भक्तपुर, ३० फागुन । सङ्घीय सांसद एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शिक्षामा व्यापारीकरण बढिरहेको बताउनुभएको छ ।
छालिङ पकुनेपाटीस्थित साइनिङ इङ्गलिश स्कूलको २६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक, शिक्षक एवम् विद्यार्थी सम्मान कार्यक्रममा उहाँले संविधानमा कक्षा १२ सम्मको शिक्षा निःशुल्कको प्रावधान भए पनि विद्यार्थी महँगो शिक्षा लिन बाध्य भएको बताउनुभयो ।
काठमाडौँ उपत्यकाभित्र र केही मुख्य सहरमा खुलेका महँगा निजी विद्यालयकै कारण शिक्षा महँगो हुँदै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महिनामा एकलाख पचास हजार लिने स्कूल पनि छन्, त्यस्ता स्कूलहरू कस्तो होला र कसले पढाउँछन् होला ?”
उहाँले भन्नुभयो, “बालमैत्री विद्यालयको खाँचो छ । राम्रो विद्यालयको आवश्यकता छ । राम्रो विद्यालयले नयाँ पुस्तालाई अघि बढाउन सजिलो हुन्छ ।”
विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूमध्ये सरस्वती पुरी र हिमकुमार थापालाई असल अभिभावक सम्मान, शिक्षकद्वय श्रीकृष्ण त्यात र लक्ष्मी फोँजूलाई दीर्घ सेवा सम्मानबाट सम्मान र अनुशासित विद्यार्थी, सफा विद्यार्थी, नियमित विद्यार्थीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोँजूले विद्यालय शिक्षा सुधार्नका लागि नगरपालिकाको विशेष कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो भने एनप्याब्सन भक्तपुरका अध्यक्ष जीबी खड्काले निजी विद्यालयले शैक्षिक क्षेत्रको उन्नयनका लागि पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाको शिक्षा शाखा प्रमुख माधव पोखरेलले नगरपालिकाले शिक्षामा गरिरहेको कार्यक्रम र त्यसले पारेको प्रभावबारेमा चर्चा गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णसिँह महतले विभिन्न अतिरिक्त क्रियाकलापको बारेमा जानकारी दिँदै विद्यार्थी र विद्यालयको क्षमता विकासमात्र नभएर शिक्षकको शिक्षण सीपका लागि पनि लगानी गरेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछूले गुणस्तरीय शिक्षाको लागि शिक्षक र अभिभावकको भूमिका उल्लेखनीय हुने बताउनुभयो ।