कैलाली, २७ फागुन । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा सोमबार टीकापुरमा जनसभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पुँजीवादी व्यवस्थालाई ध्वस्त पारेर समाजवादी व्यवस्था स्थापना गर्नु कम्युनिष्टहरूको दायित्व भएको बताउनुभयो ।
श्रमिक महिला आन्दोलन स्वयम् समाजवादी आन्दोलनको हिस्सा भएको चर्चा गर्दै उहाँले राजनीतिलाई कमाइ खाने भाँडो बनाउने राजनीतिक दल र तिनका महिला सङ्गठनहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मूल मर्मलाई ओझेलमा पार्ने गतिविधि गरिरहेको धारणा राख्नुभयो ।
थापामगरले नेपाल–भारतबीच रहेको खुला सिमानाको कारण नेपाली चेलीहरू भारतको कोठीमा बेचिन बाध्य हुनु परेको प्रस्ट पार्दै भन्नुभयो,“भारतीय विस्तारवादले नेपाली जनताबीच भिडन्त गराएर अस्थिरता सिर्जना गर्ने गतिविधि गरिरहेको हुँदा सिमाना नियमन गर्न जरुरी छ ।”
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले श्रमजीवी जनताको मुक्तिको लागि वर्गसङ्घर्षको विकल्प नरहनुका साथै महिला मुक्तिको निम्ति समाजवादी व्यवस्था स्थापना अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सृजना सैंजूले क्युवा, प्रजग कोरिया र चीनजस्ता समाजवादी देशहरूमा महिलाहरू राजनीतिक रूपमा सचेत रहेको उदाहरण प्रस्तुत गर्दै नेपालका कामदार महिलालाई राजनीतिक, सामाजिक, सांस्कृतिकरूपले सचेत बनाउन श्रमिक वर्गको राजनीतिक सङ्गठनमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले राजतन्त्र ढलेर लोकतन्त्र स्थापना भएको भनिए पनि जनताको प्रजातन्त्र नआएको र पुँजीवादी संसद्मा ठग, अपराधी र भ्रष्टाचारीले जरा गाडेको हुँदा त्यसको विरुद्ध सङ्घर्ष गर्नु पर्ने बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले दिनदहाडै नेपालको सिमाना मिचिंदा पनि सरकार चुँ नबोली विखण्डनकारी शक्तिसँग सम्झौता गर्नु भारतीय विस्तारवादको दलाली भएको बताउनुभयो ।
नेक्रामसङ्घ कैलाली जिल्ला समितिका अध्यक्ष लक्ष्मी पुनको सभापतित्वमा भएको जनसभामा गजबहादुर दर्लामी, मीनबहादुर बाटा, रत्नादेवी रावल, तारादेवी तिरुवा र लक्ष्मी पोखरेलले पनि बोल्नुभएको थियो ।