राजनीति सङ्लो हुनुपर्छ । राजनीति गर्ने नेता तथा कार्यकर्ताहरू असल, निःस्वार्थी, इमानदार, दूरदर्शी र योग्य हुनुपर्छ । राजनीति गर्ने या देशको नेतृत्व गर्ने दलका नेताहरू इमानदार, असल र निःस्वार्थी नभएसम्म दल जतिसुकै ठूलो र शक्तिशाली भए पनि सरकारले सही दिशानिर्देश गर्नसक्दैन । त्यो देशमा विधि र सुशासन सम्भव छैन । ठूला दलका नेताहरू इमानदार भई सही राजनीति नगर्दा र देश र जनताप्रति समर्पित नहुँदा देशमा अनियमितता, भ्रष्टाचार बढेको हो, कमिसनखोर र कालाबजारियाले ठाउँ पाएका हुन् । भ्रष्टाचार, घूस र ढिलासुस्तीको जरा जहाँतहीं फैलिसकेको हुँदा त्यो जरा उखेल्न गा¥हो भइसकेको छ । सरकारको नेतृत्व गर्ने दलहरू पद र पैसामा भुलेको हुँदा, भागबण्डामा अल्झेको हुँदा, व्यक्तिगत र दलगत स्वार्थमा फसेको हुँदा नेपाल भ्रष्टाचारको कालोसूचीमा परेको हो र देशको बदनाम भएको हो ।
पद र पैसाको राजनीतिमा भुलेका कारण नेताहरू मतिभ्रष्ट भए पनि कार्यकर्ताहरू बोल्दैनन्, कार्यकर्ता बिग्रे पनि नेताहरू मुखमा दही जमाएर बस्छन् । ठूल दलका नेताहरूको ध्यान नै धनको खोलो बगाएर जसरी भए पनि निर्वाचनमा जित्ने, पद र पैसाको निम्ति राजनीति गर्ने, धाक धम्की दिएर, लोभलालच देखाएर आफ्नो पक्षमा लिने हो । राजनीतिलाई यसरी विकृतिउन्मुख बनाएर अघि बढेको र सरकार चलाएको दलले देशमा कसरी नैतिक बल प्रदान गर्छ ? कसरी चरित्रवान नागरिक तयार गर्छ ? सरकारको नेतृत्व गर्ने राजनीतिक दल र दलका नेताहरू सङ्लो नभएसम्म सरकारले सही दिशा निर्देश गर्नसक्दैन । स्वच्छ छविका नेता तथा कार्यकर्ताहरू तयार गर्नसक्दैन, अनुशासित, चरित्रवान नेता तथा कार्यकर्ता बन्दैन ।
देशका युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने भन्दाभन्दै विदेशमा युवाहरूको पलायन रोकेको छैन । महिला बेचबिखन भइरहेकै छ । मानव तस्करमात्र होइन बेपत्ता पार्ने र बेपत्तापछि हत्या गर्ने सृङ्खला रोकेको छैन । मानिसलाई पशुपन्छी बिक्री गरेझैं भइरहेको मानव बेचबिखन रोक्न, नारीको चरित्र लुट्ने वेश्यालयहरू बन्द गर्न सरकारले के पहल गरिरहेको छ ? सत्तासीन दलका नेता र मन्त्रीहरू आदर्श समाज स्थापना गर्न कुनै अभियानमा लागेका छैनन् । काम गरेर जनताको विश्वास जित्नुभन्दा आश्वासन बाँडेरमात्र योजनाहरू थुपारेर देश कसरी समृद्ध हुन्छ, नेपाली कसरी सुखी हुन्छन् ? सरकारले झूटको खेती गर्ने होइन । हालको राजनीतिक व्यवस्था र प्राप्त अधिकार नै अन्तिम हो, अब कुनै पनि अधिकार प्राप्त गर्न सङ्घर्ष, आन्दोलन गर्नुपर्दैन भनेर पुँजीवादी व्यवस्थालाई मलजल हालेर सुख सुविधा खोज्ने हो, राज्यकोषमा रजाइँ गरिरहने हो भने कम्युनिष्ट पार्टीको जरुरत किन ? नेकपाले किन माक्र्सवाद र लेनिनवादलाई पथ प्रदर्शक मान्नुप¥यो ? अरुलाई कम्युनिष्ट पार्टीको नाम फेर्न उपदेश दिने सरकार प्रमुख ओलीले नै किन आफ्नो पार्टीको नाउ नफेर्ने ?
–गौरव प्रधान