भर्खरै :

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा बाँके र दैलेखमा प्रशिक्षण

बाँके, २९ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ बाँके जिल्ला समितिले प्रशिक्षण कार्यक्रम ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले महिलाहरू आफ्नो हक अधिकारको निम्ति सङ्घर्षमा उत्रनु जरुरी रहेको बताउनुभयो । “श्रमिक महिला राजनैतिक रुपले सचेत नभएसम्म समाजमा परिवर्तन आउँदैन,” उहाँले भन्नुभयो ।
उहाँले हिजो राजा महाराजा तथा सामन्तले आफ्नो शासन टिकाउन धर्मको कुरा ल्याएको चर्चा गर्दै धर्ममा आधारित अन्धविश्वासमा महिलाहरू नलाग्न आग्रह गर्नुभयो । पुँजीवादी व्यवस्थाको कारण जनताले दुःख पाएको यथार्थ मनन गरी समाजवादी आन्दोलन तीव्र पार्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा अतिथि थापामगरले खुला सिमानाको कारण नेपालको सार्वभौमिकता धरापमा पर्नुको साथै मानव तस्करी, महिला बेचबिखनजस्ता अपराधहरु वृद्धि भएकोले नेपाल–भारत सीमा नियमन गर्नु जरुरी रहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पुरुषविरुद्ध उत्रनु नभई समाजमा शोषित पीडित कामदार वर्गको पक्षमा सङ्घर्ष गर्नु रहेको बताउनुभयो ।
उहाँले नेपालको संविधानमा समाजवादउन्मुख उल्लेख गरेर महिला हकको प्रावधान राखे पनि बहुसङ्ख्यक कामदार वर्गको महिलाको हित नहुने भएकोले महिलाहरु राजनैतिक, वैचारिक र सांस्कृतिकरूपले सचेत हुन जरुरी रहेको स्पष्ट पार्नुभयो । उहाँले समाजवादी व्यवस्थामा कामदार वर्गको मुक्ति सम्भव हुने भएकोले कार्यकर्ताहरु सचेत हुनुपर्छ भन्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले चेतनाको कमीले महिला हिंसा बढिरहेको हुँदा महिलाहरु शैक्षिकरूपले सक्षम हुन जरुरी रहेको स्पष्ट पार्नुभयो । उहाँले सभ्य, शिष्ट र अनुशासित नागरिक तयार गर्ने अभियानमा नेमकिपा लागेकोले महिलाहरु सकारात्मक सोचअनुसार अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कानुन अध्ययन समाज नेपालका सदस्य शिवराज दाहालले महिलाहरूले सविधानमा उल्लेखित कानुनी प्रावधानहरूको अध्ययन गरी जानकारी राख्न जरुरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ बाँकेका अध्यक्ष सीता शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा कोहलपुर नपाका अध्यक्ष अन्जिरबहादुर शाही, नेक्रायुुसङ्घ भक्तपुरका अध्यक्ष मिनबहादुर बाटा, प्रभा मल्लाह, जयकन्या रोकाया, कोपिला शाही, दीपालक्ष्मी हमाल, लक्ष्मी शाही, जानकी गौतम, सुमित्रा काफ्ले, कल्पना भण्डारीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा देउडा गीत पनि प्रस्तुत गरिएको थियो ।
दैलेखमा श्रमिक महिला दिवस
दैलेख । नेपाल मजदुर किसान पार्टी आठबिस नपा वडा नं. ९ वडा समितिको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समितिका सदस्य धनबहादुर सिजापतिले नेमकिपा शोषित पीडित जनताको हक अधिकार स्थापनाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
समाजमा रहेका कु–संस्कार, विकृति, विसङ्गति र अन्धविश्वास हटाउन महिला दिदी–बहिनीहरूले भूमिका खेल्नुपर्छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नन्दरूपा बडुवाल, कलम बडुवाल, देउथरी टेकबहादुर सिजापति, टेजबहादुर सिजापति, नवीन सिजापतिलगायतले महिला अधिकारसम्बन्धी बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *