भर्खरै :

आत्मनिर्भर हुने योजना र नीतिले मात्र देश उँभो लाग्ने

– सुवास दुवाल
“समृद्धिको नारा घन्काउनेहरूले नेपालमा औद्योगीकरणको सम्बन्धमा कस्तो धारणा राख्छन् । सुन्न पाइएको छैन । नेपालमा वस्तु उत्पादन नै हुननसक्ने अवस्था छ ।” उक्त व्यहोरा १७ फागुनको अन्नपूर्ण पोष्टमा उल्लेख भएको हो । डा. गोविन्दबहादुर थापाद्वारा ‘उत्पादनशील क्षेत्रको दुरवस्था’ शीर्षकमा छापिएको लेखमा भनिएको छ, “भारतसँगको खुला सिमानाबाट भइरहेको आयातको मार नेपालको कृषि क्षेत्रले अझ बढी व्यहोरेको छ । नेपालले परम्परादेखि आफै पर्याप्त मात्रामा उत्पादन गर्दै आइरहेको खाद्यान्नलगायत तरकारी, फलफूल, माछामासु, दूध आदिसमेत आयातबाट श्रमिक किसानहरू विस्थापित हुँदै गएका छन् । नेपाल खाद्यान्न निर्यात गर्ने मुलुकबाट आयातमा निर्भर मुलुकको रूपमा रूपान्तरण भएको छ ।”
हाम्रो देशले यतिखेर दिनको ९ करोड ४४ लाख रूपैयाँको चामल, ८ करोड १६ लाख रूपैयाँको खाद्य तेल, ४ करोड ५७ लाख रूपैयाँको तरकारी र २ करोड ६० लाख रूपैयाँको फलफूल आयात गरिरहेको छ । सरकारमा गएको पार्टीले राम्रो नीति लिएको भए यी कुराहरू निर्यात गर्न सक्षम देश बन्नसक्थ्यो । दलाल पुँजीपति वर्गको सरकार भएकै कारण कृषि र उद्योग नीति नराम्रो भयो र देश परनिर्भर भयो । नेपाल सरकारले यस वर्ष पनि नेपालमा उखु हुँदाहुँदै भारतबाट उखु किन्न अनुमति दियो । यसले गर्दा नेपाली कृषकहरूको उखु सुकेर खेर गइरहेको छ । गत वर्ष उखु कृषकहरूलाई दिन छुट्याइएको ६५ करोड अनुदानको रकम पनि हालसम्म नेपाल सरकारले वितरण नगरेर कृषक डुबाउने कार्य गरिरहेको छ ।
यता नेपालले भारतीय सामग्री विनाअवरोध भित्याउँछ भने भारतले विभिन्न बहानामा अवरोध गर्ने गर्दै आइरहेको छ । नेपालबाट लगिने अदुवा, अलैँची, आलु, सुपारी भारतले बेलाबेलामा अवरोध गर्ने गर्दछ । त्यस्तोबेला भारतको सामान नेपालले पनि अवरोध गरी आयात बन्द गर्ने साहस देखाउँदैन । नेपाल भारतीय दलाल पुँजीपति वर्गकै निर्देशनमा चल्ने भएकोले यो असन्तुलित व्यापार भइरहेको छ । नेपालले कुल आयातको ६४.४ प्रतिशत भारतबाट, १४.६ प्रतिशत चीनबाट र २१ प्रतिशत अन्य मुलुकबाट गर्ने गर्दछ । पछिल्लो ६ महिनामा नेपालले रू.७२३ अर्ब ९४ करोडको आयात ग¥यो भने निर्मात ४५ अर्ब ४१ करोडको मात्र भयो । यो भनेको रू. १०० को खरिद गरी रू.६ को बिक्री गर्नु हो । अर्को शब्दमा भन्ने हो भने १६ रूपैयाँको किन्ने र १ रूपैयाँको बिक्री गर्ने भइरहेको छ । सरकारले देश आत्मनिर्भर बन्ने योजना र नीति लागू नगरेसम्म र देशभक्तहरूको सरकार नबनेसम्म नेपाली कृषकहरूले उँभो लाग्ने अवस्था छैन । नेपाली जनताले सुख पाउने अवस्था छैन । तसर्थ विदेशी पुँजीका दलाल सरकारको विरोधमा जनतालाई सचेत र सङ्गठित गरी आमूल परिवर्तन गर्नुमात्र सम्पूर्ण नेपाली जनताको समृद्धिको बाटो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *