राजनीतिक समस्यालाई राजनीतिक तरिकाबाट नै समाधान गरिनुपर्छ । राजनीतिक शक्तिलाई दबाएर कोही पनि शासक सफल हुनसकेको छैन । राजनीतिक शक्तिलाई आतङ्कवादीलाई जस्तो अनि आतङ्कवादीलाई राजनीतिक शक्तिको रुपमा व्यवहार गर्दा जनताको जीवन अझ कष्टकर हुने गर्दछ । राजनीतिक शक्ति निर्माणको आधार विचार र सिद्धान्त हो । सबै राजनीतिक शक्ति सही राजनीतिक दर्शनमा आधारित हुँदैनन् । वैचारिक खोट भएका राजनीतिक शक्तिलाई वैचारिक सङ्घर्षमार्फत पराजित गर्नुपर्छ । तर, सत्ताको आडमा कुनै पनि राजनीतिक शक्तिलाई भौतिकरूपमा सफाया गर्ने प्रयास भने राजनीतिक व्यवहार होइन ।
नेत्रविक्रम चन्द माओवादी अराजकतावादी विचारको बाँकी अवशेष हो । तत्कालीन माओवादी पार्टीले ‘जनयुद्ध’ को नाममा जे जस्तो वैचारिक गल्ती गरेको थियो, आज त्यही वैचारिक गल्ती चन्द नेतृत्वको पार्टीले गरिरहेको छ । संसारमा कम्युनिष्ट पार्टीको नाममा चलेका अराजकतावाद कहीं कतै सफल हुन सकेको छैन । २०५२ मा सुरु भएको माओवादी विद्रोह पनि सफल हुनसकेन । अराजकतावादी वैचारिक रुझानमा भएका सङ्घर्षको अन्तिम नियति या त आत्मबलिदान हुने गरेको छ नभए आत्मसमर्पणमा बिसर्जन भएका छन् ।
तर भौतिक बलको जगमा सत्ताले विद्रोहलाई दबाउन खोज्दा भने द्वन्द्व अझ लम्बिने गर्दछ र द्वन्द्वको अचानोमा जनता पिल्सिएका छन् । नेपाल यसको राम्रो उदाहरण हुनसक्छ । तत्कालीन सरकारहरूले माओवादी विद्रोहलाई वैचारिक र राजनीतिक सङ्घर्षको रूपमा लिनुको साटो आतङ्कवाद वा लुटेरा दलको रूपमा लिंदा यसको परिणाम हजारौं नेपाली जनताले ज्यान गुमाउनुका साथै लाखौं नेपाली जनताले दुःख भोग्नुप¥यो । संरा अमेरिकी आड प्राप्त कोलोम्बिया सरकारले लामोसम्म त्यहाँको विद्रोही समूहलाई भौतिक बलको आधारमा सिध्याउन खोज्दा कोलोम्बियाली जनताले अनाहमा दुःख भोग्नुप¥यो । निकारागुआमा राजनीतिक शक्तिलाई राजनीतिक व्यवहार नगर्दा कोन्ट्रा नामको प्रतिक्रियावादी र अमेरिकाबाट तालिम प्राप्त रक्तपिपासु सेनाबाट कहालीलाग्दो रक्तपातको सामना गर्नुप¥यो ।
सत्तासीन दलले चन्द नेतृत्वको दलका गतिविधिमाथि भौतिक बलको आधारमा नियन्त्रण गर्न खोज्दा यसले देशलाई अशान्तिको दलदलमा फसाउनेछ । वैचारिक र सैद्धान्तिक सङ्घर्ष गर्ने आँट नभएर सरकारले प्रतिबन्धको औजार प्रयोग गर्नुले अन्ततः जनतालाई द्वन्द्वमा फसाउनेछ ।
राजनीतिक शक्तिलाई राजनीतिक व्यवहार गर्नु नै राज्यको बुद्धिमानी हुनेछ । द्वन्द्व नभएको देश संसारमा सायदै होला । तर, त्यही राज्यले नै शान्ति सुव्यवस्था कायम गर्न सकेको छ जसले राजनीतिक समस्यालाई राजनीतिक हिसाबले नै व्यवहार गरेको हुन्छ । कतिपय देशमा जहाँ विद्रोह भएका छन्, त्यहाँ विकास र आर्थिक गतिविधिमार्फत जनताको मन जितेको हुन्छ । तर, प्रहरी वा कुनै सशस्त्र बलमार्फत दमनमा उत्रेको राज्यले अन्ततः जनतालाई दुःखमा फसाउने गर्दछ ।
नेपाल सरकारमा सामेल दल आफैँ सशस्त्र सङ्घर्षको अनुभव भएको दल हो । किन आफूले विद्रोह गर्नुप¥यो र किन बिसाउनुप¥यो भन्ने अनुभवबाट पाठ सिकेर देशमा यतिबेला देखिएको अराजकतावादको समस्या समाधान गर्नुपर्छ ।