भर्खरै :

क्रान्तिकारी किसान सङ्घको पाँचौँ केन्द्रीय परिषद् सम्पन्न

काठमाडाँै, २९ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घको पाँचौ केन्द्रीय परिषद् बुधबार सम्पन्न भयो ।
केन्द्रीय परिषद्को दोस्रो दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विश्व कम्युनिष्ट आन्दोलनको इतिहासबारे चर्चा गर्दै सन् १९५५ पछि सोभियत सङ्घमा खु्रश्चेभको उदयपछि विश्व कम्युनिष्ट आन्दोलनमा संशोधनवाद हावी भएको हुँदा विश्व कम्युनिष्ट आन्दोलनमा फाटो आएको बताउनुभयो ।
उहाँले चिनियाँकम्युनिष्ट पार्टी र सोभियत कम्युनिष्ट पार्टीबीच भएको सैद्धान्तिक सङ्घर्षबारे चर्चा गर्दै भन्नुभयो, “शान्तिपूर्ण आन्दोलन र सशस्त्र सङ्घर्षबाट सत्ता प्राप्त गर्ने भन्नेबारे संशोधनवादी समूहसँग सैद्धान्तिक सङ्घर्ष भयो ।”
अध्यक्ष रोहितले नेपाल क्रान्तिकारी किसान सङ्घले कार्यकर्ताहरूको सांस्कृतिक स्तर उठाउन भूमिका खेल्नुपर्नेमा जोड दिंदै सांस्कृतिक र सैद्धान्तिक स्तर नभएका कार्यकर्ता राजनीतिमा लामो अवधि नटिक्ने बताउनुभयो । सैद्धान्तिक र सांस्कृतिक स्तर नभएका कार्यकता विभिन्न लोभलाचमा फस्ने सम्भावना हुने बताउँदै उहाँले राजनैतिक चरित्र भनेको विरोधीको अगाडि नझुक्नु हो भन्नुभयो ।
“राजनीति भनेको देश र जनताको सेवा गर्न हो । कार्यकर्ताहरूकोे दुःखले देश र जनताको हित हुने भएकोले कार्यकर्ताहरू निराश हुनुहुन्न । राजनैतिक कार्यकर्ताहरू हरेक विषयमा पोख्त हुनुपर्छ र समयसँगै चलायनमान हुनुपर्छ ।” अध्यक्ष रोहितले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले जनता सचेत नभएसम्म गलत मानिसहरू सत्तामा पुगिरहने हुँदा गरिब जनताले पनि राजनीति गर्नुपर्ने बताउनुभयो । उहाँले पुँजीवादी व्यवस्थामा धनी झन्झन् धनी हुने बताउनुभयो । उहाँले यो सरकारले एनसेलसँग पुँजीगतलाभ कर नलिएको र एनसेलले तीनवटै पार्टीलाई पैसा दिएकोले यो सरकार पुँजीवादीहरूकै सरकार भएको पुष्टि हुन्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले स्थानीय तहलाई अधिकार दिएकोले आफैले सबै कार्य गर्नुपर्ने चर्चा गर्दै सीमित स्रोतमा असीमित आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरका जनताको हित हुने कार्य गरिरहेको चर्चा गर्दै उहाँले घोषणापत्रअनुसार ख्वप अस्पताल, कलेजहरूको सञ्चालन त्यसैको सिलसिला भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले एशिया प्रशान्त गठबन्धनबारे प्रशिक्षण दिनुभयो । परिषद्मा नेक्राकिसङ्घका अध्यक्ष डिल्लीप्रसाद काफ्लेले भेनेजुयलामाथि अमेरिकी हस्तक्षेप र नेक्राकिसङ्घका उपाध्यक्ष गोविन्द दुवालले सामाजिक व्यवहारबारे प्रशिक्षण दिनुभयो ।
दोस्रो दिनको सत्रमा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय कोषाध्यक्ष हरिराम सुवालले पेश गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव तथा केन्द्रीय समितिको प्रतिवेदन पारित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *