासो थिएन । ठूलो परिवारमा बुहार्तन गर्न र विद्यालय जान नै भ्याइनभ्याइ हुन्थ्यो । श्रीमती शोभाको धपेडी देखेर रोहितले पटक–पटक अलग्ग भान्सा गर्ने र डेरामा बस्ने प्रस्ताव पनि राखे । तर, शोभा पारिवारिक जिम्मेवारीबाट विमुख हुन चाहिनन् । त्यसैले घरमा आउने दुई तीन जनाबाहेक रोहितको पार्टीका साथीहरूलाई शोभाले चिन्न पाइनन् । पञ्चायती व्यवस्थाविरूद्ध सशक्त आन्दोलन गरिरहेको नेमकिसंका अध्यक्ष रोहितको व्यस्तताले राजनीतिक शिक्षा लिन पाइनन् । पञ्चायती राज्यस्तरबाट षड्यन्त्र गरी २०४५ मा रोहितलाई जेल हाल्दा शोभा राजनीतिकरूपमा अबोध र निर्दोष थिइन् ।
२०४५ भाद्र ९ गते राती ११ः३० बजे पुलिसले रोहितलाई लिएर जाँदा शोभालाई कुनै चिन्ता र डर लागेको थिएन । भूकम्प पीडितहरूलाई राहत वितरण गर्दा पक्षपात गर्ने कर्ण ह्योजूलाई आक्रोशित जनताले त्यो दिन दिउँसो कारबाही गरेको र ह्योजूले कुनै कुरा लगाएकोले सोधपुछको लागि मात्र लगेको होला भन्ने लागेको थियो । भोलिपल्ट भाद्र १० गते विद्यालय जानुअघि कोठाको साँचो छोडेर जानुपर्छ कि दिउँसो आउनुहुन्छ कि भनी शोभा सोच्दै थिइन् । त्यही बेला ह्योजू मरेकोले विद्यालय बन्द भएको भाञ्जीबाट जानकारी पाइन् । शोभाको मनमा चिसो पस्यो । अब के हुने होला ? भन्ने डर लाग्यो । ह्योजूको शव यात्रामा प्रधानमन्त्री मरिचमान श्रेष्ठ, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी र शैलेन्द्रकमार उपाध्यायलगायत पञ्चायतका हस्तीहरू नै ‘रोहितलाई फाँसी दे’ भन्ने नारा लगाउँदै आएको थाहा पाएपछि सास्ती दिने भयो भन्ने शोभालाई लाग्यो । घटना सामान्य होइन रहेछ भन्ने लाग्न थाल्यो । दिनदिनै खानतलासी लिन आउने, धम्की दिने र भएभरका किताब जफत गरी उठाएर लैजाने प्रहरीको आतङ्कपूर्ण वातावरणले शोभालाई मर्माहत बनायो । पार्टीका साथीहरूसँग कतै चिनजान र सम्पर्कधरि थिएन । शोभालाई कोसँग के बोल्नेसम्म मेसो थिएन । अप्रत्याशित आइलागेको सङ्कटमा कान्छो देवर योगेन्द्रमानलगायत देवरहरू राजामान र धीरेन्द्रमानले शोभालाई ठूलो भरोसा दिए, बाहिर भइरहेको गतिविधिबारे जानकारी दिए अनि आफूहरूले गर्नुपर्ने काम सिकाए ।
असोज १ गते शनिबारको दिन सरजमिन गर्ने भनी बन्दीहरूलाई भक्तपुर ल्याएको शोभाले थाहा पाइसकेकी थिइन् । शोभालाई सरजमिनमा जान कुनै जाँगर थिएन । एकजना छात्राबाट सर्जमिनमा बक्न चाहने कसैलाई पनि भित्र जान नदिएको, प्रहरीको घेरामा सर्जमिन हुन लागेकोे र पञ्चायती पक्षधरहरूलाई मात्र सर्जमिनमा भित्र जान दिएको जानकारी पाइन् । हतार हतार जीवनजल बनाएर शोभा सरजमिन स्थलमा गइन् । आफ्नो श्रीमान्लाई भेटिन्, जीवनजल दिइन् । ८ दिनअघि घरबाट सबै किताब प्रहरीले जफत गरी लगेको जानकारी दिइन् । किताब लाने प्रहरी शिवनारायण मण्डल त्यहीँ थियो । रोहितले किताब किन जफत गरेको भनेपछि मण्डलले अर्को दिन नै किताब फर्काउने बाचा ग¥यो । किताब पाउने आशामा कति दिन शोभा विद्यालय पनि नगई प्रहरी कार्यालय अगाडि कुर्न गइन् तर कुनै किताब फिर्ता पाइनन् । वरिष्ठ अधिवक्ताहरू सिन्धुनाथ प्याकुरेल र कृष्णप्रसाद भण्डारीलाई समेत सरजमिनमा भित्र जान दिइएको थिएन । बिदाको दिनमा पनि बन्द कोठाभित्र सरजमिन गर्न खोजिएको थियो । त्यसकारण त्यो दिन साँझ पक्षपातपूर्ण सर्जमिनको विरूद्ध भक्तपुरमा महिलाहरूको विशाल जुलुस भयो । भक्तपुरमा भएको महिलाहरूको त्यो पहिलो आक्रोशपूर्ण राजनीतिक जुलुस थियो । त्यो ऐतिहासिक जुलुसमा गर्भवती शोभालाई सहभागी गराइएन । महिला कार्यकर्ताहरूले शोभालाई पहिला नै घर पु¥याए ।
शोभा आफ्नो बन्दी श्रीमान्लाई भेट्न, आवश्यक सामान दिन हनुमानढोका र पछि केन्द्रीय कारागारमा गइरहन्थिन् । तर, रोहितलाई नखु जेलमा सरूवा गरेपछि भेटघाट गर्न कठिन भयो । एउटा राजनीतिक दलको अध्यक्ष भए पनि रोहितलाई राजनीतिक बन्दी भनिएको थिएन । फौजदारी मुद्दाका बन्दी भनौँ भने अन्य फौजदारी अभियोगका बन्दीलाई जस्तै दिनदिनै परिवारका सदस्यलाई पनि भेट्न दिइएको थिएन । ‘त्यसैले तपाईंहरूको बन्दी कस्तो खालको हो ? हामी नै बुझ्दैनौँ, जेलरहरू भन्थे’ (शोभा, अन्तर्वार्ताः २०७५।९।१) । हप्तामा दुई पटकमात्र भेट्न दिने र भेटमा पनि राम्रोसँग कुरा गर्न नपाउने साथसाथै नेवारी भाषामा पनि कुरा गर्न नदिने भएकाले नै पत्र लेख्नुपर्ने बाध्यतात्मक स्थिति आयो । पक्राउ परेको १० महिनापछि मात्र पत्र लेख्न सुरू गरिएको पाइन्छ । कति पत्रहरू रोहितलाई जेलमा भेट्न जाँदा शोभाले नै हातमा थापिन् । कति पत्रहरू भने जेलमा भेट्न गएकाहरूमध्ये जसलाई दिई पठाएको भए पनि कान्छो देवर योगेन्द्रमानमार्फत नै शोभाले पत्र हात पारिन् । शोभा माइत रामेछाप गएको बेलामा पनि उनलाई लिन आउँदा देवरले नै पत्र दिए । जेलमा लेखिएका पत्रहरू जेलमै बसेका रोहितका साथीहरूले सफा अक्षरमा सारी दिन्थे अनि जेलरले सेन्सर गरेपछि मात्र बाहिर आउँथ्यो ।
रोहितको पत्र पाएपछि शोभालाई औधी खुसी लाग्थ्यो । पत्र कहिले पढूँ पढूँ भन्ने लाग्थ्यो । माया लत्पतिएका पत्र पढ्दै जाँदा कुन बेला आँसुका भल बगिसकेको हुन्थ्यो शोभा पत्तै पाउँथिनन् । शोभा धेरै पटक पत्र दोह¥याइ तेह¥याइ पढ्थिन् अनि रून्थिन् । बच्चाहरू दुवै सुताइसकेपछि फेरि पत्र निकालेर पढ्थिन्, अनि एक्लै रून्थिन् । पत्र पढेर रोए पनि शोभामा जीवनप्रतिको मोह जाग्थ्यो । कति पत्रहरूमा उल्लेख भएका विषयहरू त्यतिबेला नबुझे पनि सत्यको लागि डटेर लड्ने ऊर्जा प्रवाह हुन्थ्यो । ती पत्रहरूमा शोभाका लागि कुनै शब्द थिएनन्, मात्र प्रेम थियो । ती पत्रहरूमा कुनै भाषा थिएन, मात्र कसैलाई पनि बोल्न र भेट्न नहुने पञ्चायती षड्यन्त्रको अन्धकार चिर्ने चिराग थियो । जेलका चिट्ठीहरू शोभाका लागि जीवन ज्योति थियो । ‘त्यही भएर पनि पत्रहरू सबै सङ्कलन गरेर सुरक्षित राखेकी थिएँ’ (शोभा, अन्तर्वार्ताः२०७५।९।१) । असारको १८ गतेदेखि पत्र लेख्न सुरू गरी माघको २२ गतेपछि रोहितले पत्र पठाउन छोडे । तर पत्र नआएकोमा शोभालाई कुनै दुःख लागेन बरू आन्दोलनकै बारेमा चासो र पीर पर्नथाल्यो ।
प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनको सुरूमै फागुन ८ गते भक्तपुरमा शान्तिपूर्ण जुलुसमाथि निर्ममतापूर्वक गोली प्रहार भयो । चारजना वीरहरूले शहादत प्राप्त गरे । त्यसलगत्तै रोहित जेलबाटै गायब बनाइए । जेलका अधिकारीहरूले रोहित जेलमा छैन, जेलबाट कता लगियो थाहा छैन भन्थे । घर आँगनमै गोली चलेको छ । आफ्नो श्रीमान्बारे अत्तोपत्तो थाहा दिइएन अनि कसलाई पीर पर्दैन ? असह्य पीडा कसलाई
जेलका…
हुँदैन ? शोभालाई रोहितको पत्रको प्रतिक्षा होइन, रोहितलाई नै भेट्ने हुटहुटीमात्रै रह्यो । मानवअधिकारवादी कृष्णप्रसाद पन्तलाई समेत भेट्न नदिएर आफूहरूलाई चुनौती दिएको बताएपछि परिवारमा झन् पिरलो बढ्नु स्वाभाविक थियो । गृहराज्य मन्त्री निरञ्जन थापा तपाईंको मान्छे सुरक्षित छमात्र भन्थे । हप्ता दस दिनसम्म रोहितलाई भेट्न नदिँदा परिवारका सदस्यहरू सबै सन्त्रासमा थिए । पञ्चायती व्यवस्था जति क्रूर र दमनकारी भए पनि आखिरमा जनताको आन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेरै छाड्यो । रोहितमाथि लागेको झूटा मुद्दा फिर्ता भयो । २०४७ वैशाख ५ गते रोहितलगायत उनका कार्यकर्ताहरू सबै रिहा भए ।
जेलका चिट्ठीहरू आफैँमा ढुङ्गाको कापमा उम्रेको शीतल छहारी दिने पीपलजस्तै एउटा निन्दनीय षड्यन्त्रबाट यातना भोगिरहेको बेलामा सिर्जेको अमूल्य नेपाली पत्रसाहित्य हो । त्यो षड्यन्त्रले सामान्य शिक्षक र सामान्य गृहिणी जीवन बाँचिरहेकी शोभालाई राजनीतिक सङ्घर्षको कुरूक्षेत्रमा धकेलिदियो । अनि शोभाले पनि सङ्घर्षको मैदानबाट धेरै कुरा सिकिन् । बन्दीहरूलाई भेट्न पनि पक्षपात गर्ने पञ्चायती प्रहरीहरूसँग आँखा जुधाएर कुरा सिकिन् । अरू फौजदारी बन्दीहरूलाई दिनदिनै भेट्न दिने हामीलाई मात्र किन भेट्न नदिने ? भनी कानुनी तर्क गर्न हिम्मत गरिन् । फागुन ७ गते प्रजातन्त्र दिवस मनाउन दशरथ रङ्गशालामा अनिवार्य हाजिर हुनुपर्ने पञ्चायतले दिएको उर्दीलाई अवज्ञा गरिन् । पञ्च¥यालीमा हाजिर हुन नजाँदा जागिरबाट निकाल्देला भनी पञ्चायतबाटै नियुक्त प्रधानाध्यापक उत्तमकुमार माकले पटक–पटक सुनाउँथ्यो । शोभा कति पनि विचलित भइनन् । बरू जागिरबाट निकाले निकालोस्, बच्चाहरूलाई हेर्नुपर्छ, पञ्च ¥यालीको लागि हाजिर हुन सक्दिनँ भनी जवाफ फर्काइन् । जीवन सङ्घर्षको कठोर यात्राबाट राजनीतिक परिपक्वता हासिल गर्दै गइन् । यसरी रोहितको पार्टी सङ्गठनलाई तहसनहस पार्ने र रोहितको परिवारलाई बिचल्ली पार्ने कुत्सित मनसायका साथ रचिएको षड्यन्त्रले एउटी गृहिणी र शिक्षिकाको दायित्वमा सीमित हुन चाहने शोभालाई राजनीतिक कार्यकर्ताको रूपमा विकास गरिदियो । २०४७ सालमा भैरहवामा सम्पन्न नेपाल मजदुर किसान पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा शोभा सहभागीमात्र भइनन्, अतिथि सत्कार गर्ने जिम्मेवारी नै सम्हालिन् । विचार र दर्शनबाट सुशिक्षित हुँदै शोभा पारिवारिक कर्तव्य सँगसँगै राजनीतिक आन्दोलनमा पनि जिम्मेवारीपूर्वक अगाडि बढ्न थालिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *