भर्खरै :

मिथिलाञ्चलमा होली शुरु

गौशाला, ३० फागुन (रासस) : मिथिलाञ्चलको महाकुम्भका रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमामा भगवान् रामचन्द्र र माता जानकी स्वरुपमा आज बिहान होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली शुरु भएको छ ।
भगवान् रामचन्द्रले माता जानकीसँग महोत्तरी जिल्लाको साविक हरिहरपुर हरिणमरी गाविस तथा अहिलेको भङ्गहा नगरपालिकामा रहेको ‘कञ्चनवन’मा बासामा आज बिहान होली खेलेपछि आजदेखि सम्पूर्ण मिथिलाञ्चलमा होलीको शुभारम्भ भएको हो ।
पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत साताँै दिनको बासस्थान कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकआपसमा रङ र अबिरले होली खेलाइएको छ भने परिक्रमामा सहभागी हजाराँै साधुसन्त महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एक आपसमा रङ्ग अबिर साटासाट गर्दै होली पर्वको शुरुआत गरेको हो ।
भगवान् तथा साधुसन्त र महात्माले होली पर्वको शुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग शुरु भएको छ । यसगरी होलीको आगमनसँगै प्रत्येक वर्ष झैँ यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत, नाचगान, हाँसोठट्टा र व्यङ्गात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यकोसमेत शुभारम्भ हुनेछ । त्रेतायुगमा भगवान् रामचन्द्र र माता जानकी वनबास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाएका बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ ।
मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनबास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममाकै क्रममा भगवान्ले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्री पनि होली पर्व मनाएका छन् । धनुषाको हनुमानगढीमा गत बुधबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमा यात्री जम्मा भई आजदेखि भारतको कलाणेश्वरबाट शुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ । महोत्तरीको कञ्चनवनमा सातौँ दिनको बासा त्याग गरेर आज बिहान होली मनाउँदै सम्पूर्ण परिक्रमा यात्री आठाँै दिनको बासका लागि धनुषाको पर्वता पुग्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *